मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १५:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिसडोलवासी आन्दोलित, फोहाेर फाल्न नदिने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १५:१२:००

विभिन्न १८बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्नेलगायतका १८बुँदे माग मंसिर २० गतेसम्म पूरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेन्सटीहित जीवन बिमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरूको माग छ ।

जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, नाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । स्थानीय दिनेश कार्कीले बन्चरेडाँडामा ल्यान्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहे पनि आफ्ना मागहरू पूरा नभएसम्म फाल्न नदिने बताए । 

जनताको न्यूनतम मागहरूसमेत पूरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफूहरू आन्दोलित भएको उनको भनाइ छ ।
यातायात, शिक्षा, स्वास्थ्य, पशुबिमा, बालीबिमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शय्याको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरूको छ । 

वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेन्टी गर्नुपर्ने स्थानीयको भनाइ छ । 

अर्का स्थानीय रामचन्द्र ढुंगानाले स्थानीयहरूको माग व्यवस्थापन नहुँदासम्म फोहोर फाल्न नदिने बताए ।

स्थानीयले फोहोरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन् ।

मंसिर २० गतेसम्म आफ्ना माग पूरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरूले मानव बसोवासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् ।

फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग छ ।

ककनी गाउँपालिका– ३ का वडाध्यक्ष घनश्याम बजगाईंले फोहोरमा राजनीति नगर्न आग्रह गरे । काठमाडौं महानगरले आफूहरूमाथि मानवीय व्यवहार नगरेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे ।

बागमती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए । 

फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको माग छ । 

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहाेर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बन्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ ।

स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।