१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ३ बुधबार
  • Monday, 30 June, 2025
विभूति नारायण राय
२o७७ मङ्सिर ३ बुधबार o८:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सभ्य समाजका लागि सोपान जरुरी

देश/विदेश

Read Time : > 2 मिनेट
विभूति नारायण राय
नयाँ पत्रिका
२o७७ मङ्सिर ३ बुधबार o८:२२:oo

प्रहरीको लठ्ठी अथवा कडा कानुनले नागरिकलाई सभ्य बनाउँदैन, त्यसका लागि भित्रबाट इच्छाशक्ति चाहिन्छ 

अंग्रेजीमा एउटा भनाइ छ– प्रहरी एउटा दुःस्वप्न हो । जो प्रहरी प्रशासनको विरोधमा हुन्छन्, उनीहरू पनि कुनै त्यस्तो परिस्थितिको कल्पना गर्न सक्दैनन्, जहाँ प्रहरी बाटोबाट अलप भएको होस् । र, सबै नागरिक गतिविधि उसको हस्तक्षेपबेगर चलोस् । वास्तवमा राज्यको अवधारणामै प्रहरी, न्यायालय र जेलजस्तो संस्था निहित छ । यी सबैको विकास सभ्यताको विभिन्न सोपानसँग जोडिएको छ । सभ्य हुने क्रममा नागरिक क्रमशः कानुनलाई स्वयंले पालना गर्ने स्तर बढाउँदै जान्छन् र उनीहरूको जीवनमा प्रहरीको हस्तक्षेप घट्दै जान्छ । स्केडेभियन मुलुक यसका उदाहरण हुन् । हामीले के स्वीकार गर्नुपर्नेछ भने हामी अझै पनि त्यस्तो अवस्थामा छौँ, जहाँ सडकमा देब्रेबाट हिँड्न र सडकमा नथुक्नुस् भन्नका लागि पनि प्रहरी आवश्यकता पर्छ । 

यसपटकको तिहारमा न्यायालयले पटका पड्काउन नियन्त्रण गर्नुपर्ने भन्यो । सँगसँगै सरकारले पनि त्यसमा रोक लगाउने कुरा ग¥यो । जनताले भने यसको खिल्ली उडाउँदै रातभरि पटका पड्काए । यो नै सभ्यताको तल्लो खुड्किलो हो, जहाँ उभिएको व्यक्तिका लागि पर्यावरण, आफ्नो स्वास्थ्य अथवा अरूको असुविधाको कुनै अर्थ नै छैन । अर्थ छ त मात्रै आफ्नो मनोरञ्जनको । यस्तोमा नियमको पालना गराउने भनेको प्रहरी प्रशासनले नै हो । मैले देशको राजधानीमा मानिसमा पटका पड्काउने एउटा भिन्नै किसिमको हिंस्रक उत्साह देखेको छु ।

सभ्य प्रहरीको निर्माण सभ्य समाजले गर्ने गर्छ । यदि प्रहरीले एनकाउन्टर गर्दा खुसी हुने समाज छ भने हामीले बुझ्नुपर्ने हुन्छ– हामी सभ्यताको सोपानमा निकै तल छौँ । अनि हामीले कसरी एउटा सभ्य प्रहरी संगठन खडा गर्न सक्छौँ त ?

खासमा दुई प्रकारका विमर्श चलिरहेका हुन्छन् । पहिलो, पटका पड्काउन लगाइएको प्रतिबन्धलाई लागू गर्न नसकेकोमा प्रहरीलाई अक्षम ठान्ने गरिन्छ । दोस्रो, प्रहरीको संख्या र संसाधनको कमीका कारण समयमा त्यस चुनौतीलाई सामना गर्न नसकेको ठान्ने गरिन्छ । यसबीच हाम्रो ध्यान के कुरामा जान सकेको छैन भने कुनै समाजको आन्तरिक संरचनाले नै उसलाई एउटा निश्चित अर्थमा कानुन पालना गर्ने निकाय बनाउने गर्छ । प्रहरीको लठ्ठी अथवा कडा कानुनले नागरिकलाई सभ्य बनाउँदैन । त्यसका लागि भित्रबाट इच्छाशक्ति चाहिन्छ । नभए अहिलेको तिहारकै जस्तो स्थिति दोहोरिरहन्छ । सबै कानुन, न्यायालय, सरकारी आदेश र प्रहरीको चाहनाका बाबजुद पटका पड्किरहन्छन् । त्यसै पनि भारत दुनियाँका ती निश्चित देशमा पर्छ, जहाँ सम्भवतः सबैभन्दा धेरै कानुन छन् होला । तर, हामी कति कानुन पालना गर्ने समाज हौँ, यो कसैबाट लुकेको छैन ।

यो स्थिति त्यस्तो अन्तरविरोधको उपज हो, जहाँ एउटा लोकतान्त्रिक राज्य निर्माण हुने प्रक्रियामा समाज देखिन्छ । एकातर्फ दुई सय वर्षको आधुनिक शिक्षा छ । जसले मनुष्यताको, समानताको पाठ हामीलाई सिकाएको छ । अर्कोतर्फ वर्ण व्यवस्थाको त्यस्तो माखेसाङ्लो छ, जसले आफ्नो बीचको आधाभन्दा धेरै मानिसलाई पशुभन्दा पनि निकृष्ट व्यवहार गर्छ । वर्ण व्यवस्थाले हामो भाषाको क्रियापदलाई पनि त्रिस्तरीय बनाइदिएको छ । हामी अघिल्तिर उभिएकालाई पनि उसको जातिगत र आर्थिक हैसियत हेरेर बस, बस्नुस् वा बसिबक्स्योस् भन्छौँ ।

सडकमा पैदल हिँड्नेले ओगट्ने दायराले पनि सभ्यताको मापन गर्न सकिन्छ । आफ्नो पहिलो बेलायत यात्राको सबैभन्दा विलक्षण अनुभव मेरा लागि सडकमा हिँड्नेहरूका लागि गाडी चलाउनेले आफ्नो वाहन रोकेर बाटो दिएको अुनभव हो । यो सिकाउनका लागि टाढा–टाढासम्म कुनै प्रहरी देखिँदैनथे । मानिसहरू आफ्नो आन्तरिक अनुशासनले गर्दा यो सबै गरिरहेका थिए । मजस्तो भारतीयका लागि, जो त्यहाँ सबैभन्दा तल्लो स्तरमा देखिन्थ्यो, उसका लागि यो अकल्पनीय थियो । 

सभ्य हुने एउटा मापक यो पनि हो कि समाजले आफ्नो बीचको कमजोरका लागि कति स्थान दिन तयार छ । त्यहाँ बसोवास गर्ने केटाकेटी, स्त्री, बूढाबूढी, आर्थिक रूपमा पछाडि पारिएकाहरू शक्तिशालीका बीच कहाँ उभिन्छन् । यो एउटा मापक हो । मैले पैदल हिँड्नेहरूको जुन उल्लेख गरेँ, त्यो एउटा त्यस्तै असुरक्षित समुदायको उदाहरण हो । भारतमा यो सजिलो कुरा होइन । वर्ण व्यवस्थाले धेरै हदसम्म यसलाई सत्ता संरचनामा माथिल्लो स्थान र स्वाभाविक परिणति बनाइदिएको छ । यसलाई प्रहरीको उपस्थिति बढाएर फेर्न सकिँदैन । 

समाजमा कानुन व्यवस्था लागू गराउन प्रहरीको कुनै भूमिका छैन भन्ने होइन । तर, यो भूमिका एउटा सभ्य प्रहरीले नै निभाउन सक्छ । र, एउटा सभ्य प्रहरीको निर्माण सभ्य समाजले गर्ने गर्छ । यदि प्रहरीले एनकाउन्टर गर्दा खुसी हुने समाज छ भने हामीले बुझ्नुपर्ने हुन्छ कि हामी सभ्यताको सोपानमा निकै तल छौँ । अनि हामीले कसरी एउटा सभ्य प्रहरी संगठन खडा गर्न सक्छौँ त ? सबै कुरा एकअर्कामा गाँसिएका छन् । अपराध र दण्डको मामिला पनि मुनष्यतासँग गाँसिएको हुन्छ । 

(लेखक पूर्वआइपिएस अधिकारी हुन्)
हिन्दुस्तानबाट