मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ४ बिहीबार १९:२५:००
Read Time : > 1 मिनेट
फिचर

आफ्नै कर्मचारीबाट आलोचना खेप्दै फेसबुक

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ४ बिहीबार १९:२५:००

कोरोना महामारी (कोभिड– १९) को संकटमा पनि सर्वसाधारणको मन जित्दै प्रसस्तै नाफा कमाइरहेको फेसबुकले आफ्नै कर्मचारीहरूबाट भने आलोचना खेपिरहेको छ । यसले कम्पनीकै प्रतिष्ठा र कमाइमा असर गर्ने सम्भावना बढाएको विज्ञहरूको आकलन छ । 

विश्वभरि गरेर दुई सयभन्दा बढी कर्मचारीले फेसबुकले फाइदाका लागि आफूहरूको जीवन संकटमा पार्ने काम गरेको आरोप लगाएका छन् । उनीहरूले कोरोना भाइरस संक्रमण फैलिरहेको समयमा आफूहरूलाई जबर्जस्ती कार्यालय बोलाएर जीवन संकटमा पारेको आरोप लगाएका छन् । 

फेसबुकका ती कर्मचारीले खुला पत्रमार्फत आफूहरूमाथिको अन्याय सार्वजनिक गरेका हुन् । उनीहरूले पत्रमा भनेका छन्, ‘कम्पनीले यो संकटमा प्राप्त गरिरहेको नाफा कायम राख्न अनावश्यक रूपमा जबर्जस्ती कार्यालय बोलाएर हाम्रो जीवन संकटमा पार्ने काम गरेको छ ।’

उनीहरूले आफूलाई घरबाटै काम गर्न दिन फेसबुकसँग अनुरोध गरेका छन् । यो संकटमा काम गरेबापत अरू आर्थिक सहायता दिन पनि अनुरोध गरेका छन् । फेसबुकले भने आफ्ना धेरै कर्मचारी घरबाटै काम गरिरहेको जनाएको छ । 

‘हामी आन्तरिक रूपमा खुला छलफल गर्ने कुरामा विश्वास गरिरहेका छौँ । यी छलफल इमानदारीपूर्वक हुन आवश्यक छ,’ कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हामीसँग भएका विश्वभरबाट आएका विषयवस्तुको समीक्षा गर्ने १५ सय कर्मचारीमध्ये अधिकांश घरबाटै काम गरिरहेका छन् । उनीहरू कम्तीमा यो संकटमा लामै समय घरबाटै काम गर्नेछन् ।’

फेसबुकले गत अगस्टमा आगामी वर्षसम्म आफ्ना कर्मचारीले घरबाटै काम गर्ने जनाएको थियो । यद्यपि, धेरै कर्मचारीलाई फेरि कामका लागि कार्यालय बोलाएपछि कर्मचारीले विरोध गरेका हुन् ।

फेसबुकसँग धेरै कर्मचारी निश्चित कामको जिम्मेवारी लिएर सम्झौतामा काम गर्ने खालका छन् । उनीहरूमध्ये धेरैजस्तो फेसबुकमा आएका वा लेखिएका विषयवस्तुहरूले कम्पनीको नियम उल्लंघन गरे–नगरेको हेर्ने गर्छन् । 

कर्मचारीले मागको सुनुवाइ गर्न पनि आग्रह गरेका छन् । ‘महिनौँसम्म घरबाटै काम गर्न अनुमति दिएपछि फेसबुकले विभिन्न व्यक्तिहरूबाट आउने घृणापूर्ण र गलत सूचनालाई नियन्त्रण गर्न दबाब महसुस गरेपछि कार्यालय बोलाएको हो,’ कर्मचारीहरूले खुला पत्रमा भनेका छन्, ‘फेसबुकलाई हामी आवश्यक छ । यो यस्तो समय हो कि तपाईंहरूले हाम्रो कामको मूल्यांकन गर्नुपर्छ र हाम्रो कामको मूल्य तिर्नुपर्छ । यस्तो समयमा हाम्रो स्वास्थ्य र सुरक्षा संकटमा पार्नु अनैतिक कुरा हो ।’