Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ९ मंगलबार
  • Tuesday, 24 November, 2020
ad
मिलन पाण्डे काठमाडाैं
२०७७ मङ्सिर ५ शुक्रबार १०:२५:००
मिलन पाण्डे, काठमाडाैं
२०७७ मङ्सिर ५ शुक्रबार १०:२५:००

धर्म, संघीयता र गणतन्त्रको नाममा नागरिकको भावनामा खेलेर रोटी सेकाउने दल अबको पुस्ताले खोजेको दल हुँदै होइन

हरेक संगठनको एउटा उद्देश्य हुन्छ । उद्देश्य सकिएपछि कि संगठनले नयाँ उद्देश्य लिन्छ कि ती संगठनको अस्तित्व सकिन्छ । नेपाली कांग्रेसको उद्देश्य प्रजातन्त्र ल्याउनु थियो । कम्युनिस्टलाई गणतन्त्र ल्याउनु थियो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै आयो अनि यी दलहरूले आफ्नो लक्ष्य पनि प्राप्त गरे । तर, लक्ष्य प्राप्तिपछि यी दलहरूले नयाँ उद्देश्य भने तर्जुमा गर्न सकेनन् । त्यहीँ अल्झिरहे । कुर्सीका लागि लडिरहे । नागरिकको जीवनलाई कसरी सहज बनाउने भन्ने एजेन्डा कहिले कुनै पार्टीको प्राथमिकता बन्नै सकेन । 

तसर्थ, अब यी संगठनको सान्दर्भिकता सकिसकेको छ । अब नयाँ एजेन्डा अनि नयाँ उद्देश्यले नेपाली राजनीतिमा प्रवेश पाउन जरुरी छ । त्यसका निम्ति नयाँ नेतृत्व अनि नयाँ संगठन आवश्यक छ, जसले बदलिँंदो जनचाहना, नागरिक आवश्यकता र समयको मागलाई आफ्नो प्रमुख एजेन्डा बनाउन सकोस् । त्यसैले आज देशले सच्चा वैकल्पिक राजनीति गर्ने संगठन खोजेको छ । आज देशले खोजेको शक्ति कांग्रेस, नेकपा वा जसपा होइनन् । वैकल्पिक शक्ति हुन् । विवेकशील नेपाली र साझा पार्टी हुन् ।

आज देश नेकपाको बन्दी बनेको छ । नेकपाको भन्दा अन्याय होला, आज देश नेकपा सचिवालयको बन्दी बनेको छ । दुई अध्यक्षको स्वार्थ अनि अहंकारको सिकार बनेको छ । आज नागरिक नेकपाको चटकमा आफ्नो पीडा भुल्न बाध्य बनाइएका छन् । ९ महिनादेखिको नेकपाको यो नांगो नाच न नागरिकका निम्ति हो, न नागरिकका समस्या समाधानका निम्ति नै । यो त नागरिकमाथि गरिएको अपराध हो । आज नागरिकको पीडाले सरकार अनि नेकपालाई कुनै असर पर्दैन, त्यसैले आज नेकपा फुट्दा वा जोडिरहँदा नागरिकलाई पनि केही फरक पर्दैन ।

आजको प्रमुख मुद्दा कोरोना कहर हो । यसलाई कुन पार्टीले सम्बोधन गरेको छ ? आजको प्रमुख मुद्दा आर्थिक संकट हो, खोइ कसले यो विषयमा बहस गरेको छ ? आजको प्रमुख मुद्दा भोक हो, शिक्षा हो, रोजगारी हो । खोइ कुनचाहिँ पार्टीको केन्द्रीय कमिटीमा यी मुद्दाहरू छलफल भएको छ ? स्पष्ट कुरा हो, यस्तो वेलामा पनि यी मुद्दा सम्बोधन नगर्ने पार्टी अब नेपालमा चाहिँदैन । अहिलेका पार्टीले यी मुद्दा सम्बोधन गर्न सक्दैनन्, त्यसैले अब यी पार्टी चाहिँदैनन् । अहिलेका पार्टीले ‘डेलिभर’ गर्न सक्दैनन्, त्यसैले यी पार्टीको काम छैन । बरु उल्टो, आज यी पार्टी अनि यी पार्टीका संगठन देशका लागि बोझ बनेका छन् । तसर्थ, अब राजनीतिलाई ‘रिस्टार्ट’ गर्ने वेला आएको छ । ‘रिफ्रेस’ गर्ने वेला आएको छ ।

नयाँ दलले समात्ने भनेको नागरिकमुखी अनि ‘प्रग्रेसिभ’ एजेन्डा हो । समानता, उन्नत सहभागितामूलक लोकतन्त्र, पुस्तान्तरण, शिक्षा, स्वास्थ्यको मुद्दा अबको समाजका प्रमुख मुद्दा हुन् । वैकल्पिक राजनीतिले यी मुद्दा बोक्दै आर्थिक अनि सामाजिक क्रान्तिलाई राजनीतिक मुद्दा बनाउन सके वैचारिक अनि राजनीतिक हिसाबबाट विवेकशील वा साझा पार्टीले कांग्रेस–कम्युनिस्टलाई विस्थापित गर्न सक्नेछन् ।

अब वैकल्पिक राजनीतिलाई पनि नीति अनि नेतृत्वमा विकल्प प्रस्तुत गर्नुपर्ने चुनौती छ । संगठन निर्माण गर्दै नागरिकलाई विश्वासमा लिने चुनौती छ । नागरिकमुखी अभियान छेडेर समाज रूपान्तरणको नेतृत्व गर्नुपर्ने चुनौती छ ।

वैकल्पिक राजनीतिको रोडम्याप : कुनै पनि पार्टी अर्को कुनै संगठनको असफलताको जगमा सफल हुन सक्दैन । नेकपा र कांग्रेस असफल हुन्छन् अनि विवेकशील वा साझा वा अन्य पार्टी सफल हुन्छन् भनेर सोच्नु गलत हुनेछ । दरिलो सुसंस्कृत राजनीति गर्ने पार्टी बनाउने एजेन्डा बोकेर नागरिकलाई विश्वास कुनै संगठनले दिलाउन सक्छ भने वैकल्पिक पार्टीलाई नागरिकले मज्जाले स्विकार्नेछन् । तर, वैकल्पिक राजनीतिमाथि भने ००३ सालदेखिको कांग्रेसको र ००६ सालदेखिको कम्युनिस्टले देखाएको सपनासमेत पूरा गर्ने थप जिम्मेवारी अनि चुनौती भने रहनेछ । 

कस्तो पार्टी बनाउने ? : हामीले कस्तो पार्टी बनाउने भन्ने प्रश्नको उत्तर हामीले कस्तो समाज बनाउन खोजेको हो भन्ने प्रश्नको उत्तरमा लुकेको छ । २५ वर्षपछिको समाज कस्तो बनाउने ? ५० वर्षसम्ममा नेपाललाई कहाँ पु¥याउने ? यी प्रश्नको उत्तर हामीले खोज्ने हो भने आज हामीले खोजेको पार्टी कस्तो हो भन्ने उत्तर पाउन सक्छौँ । वैकल्पिक पार्टी सच्चा लोकतान्त्रिक पार्टी हुन जरुरी छ । पार्टी केही व्यक्तिबाट होइन, विधि–पद्धतिबाट सञ्चालित हुन जरुरी छ । पार्टीले सहभागितामूलक लोकतन्त्रलाई व्यावहारिक रूपमा अँगाल्न जरुरी छ । समान विचार र व्यवहार भएका सबैलाई समेटेर ‘बृहत् वैकल्पिक केन्द्र’का रूपमा एउटा सशक्त पार्टी बनाउन जरुरी छ । त्यस्तो संगठन, जसले योग्यता अनि क्षमताको कदर गरोस् । 

नागरिकको अबको पार्टी युवामैत्री पार्टी बन्न जरुरी छ । युवा अनि महिलालाई नेतृत्वमा स्थापित गर्ने र ‘डेलिभरी’का निम्ति तयार गर्ने पार्टी मात्रै भविष्यमुखी हो । वैकल्पिक पार्टीले सीमान्तकृत, बालबालिका, वृद्धवृद्धाको हकहितको वकालत गर्ने र सामाजिक न्यायको पैरवी गर्न जरुरी छ । आज ७० लाख विदेशमा रहेका नेपालीको समेत पीडा अनि मुद्दा बोक्न सक्ने दल देशले खोजेको छ । यी नेपालीका निम्ति नेपाल फर्किंदै गर्दा देशमै अवसर सिर्जना गर्न सक्ने संगठन बनाउन जरुरी छ । नागरिकको चुलो र दैनिकीको मुद्दा यदि अबको पार्टीको एजेन्डा बन्दैन भने अब त्यो पार्टी नागरिकको पार्टी बन्दैन ।

अबको एजेन्डा के ? : हाम्रो नेतृत्व आएपछि प्रतिव्यक्ति आय दुई हजार अमेरिकी डलर यसरी पुग्छ भनेर नागरिकलाई स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्ने पार्टी नेपालमा खोइ ? हावा तालमा पाँच हजार डलर र दश हजार मेगावाट बिजुली निकाल्ने गफ अब कसैले पत्याउनेवाला छैनन् । भ्रष्टाचार यसरी घटाउँछौँ भनेर नीतिगत अनि संरचनागत योजनासहितको खाका प्रस्तुत नगरेसम्म अब नयाँ पुस्ताले विश्वास गर्नेवाला छैनन् । अबको पार्टीले विश्वसनीयता अनि डेलिभरीमा प्रमुख काम गर्न जरुरी छ । 

हरेक गाउँगाउँ र घरघरमा बिजुली र सफा पानीको व्यवस्था, हरेक नागरिकको स्वास्थ्य र शिक्षामा निःशुल्क पहुँच, खाद्यान्न अभाव हुने स्थानमा रासन कार्डको आवाज उठाउने दल नै देशले खोजेको पार्टी हो । हामी सरकारमा पुगेपछि के गर्छौं भनेर स्पष्ट खाका प्रस्तुत गर्ने दल नै देशले खोज्दै छ ।

वैकल्पिक राजनीतिक संगठनले राजनीतिक, सामाजिक अनि आर्थिक मुद्दा स्पष्टसँग पेस गर्न जरुरी छ । अबको राजनीतिक दलले सुसंस्कृत राजनीति, सहभागितामूलक लोकतन्त्र, भ्रष्टाचारमुक्त समाज, प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीयताको सुदृढीकरण, युवा–महिलामैत्री र विदेशमा रहेका नेपालीलाई मतदानको प्रत्याभूति गराउन नेतृत्व लिन जरुरी छ । यो पार्टी सरकार अनि नागरिकबीचको पुल बन्न जरुरी छ । अब देशले अग्रगामी एजेन्डा बोक्ने हिम्मत गर्ने दल खोजेको छ । धर्म, संघीयता र गणतन्त्रको नाममा नागरिकको भावनामा खेलेर आफ्नो रोटी सेकाउने दल अबको पुस्ताले खोजेको दल हुँदै होइनन् । लगानीको वातावरण, रोजगारीको वातावरण, उद्यमशीलता र उत्पादनमा जोड दिने संगठनले मात्र अबको २१औँ शताब्दीको नेतृत्व गर्न सक्छ ।

कसरी बन्छ त्यस्तो पार्टी ? : नेकपा, कांग्रेस, जसपा, राप्रपा सबै पार्टी टेस्टेड भइसकेका छन् । अब हेर्न बाँकी भनेको वैकल्पिक पार्टीका रूपमा रहेका विवेकशील र साझा पार्टी नै हो । तर, अब वैकल्पिक राजनीतिलाई पनि नीति अनि नेतृत्वमा विकल्प प्रस्तुत गर्नुपर्ने चुनौती छ । संगठन निर्माण गर्दै नागरिकलाई विश्वासमा लिने चुनौती छ । नागरिकमुखी अभियान छेडेर समाज रूपान्तरणको नेतृत्व गर्नुपर्ने चुनौती छ ।

नेकपाको सरकारले लोकतन्त्रको घाँटी निमोठ्न कुनै कसर बाँकी राखेको छैन । सरकार पूर्ण रूपमा असफल हुँदै गर्दा अनि कांग्रेसले विकल्प दिन नसक्दा अब खुल्लामञ्चका भोका नागरिक, लगानी डुबेका युवा, काम नपाएका मजदुर र लोकतन्त्रको रक्षार्थ नागरिक समाजका व्यक्ति सडकमा आउनेछन् । यस्तै अवस्था रहे छिटै देश पुनः आन्दोलित हुनेछ । त्यतिवेला जुन शक्तिले आफूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्नेछन्, त्यही शक्तिलाई नागरिकले साथ दिनेछन् ।

हिजो प्ले कार्ड लिएर बस्नु वैकल्पिक राजनीति थियो । अब त्यति मात्रले वैकल्पिक राजनीतिको नागरिक तिर्खा मेटिँदैन । आज शिक्षा नीति, स्वास्थ्य नीति, रोजगारी, समृद्धिमा सार्थक बहस चलाउनु वैकल्पिक राजनीति हो । अनि भोलि सरकारमा पुगेर डेलिभर गर्न सक्नु वैकल्पिक राजनीति हो । तसर्थ, अब समयसापेक्ष मुद्दा बोक्नु अनि नेतृत्व गर्नु नै वैकल्पिक राजनीति हो । हालका निम्ति एजेन्डाविहीन बनेको देशमा लोकहितकारी एजेन्डा बहसमा ल्याएर नागरिकलाई राजनीति बालुवाटार र खुमलटारभन्दा बाहिर पनि जान सक्छ है भनेर आशा देखाउनु पनि वैकल्पिक राजनीति हो ।

राजनीतिमा मतदाता र समर्थकको आवश्यकता पर्छ । वैकल्पिक राजनीतिले आफ्नो मतदाता निर्माण गर्न जरुरी छ । आज १५ देखि २४ वर्षका युवाको जनसंख्या करिब ६५ लाख छ । विदेशमा त्यस्तै ७० लाख नेपाली छन् । वैकल्पिक राजनीतिले यी सचेत युवा अनि नागरिकलाई आफ्नो एजेन्डा बुझाउन सके, वैकल्पिक राजनीतिको समर्थकको आधार तय हुन सक्छ । हालकै मात्र मतदाता रहेको राजनीतिक मैदानमा वैकल्पिक राजनीतिलाई सजिलो भने पक्कै हुँदैन । तसर्थ, वैकल्पिक राजनीतिले नयाँ मतदाताबीच आफ्नो एजेन्डा नागरिकमाझ लान जरुरी छ ।

अन्त्यमा : नेपाल निकै युवामय देश हो । आधा जनसंख्या २४ वर्षमुनिको छ । तर, अबको आठ वर्षपछि नेपाल प्रौढ र ३४ वर्षपछि वृद्धको देशमा परिणत हुनेछ । त्यसपछि हामीलाई देश बनाउन चाहिने मानव जनशक्तिकै अभाव पर्नेछ । त्यसैले अबको आठ वर्षमा नागरिकले खोजेको वैकल्पिक राजनीति स्थापित हुन जरुरी छ र अबको ३४ वर्षभित्रमा देश बन्न सकेन भने नेपाल कहिल्यै पनि बन्दैन । तसर्थ, हामीसँग अब धेरै समय केपी ओली र प्रचण्डको झगडामा रमाउने फुर्सद अनि सुविधा छैन ।