१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार ०२:०६:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना महामारीको एक वर्ष पूरा

भाइरसविरुद्धका खोप अझै परीक्षणमै, अर्थतन्त्रमा परेको असरको छैन आकलन

Read Time : > 10 मिनेट
२०७७ मङ्सिर ३ बुधबार ०२:०६:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ– नेपालमा हालसम्म दुई लाख १४ हजार चार सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले ३० हजार नौ सय ४६ सक्रिय संक्रमित छन् । हालसम्म एक हजार दुई सय ४७ जनाको मृत्यु भएको छ । र, कुल संक्रमितमध्ये ७९ हजार दुई सय ४२ जना निको भएका छन् ।

जोन हकिन्स विश्वविद्यालयले अपडेट गरेको पछिल्लो आँकडा हेरौँ । १७ नोभेम्बरसम्म संसारभर करिब पाँच करोड ५१ लाख ४७ हजारजना संक्रमित भएका छन् । तीमध्ये करिब १३ लाख २९ हजार पाँच सय ५६ जनाको मृत्यु भएको छ । संसारभर अहिले एक करोड ९६ लाख ७४ हजार पाँच सय ५५ सक्रिय संक्रमित छन् ।

चीन हुबेई प्रान्तको वुहानमा कोरोना भाइरस संक्रमण पहिलोपटक पुष्टि भएको १७ नोभेम्बरमा ठ्याक्कै वर्षदिन पुगेको छ । एक वर्षयताको नेपाल र संसारको आँकडा हो, माथिको । यसबीचमा कोरोना संकटले संसारभरको सामाजिक, आर्थिक संरचनालाई तहसनहस बनाइदिएको छ । अधिकांश मुलुकको जनजीवन अस्तव्यस्त छ ।

यसरी सुरु भएको थियो कोभिड–१९

चीन सरकारको अप्रकाशित एक रिपोर्टअनुसार हुबेई प्रान्तका ५५ वर्षका पुरुषमा १७ नोभेम्बर २०१९ मा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । नोभेम्बरमा चार पुरुष र पाँच महिलामा संक्रमण देखियो । खासगरी, डिसेम्बर २०१९ देखि मानिसबाट मानिसमा कोरोना भाइरस प्रसार भएको मानिन्छ । २० डिसेम्बरसम्ममा हुबेई प्रान्तमा २० जना संक्रमित भए, यो संख्या ३१ डिसेम्बरसम्ममा दुई सय ६६ पुग्यो ।

३० डिसेम्बरमा वुहान सेन्ट्रल हस्पिटलले क्यापिटल बायो मेडल्याब नामक कम्पनीमा गरिएको परीक्षणमा सार्सको पजिटिभ केस फेला परेको बतायो । सोही दिन वुहान सेन्ट्रल हस्पिटलका चिकित्सकले आफ्ना सहकर्मी र अस्पताल प्रशासनलाई उच्च सावधानी अपनाउन आग्रह गरे । सोही साँझ वुहान म्युनिसिपल हेल्थ कमिसनले धेरै स्वास्थ्य संस्थामा सूचना पठाउँदै ‘अज्ञात कारणबाट हुने निमोनियाको उपचार’को तयारी तत्काल थाल्न आग्रह ग¥यो । तर, डा. ली वेनलियाङलगायत आठजना चिकित्सकलाई प्रहरी गलत हल्ला फैलाएको आरोपमा प्रहरीले पक्राउ ग¥यो । डा. लीलाई पनि ३ जनवरीमा कोरोना संक्रमण देखियो । वुहान म्युनिसिपल हेल्थ कमिसनले ३१ डिसेम्बरमा कोरोना भाइरसका २७ पजिटिभ केस देखिएको रिपोर्ट पहिलोपटक सार्वजनिक ग¥यो ।

कोरोना भाइरस फैलिएसँगै चीनको वुहानमा गत वर्ष बनाइएको अस्पतालमा संक्रमितहरू

२०२० जनवरी मध्यसम्ममा चीनका अन्य प्रान्तमा पनि भाइरस प्रसार भइसकेको थियो । २४ जनवरीमा रिपोर्ट प्रकाशित गर्दै मेडिकल जर्नल ‘दी लान्सेट’ले कोरोना भाइरसको सम्भावित विश्वव्यापी महामारी सुरु भएको बतायो । र, स्वास्थ्यकर्मीहरूलाई तत्काल व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वितरण गर्न आग्रह ग¥यो । ३० जनवरीमा आएर मात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा ग¥यो । त्यतिवेलासम्म भाइरस संक्रमण दुई सय गुणासम्म फैलिसकेको थियो ।

कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटालीमा ३१ जनवरीमा कोभिड–१९ का पहिलो बिरामी फेला परेका थिए । १३ मार्चमा डब्लुएचओले युरोप कोभिड–१९ को सक्रिय केन्द्र बनेको घोषणा ग¥यो । १९ मार्चमै इटालीले कोभिड–१९ बाट हुने मृत्यु संख्यामा चीनलाई उछिन्यो । २६ मार्चमा इटाली र चीनलाई पनि उछिनेर कोरोना भाइरसबाट संक्रमित नागरिकको सूचीमा अमेरिका पहिलो स्थानमा उक्लियो ।

अहिले कोरोना संक्रमणको ‘टप फाइभ’ सूचीमा क्रमशः अमेरिका, भारत, ब्राजिल, फ्रान्स र रुस छन् । अनौठो के भने फ्रान्समा २७ डिसेम्बर २०१९ मै एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । र, अमेरिकामा पनि ६ फेब्रुअरी २०२० मै एकजनामा संक्रमण पाइएको थियो ।

खोप निर्माणमा तीव्र गति

कोभिड–१९ संकटले आधुनिक औषधि विज्ञानलाई चुनौती दिएको छ । किनकि, महामारी सुरु भएको वर्षदिनमा पनि कोरोना भाइरसविरुद्ध खोप तयार पार्न सफलता मिलेको छैन । न त कुनै औषधि नै आविष्कार भएको छ । तथापि, यसबीचमा खोप निर्माणमा जुटेका केही अनुसन्धाता महामारीबाट मानव जीवनलाई बचाउन प्रयासरत छन् ।

विश्वभर कोभिडविरुद्धका ५० भन्दा बढी खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन् । तीमध्ये अधिकांश खोपले संक्रमण न्यूनीकरणमा राम्रो नतिजा दिइरहेको डब्लुएचओको दाबी छ । परीक्षणको अन्तिम चरणमा रहेका र बजारसम्म छिट्टै आउने आशा गरिएका केही खोप परीक्षण क्रममा ९४ दशमलव पाँच प्रतिशतसम्म सुरक्षित देखिएका छन् । संक्रमितको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा हासिल भएको उपलब्धि हो त्यो ।

वैज्ञानिकहरूका अनुसार खोपले मानव शरीरमा दुई किसिमले काम गर्छ । पहिलो– शरीरभित्रका सेललाई सन्तुलित बनाउँछ । दोस्रो– कोरोना भाइरसविरुद्ध लड्न शरीरमा एन्टिबडी उत्पादन गर्छ । सामान्यतया दुई वा तीन साताको परीक्षणपछि शरीरमा खोपको प्रभाव थाहा पाउन सकिने वैज्ञानिकहरूको भनाइ छ । तर, कोरोनाविरुद्ध खोप उत्पादन र परीक्षणमा लागिपरेका केही कम्पनीले एक सातामै परीक्षणको नतिजा देखिएको दाबी गरिरहेका छन् ।

९० प्रतिशत सुरक्षित खोप तयार भएको दाबी

अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले आफूहरूले बनाइरहेको खोप ९० प्रतिशत सुरक्षित देखिएको दाबी गरेका छन् । दुवै कम्पनीले ९ नोभेम्बरमा सार्वजनिक गरेको जानकारीअनुसार ६ मुलुकका ४३ हजार पाँच सयजनामा यो खोप परीक्षण गरिएको थियो । सन् २०२० भित्रै ५० लाख डोज खोप उत्पादन गरिसक्ने तयारीमा रहेको दुवै कम्पनीको दाबी छ । र, सन् २०२१ अन्तिमसम्म एक करोड ३० लाख संक्रमितलाई खोप उपलब्ध गराउने लक्ष्य दुवै कम्पनीको देखिन्छ ।

मोडर्नाको दाबी : ९४.५ प्रतिशत सुरक्षित खोप

यस्तै, अमेरिकी कम्पनी मोडर्नाले आफूले उत्पादन गर्न लागेको खोप ९४ दशमलव पाँच प्रतिशत सुरक्षित रहेको बताएको छ । हालसम्म सबैभन्दा बढी सुरक्षित दाबी गरिएको खोप हो यो । उक्त खोपमा पनि वैज्ञानिकहरूको बढी आशा देखिन्छ । यो खोप माइनस २० डिग्री सेल्सियस र माइनस ४ डिग्री फरेनहाइट तापक्रममा राख्न सकिने कम्पनीको भनाइ छ । ठेउलाविरुद्धको खोप पनि सोही तापक्रममा राखिन्छ । आफ्नो खोप अस्पताल, क्लिनिक र फार्मेसीमा उपलब्ध फ्रिजमा राख्न सकिने मोडर्नाको दाबी छ । ‘संसारभर उपलब्ध पूर्वाधारलाई हेरेर खोप तयार पारिरहेका छौँ,’ मोडर्नाका मेडिकल प्रमुख डा. टेल ज्याकले भनेका छन् ।

फाइजरले आफ्नो खोप पाँच दिनसम्म फ्रिजमा राख्न सकिने बताइरहँदा मोडर्नाले भने ३० दिनसम्म राख्न सकिने बताएको छ । कम्पनीले तेस्रो चरणको पछिल्लो परीक्षणमा ३० हजारजनालाई समेटेको थियो । सहभागीमा सामान्य जिउ र टाउको दुख्ने समस्या देखिए पनि कडाखाले साइड इफेक्ट नपाइएको कम्पनीको भनाइ छ ।

रुसको दाबी : स्पुतनिक फाइभ ९२ प्रतिशत सुरक्षित

ग्यामालिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले उत्पादन गरेको ‘स्पुतनिक फाइभ’ खोप पनि ९२ प्रतिशत सुरक्षित रहेको दाबी गरिएको छ । १६ नोभेम्बरमा रुसको ‘सोभरेल वेल्थ फन्ड’ले विज्ञप्ति जारी गर्दै तेस्रो चरणको परीक्षणका सहभागीमा खोपको सकारात्मक प्रभाव देखिएको उल्लेख गरेको छ । खोपको तेस्रो चरण परीक्षणमा विभिन्न मुलुकका ४० हजारजना सहभागी भएका छन् । विज्ञहरूले भने स्पुतनिक फाइभ ९२ प्रतिशत सुरक्षित रहेको दाबीलाई अपरिपक्व बताएका छन् ।

‘अक्स–१ एन कोभ–१९’को आशा

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले उत्पादन र परीक्षण गरिरहेको खोप ‘अक्स–१ एन कोभ–१९’को परीक्षण नतिजा पनि राम्रो देखिएको छ । उक्त खोपले अनुमति पाएपछि भारतमा पनि उत्पादन गर्ने तयारी छ । भारतमा डिसेम्बरसम्ममा १० करोड खोप उत्पादनको लक्ष्य एस्ट्राजेनेकाको छ ।

यीबाहेक चीनमा परीक्षण क्रममा रहेको खोपप्रति पनि वैज्ञानिकको आशा देखिन्छ । तर, त्यो खोप परीक्षण क्रममै रहेको र पूर्ण जानकारी सार्वजनिक नगरिएकाले कहिलेसम्म बजारमा आउँछ भन्ने यकिन छैन ।

कोभ्याक्स योजनामा एक सय ५६ मुलुक

विश्व स्वास्थ्य संगठनले विकासोन्मुख देशका लागि खोप वितरण गर्न बनाएको योजना ‘कोभ्याक्स’मा नेपालसहित एक सय ५६ मुलुक सहभागी छन् । वैज्ञानिक रूपमा प्रमाणित भएका खोप विकासोन्मुख मुलुकका बासिन्दामाझ पु¥याउने योजना हो यो ।

नेपालमा कोभिड–१९ महामारी अध्ययन गरिरहेका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला खोपको प्रभावकारिता, सुरक्षा र साइड इफेक्टबारे जर्नलमा प्रकाशित गर्नुपर्ने बताउँछन् । ‘हालसम्म खोप निर्माता कम्पनीहरूले परीक्षणको सकारात्मक नतिजाबारे बताइरहेका छन् । खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरिरहेका कम्पनीहरूले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)मा प्रमाणित गर्न आवेदन दिएका छन्, तर प्रमाणित भएको छैन,’ डा. कोइराला भन्छन्, ‘एफडिए वा विश्व स्वास्थ्य संगठनले परीक्षणको दर, प्रभावकारिता, साइड इफेक्टबारे अध्ययनपछि मात्र प्रमाणित गर्छन् । एफडिए र डब्लुएचओले प्रमाणित नगर्दासम्म खोप क्लिनिकल प्रयोगमा आउँदैन ।’

नेपालसम्म खोप आइपुग्न कति समय लाग्छ ?

काठमाडौं टेकु अस्पतालमा पिसिआर परीक्षणका लागि आएका सर्वसाधारण । तस्बिर : दीपेन्द्र ढुंगाना

अमेरिकामै संक्रमित संख्या करोड नाघिसकेकाले फाइजर र मोडर्नाले बनाउने खोप नेपालसम्म आइपुग्न निकै समय लाग्ने डा. कोइराला बताउँछन् । ‘अमेरिकी कम्पनीले बनाइएका खोप नेपालमा आइपुग्न समय लाछ र महँगो पनि पर्छ । फाइजर र मोडर्नाले बनाएका खोप नेपालका लागि त्यति प्रभावकारी देखिँदैनन् । फाइजरको खोपलाई माइनस ८० डिग्री र मोडर्ना खोपलाई माइनस २० डिग्री तापक्रममा राख्नुपर्छ । फाइजरलाई फ्रिजमा जम्मा तीन दिन र मोडर्नालाई ३० दिनसम्म राख्न मिल्ने भनिएको छ,’ उनी भन्छन्, ‘नेपालका गाउँसम्म तापक्रम मिलाएर पु¥याउन र समयमै खोप लगाउन सजिलो देखिँदैन । नेपालमा काठमाडौं र केही ठूला अस्पतालमा मात्र माइनस ८० डिग्रीमा राख्न सकिने सेवा उपलब्ध छ, जसले गर्दा देशभर सबैलाई खोप वितरण गर्न निकै गाह्रो विषय हो ।’

नेपालमा कति प्रभावकारी होला खोप ?

डा. कोइरालाका अनुसार ‘सार्स कोभ–२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ । अर्थात्, एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ‘ट्रेन्ड’ देखिएको छ । भाइरसको आरएनए ठाउँ र मौसमअनुसार फरक हुन सक्छ । त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन सक्छ । तर, कोभिड–१९ विरुद्ध निर्माणाधीन खोपहरूलाई भाइरसअनुसार म्युटेट नहुने खालको बनाइएको डा. कोइराला बताउँछन् । भन्छन्, ‘खोपमा स्पाइक प्रोटिन वा एस वान प्रोटिन राखिएको हुन्छ, जुन परिवर्तन हुँदैन । सोहीकारण सबैजसो मौसममा खोप प्रभावकारी हुन्छ । तर, अहिलेसम्म प्रयोगमा नआएकाले यकिनका साथ भन्न सकिँदैन । तैपनि, हाल बनिरहेका सबैजसो खोप नेपालका लागि प्रभावकारी हुन सक्छन् ।’

जाडो मौसममा कोराना संक्रमण बढिरहेको र नोभेम्बर अन्तिमसम्म अक्सफोर्डको खोप पनि प्रमाणित हुन सक्ने डा. कोइरालाको आकलन छ । ‘हाल अमेरिकामा प्रभावकारी देखिएको खोप नेपालमा जनवरी वा फेब्रुअरीसम्म आइपुगे पनि महामारी नियन्त्रणमा प्रभावकारी हुने देखिन्छ,’ उनी भन्छन्, ‘चिसो मौसममा खोप नेपालमा आइपुगेमा संक्रमण न्यूनीकरण गर्न सकिन्छ । यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा पनि चीन, रुसमा बनिरहेका खोपलाई नेपालमा परीक्षणका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ ।’

विश्व अर्थतन्त्रमा कोरोना प्रभाव

कोभिड–१९ महामारीले सिर्जना गरेको बहुआयामिक संकटका कारण यस वर्ष विश्व अर्थतन्त्र कम्तीमा पाँच दशमलव दुई प्रतिशतले संकुचित हुने विश्व बैंकले गत जुनमै प्रक्षेपण गरेको हो । तर, महामारी लम्बिँदै जाँदा विश्व अर्थतन्त्रमा यसको बहुआयामिक असर बढ्दो छ । सोहीकारण कोभिड संकटले विश्व अर्थतन्त्रमा कति क्षति पु¥याउँछ भन्ने सटिक आकलन असम्भव बनेको छ ।

सबैजसो मुलुकले गरी हालसम्म विश्व अर्थतन्त्रमा एक सय २० खर्ब डलर वित्तीय प्रोत्साहन सिंचन भएको छ । यस्तै, मौद्रिक नीति कार्यमार्फत ७५ खर्ब डलर सिंचन भइसकेको विश्व बैंकको प्रतिवेदनले देखाउँछ । तर, यस्तो अभूतपूर्व नीति सहयोगका बाबजुद विश्व अर्थतन्त्र शताब्दीकै गहिरो मन्दीमा फसेको छ । यही अवस्थाबीच युरोपका विकसित मुलुकले अर्थतन्त्रमा सात दशमलव सात औसत प्रतिशतको संकुचन साक्षात्कार गरेका छन् । कोरोना संकटअघि ऐतिहासिक न्यून बिन्दुमा पुगेको अमेरिकाको बेरोजगारी दर गत मार्चमा १४ दशमलव पाँच प्रतिशतको उच्चतम बिन्दुमा पुगेर अक्टोबरमा ६ दशमलव नौ प्रतिशतमा झरेको त्यहाँको ब्युरो अफ लेबर स्ट्यास्ट्क्सिले देखाउँछ ।

यद्यपि, विश्व बैंकले सन् २०२० मा चीनले चार प्रतिशतभन्दा बढीको संकुचन साक्षात्कार गर्ने प्रक्षेपण गरे पनि चिनियाँ अर्थतन्त्रमा त्यसस्तरको क्षति भएन । र, चिनियाँ अर्थतन्त्र नकारात्मक जोनमा प्रवेश नगर्ने प्रस्ट भएको छ । यस्तै, दक्षिण कोरिया, जापान, सिंगापुरलगायत मुलुकको अर्थतन्त्रमा पनि अपेक्षित क्षति छैन । तर, अन्य उदीयमान बजार र विकासशील अर्थतन्त्रहरू विश्व बैंककै प्रक्षेपणअनुसारको समग्रमा ६ दशमलव ६ प्रतिशतको संकुचनको मार्गमा छन् । एसियाली विकास बैंकले दक्षिण एसियाको समग्र वृद्धि आठ दशमलव दुई प्रतिशतले नकारात्मक बन्दा नेपालले सन् २०२० मा दुई दशमलव तीन र सन् २०२१ मा एक दशमलव पाँच प्रतिशतको वृद्धि साक्षात्कार गर्ने प्रक्षेपण गरेको थियो । तर, नेपालको अर्थतन्त्र ऋणात्मक जोनमा प्रवेश गर्न सक्ने पछिल्लो आकलन छ ।

मुलुकहरूलाई गरिबीको स्तर उकास्न योगदान गरिरहेको रेमिट्यान्समा सन् २०२० मा सात र सन् २०२१ मा थप सात दशमलव पाँच प्रतिशतसहित कम्तीमा १४ प्रतिशतले गिरावट आउने आइएलओको प्रतिवेदनले देखाउँछ । विश्वमा अनौपचारिक क्षेत्रमा कार्यरत एक अर्ब ६० करोड कामदारले लकडाउन सुरु भएयताका केही महिना आफ्नो आयको ६० प्रतिशतसम्म आम्दानी गुमाउनुप¥यो । गत जुनसम्ममा विश्वले कम्तीमा ४५ करोड पूर्ण रोजगारीबराबरको क्षति बेहोर्नुपरेको आइएलओले उल्लेख गरेको छ । कार्यघन्टामा कमी तथा रोजगारी गुमेका कारण विश्वव्यापी रूपमा कम्तीमा १० दशमलव पाँच प्रतिशत रोजगारी गुमेको आइएलओको अनुमान छ । यसबीचमा नेपाललगायत दक्षिण एसियाली मुलुकले औसत चार प्रतिशतको गिरावट सामना गरेका छन् ।

यसैगरी, विश्वभरका ४३ करोड ६० लाख व्यवसाय लकडाउन तथा भाइरस संक्रमणको उच्च मारमा परे । यो संकटका कारण बन्द हुन पुगेका करोडौँ व्यवसाय अब कहिल्यै लयमा नफर्किने चिन्ता छ । विश्वमा केही करोड मानिस पुनः गरिबीमा प्रवेश गरेका छन्, जसको यकिन आँकडा आउन बाँकी छ । शिक्षा क्षेत्रमा परेको प्रभावका कारण अगामी दिनमा विश्व अर्थतन्त्रले कम्तीमा एक सय ५० खर्ब डलरबराबरको मूल्य चुकाउनुपर्ने आकलन छ ।

कोभिड संकटबाट विश्वले व्यापक आर्थिक मन्दी, बेरोजगारी, जलवायु परिवर्तन, प्रविधि र रोजगारीको अटोमेसन, डिजिटल मुद्राको उदय, बचतको प्रतिफलमा गिरावट, असमानता र ऋणमा वृद्धिजस्ता असाधारण परिवर्तनहरू अभूतपूर्व रूपले साक्षात्कार गरिरहेको छ ।

नेपालमा पनि कोभिड संकटका कारण २० लाखको रोजगारी गुमेको अनुमान छ । नेपालको अनौपचारिक क्षेत्रमा संलग्नमध्ये ८० प्रतिशत अर्थात् करिब ५७ लाख कामदार प्रत्यक्ष प्रभावित बने । र, १४ लाख घरेलु कामदारले आंशिक तथा पूर्णकालीन रोजगारी गुमाए ।

गम्भीर सामाजिक प्रभाव

समाजशास्त्री डा. मीना उप्रेतीको भनाइमा कोभिड–१९ बाट प्रभावित सबैभन्दा ठूलो क्षेत्र हो, समाज । मानिस सामाजिक प्राणी भएकाले समस्या परेका वेला सहयोगमा जुट्छ भन्ने पूर्वीय मान्यता कोभिड–१९ ले भत्काइदिएको उनी बताउँछिन् । ‘कोरोना संकटलाई व्यक्ति र पारिवारिक सम्बन्ध तथा राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरबाट नियाल्नुपर्छ,’ उनी भन्छिन्, ‘जति नै सम्पत्ति, आफन्त र परिवारका सदस्य भए पनि व्यक्ति एक्लो रहेछ भन्ने तथ्य यस संकटले उजागर गरिदियो । जति अप्ठेरो पर्दा पनि भोग्नुपर्ने आफैँले रहेछ भन्ने ज्ञान र आत्मबोध दिलायो । अप्ठ्यारोमा पर्दा मान्छे एक्लै हुन्छ भन्ने मान्यतालाई प्रमाणित गरिदियो ।’

धेरै सम्पत्ति भएर पनि बाँच्न नसकिने पीडाबोध कोभिड संकटले गराएको डा. उप्रेती बताउँछिन् । ‘यो एक अछुत रोग रहेछ । मानिस बिरामी पर्दा र रोग लागेर मृत्यु हुँदा पनि परिवारले केही गर्न नसक्दो रहेछ । त्यहाँभन्दा पीडादायी अवस्था के हुन सक्छ र !’ उनी भन्छिन् ।

महामारीका वेला जीवनदायक चिकित्सक र स्वास्थ्यकर्मीमाथि समाज नै क्रूर भएर प्रस्तुत भएको उनी बताउँछिन् । ‘एकातर्फ भौतिकवादी र स्वार्थी संसार तथा अर्कोतर्फ मानवतासँग जोडिएको करुणा र माया, दयाको संसारबीच भेद छुट्याइदियो कोरोनाले,’ उनी भन्छिन्, ‘मानिस नितान्त तीन कित्तामा रहेछ । पहिलो– आफू, आफ्नो संसार, म, मेरो र स्वार्थसँग जोडिएको मानिस । दोस्रो– करुणा, माया र दयासँग जोडिएको मानिस । र, ती दुवैबीचमा रहेका द्विविधाग्रस्त मानिस ।’

राज्यको परम्परागत ढाँचालाई पनि कोरोनाले चुनौती दिएको डा. उप्रेतीको बुझाइ छ । ‘इटालीजस्ता स्वास्थ्य क्षेत्रमा अब्बल ठहरिएका देशमा पनि कोरोनाले तहसनहस बनाइदियो । आफ्नो परिवेश सफा छ र हामी सुरक्षित छौँ भन्ने ठानिरहेका विकसित मुलुकका नागरिकलाई असुरक्षा महसुस गराइदियो,’ उनी भन्छिन्, ‘भौतिक उपलब्धिमाथि गर्व गर्नेहरूलाई सोच्न बाध्य बनाइदियो । गरिबभन्दा धनी मुलुकमा कोरोनाको सबैभन्दा ठूलो असर प¥यो । हुँदा खानेभन्दा हुनेखानेहरूमा बढी असर देखियो ।’

पठनपाठनको शैलीमा परिवर्तन

कोभिड–१९ महामारीले पठनपाठन शैलीमा परिवर्तन ल्याएको छ । कोभिडका कारण कक्षामा नियमित सहभागी हुन नसक्ने अवस्थाका कारण विद्यालयदेखि विश्वविद्यालयसम्म भर्चुअल कक्षा सञ्चालनमा छन् । कोभिडले नेपालसहित विश्वभरका बालबालिकाको शिक्षण, सिकाइमा बाधा पु¥याइरहेको छ । र, यो संकटले विद्यार्थी र शिक्षकलाई प्रविधिमैत्री बन्न बाध्य बनाएको छ ।

नेपालमा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको ५ चैत ०७६ को निर्णयअनुसार देशभरका सबै शिक्षण संस्था बन्द भए । त्यसपछि सुरु गरिएको भर्चुअल कक्षा पनि प्रभावकारी हुन सकेनन् । थोरै विद्यार्थी भएका माथिल्लो तहका सेमेस्टर प्रणालीमा अनलाइन कक्षा केही प्रभावकारी देखियो । तर, तल्ला तहमा अनलाइन कक्षा प्रभावी भएनन् । शिक्षा मन्त्रालयले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा ल्याएको छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पढाइ नहुनु नै विद्यार्थीका लागि सबैभन्दा ठूलो क्षति भएको बताउँछन् । ‘कोभिडकालमा पनि केहीले राम्रोसँग पढे, केहीले आधा पढे भने केहीले पढ्नै पाएनन,’ प्रा. डा. कोइराला भन्छन्, ‘यसले विद्यालय छाड्ने बालबालिकाको संख्या पनि बढ्ने देखिन्छ ।’ यो समयमा काम नगराई शिक्षकलाई तलब खुवाउँदा राज्यलाई आर्थिक क्षतिसमेत भएको उनको भनाइ छ । शिक्षकलाई परिचालन गरेर विद्यार्थीको सिकाइ निरन्तरतामा सरकारको पर्याप्त पहल नभएको उनको ठम्याइ छ ।

कोभिडका कारण विद्यालयदेखि विश्वविद्यालयसम्मका परीक्षा मोडालिटीमा पनि परिवर्तन आएको छ । परीक्षा लिन सक्ने स्थिति नभएपछि सबैभन्दा धेरै विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयले तल्लो कक्षा वर्ष वा सेमेस्टरको परीक्षा नलिई माथिल्लो कक्षा वा सेमेस्टरका पठनपाठन सञ्चालन गरेको छ । काठमाडौं विश्वविद्यालयले भने प्राध्यापकको मूल्यांकनलाई आधार बनाई नतिजा तयार पारेको छ ।

विद्यालय तहको शैक्षिक सत्र नै कोभिड–१९ का कारण प्रभावित भएको छ । शिक्षा मन्त्रालयले आगामी योजना यकिन गरिसकेको छैन । कोभिडकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यालयबाट आन्तरिक मूल्यांकन गरी नतिजा सार्वजनिक भयो । कक्षा ११ को परीक्षा पनि विद्यालयबाटै सञ्चालन हुँदै छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ, तर यसको मोडालिटी परिवर्तन भएको छ । गत चैतमा सञ्चालन हुँदाहुँदै रोकिएका र तालिका सार्वजनिक भएर कोभिडका कारण स्थगित भएका परीक्षा त्रिविले भर्खरै सञ्चालन गर्दै छ । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा मोडालिटी परिवर्तन गरेको छ ।