१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रे म्वारेया
२०७७ कार्तिक २८ शुक्रबार ०६:३७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अफ्रिकामा चीन–अमेरिकाबीच बढ्दो खोप कूटनीति

Read Time : > 2 मिनेट
रे म्वारेया
२०७७ कार्तिक २८ शुक्रबार ०६:३७:००

कोभिड–१९ को खोप बन्न लागेको खबरमाझ अफ्रिकामा चीन र अमेरिकाबीचको प्रतिस्पर्धा नयाँ चरणमा प्रवेश गर्ने सम्भावना देखिएको छ । 

यो वर्षको प्रारम्भमा चीन र अमेरिकाबीचको विश्वव्यापी प्रतिस्पर्धाले नयाँ उचाइ लियो । तिनले आफ्नो कूटनीतिक शक्ति प्रयोग गरेर कैयौँ देशलाई आफूले विकास गरेको फाइभ–जी प्रविधि प्रयोग गर्न दबाब दिए । संयुक्त अधिराज्यले चिनियाँ कम्पनी हुवावेसँग फाइभ–जी सञ्जालका लागि सम्झौता गरिसकेको थियो । तर, अमेरिकी दबाबका कारण ऊ पछाडि हट्यो । यसलाई वासिंटनको महत्वपूर्ण जितको रूपमा हेरिएको थियो ।

चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विता अफ्रिकामा समेत फैलिएको छ । दुवै शक्तिराष्ट्रले अफ्रिकी मुलुकलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् । अमेरिकाले केन्या र दक्षिण अफ्रिकालगायत विभिन्न अफ्रिकी देशमाथि हुवावेसँगको सम्झौता पुनर्विचार गर्न दबाब दिइरहेको छ । चीनले भने आफ्नो प्रविधि उद्योग हुवावेलाई साथ दिइरहेको छ । 

कोरोना भाइरस महामारी चर्किरहँदा विभिन्न देशले लकडाउन लगाइरहेका छन् । आर्थिक रूपमा ठूलो समस्या उत्पन्न भएको छ । अहिले फाइभ–जी प्रविधिका लागि भइरहेको प्रतिस्पर्धा छायामा परेर कोभिड–१९ को खोपको नयाँ प्रतिस्पर्धा सतहमा देखिन थालेको छ । वर्षको सुरुमा विभिन्न देश र विश्वव्यापी संस्थानले कोभिड–१९ को खोप विकास भएमा सबैको पहुँचमा पुर्‍याइने वाचा गरेका थिए । अफ्रिकाको सब–साहारा क्षेत्रका धेरैले यो वाचा विश्वास पनि गरे । तर, अहिले आएर उनीहरू कति निर्दोष रहेछन् भन्ने देखिएको छ । 

धनी राष्ट्रहरूले ठूला औषधी उद्योगले विकास गरिरहेको खोपमा लगानी गरिरहेका छन् । तिनले आफ्ना नागरिकका लागि करोडौँ डोज खोप जोहो पनि गरिरहेका छन् । खोपको पहुँच सम्बन्धमा बाँकी विश्व बेवास्तामा पर्न थालेको छ । बढ्दो प्रतिद्वन्द्विताबीच चीन र अमेरिकाले कोभिड–१९ को खोपलाई कूटनीतिक हतियारको रूपमा प्रयोग हुने सम्भावना बढेको छ । हालसम्म कुनै खोप विकास त भएको छैन, तर चीनका केही कम्पनीले अनुसन्धान गरिरहेको खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ । चीन खोप बजारमा नयाँ खेलाडी हो, तर पनि ऊ खोप निर्माणमा अग्रणी देश बन्ने लक्ष्यका साथ अघि बढेको छ । चीनमा अहिले एउटा होइन, कैयौँ कोभिड–१९ का खोप विकासको चरणमा छन् । 

कोरोना महामारी सुरु भएदेखि नै चीनले अफ्रिकामा चिकित्सकीय कूटनीति बढाएको छ, तर यसबीच अमेरिका भने कतै दृश्यमा देखिएको छैन । कोभिड–१९ महामारीबाट अमेरिका र युरोप नै नराम्ररी प्रभावित भएकाले उनीहरू आफ्नै देशमा केन्द्रित भएको समयमा चीन अगाडि आएको छ

एकपटक खोप स्वीकृति भएपछि चीनले तिनलाई तीव्र गतिमा आमसर्वसाधारणको पहुँचमा उपलब्ध गराउन सक्छ । उसको ठूलो निर्माण क्षमताका कारण यो सम्भव छ । त्यसपछि चीनले तिनलाई कूटनीतिक हतियारको रूपमा परिचालन गर्नेछ । आर्थिक रूपमा कमजोर अफ्रिकी मुलुकले चिनियाँ सहयोगलाई अस्वीकार गर्न सक्दैनन् । आखिर तीसँग अर्को विकल्प हुनेछैन । चीनले आफ्ना खोपलाई ‘रणनीतिक अनुदान’को नाममा ढुवानी गर्नेछ । मास्क, गाउन र स्वाब परीक्षण गर्ने घोचोमा अहिले नै चीनले यो रणनीति लागू गरेको छ । 

चिकित्सकीय सामग्रीको कूटनीतिले प्रतिफल दिन थालिसकेको छ । सेप्टेम्बरमा चिनियाँ सहयोग लिएको एक देश जिम्बावेले उसको ह्वान्गे राष्ट्रिय निकुञ्जमा रहेको कोइला खानी चिनियाँ कम्पनीलाई दियो । यस कार्यविरुद्ध विश्वव्यापी रूपमा विरोध उत्पन्न भएपछि अहिले सम्झौता रोकिएको छ । आगामी दिन चीनले आफ्नो ‘अनुदान’को बदलामा यस्ता धेरै प्रतिफल पाउनेछ । 

कोभिड–१९ को प्रकोपले अफ्रिकी अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनको वृद्धिमा नराम्ररी असर गरेको छ । कोरोनाबाट सबैभन्दा प्रभावितमध्ये एक अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा हालसम्म रोगका कारण १९ हजारको ज्यान गइसकेको छ । प्रकोपका कारण करोडौँको संख्यामा मानिस गरिबीमा धकेलिएका छन् । अर्थतन्त्रमा धक्का लागेको समयमा स्वास्थ्य बजेटमा अत्यधिक दबाब परेको छ । यस्तो समयमा उसले पनि चीनको ‘सस्तो’ खोप स्विकार्न सक्छ । 

कोभिड–१९ को खोपको सहयोगले चीनले अफ्रिकाको ‘मन, मुटु र सरकारको समर्थन’ जित्ने प्रयास गर्नेछ । तर, यसबीच उसको प्रमुख प्रतिस्पर्धी अमेरिका भने कतै दृश्यमा देखिएको छैन । पहिले–पहिले चिकित्सकीय कूटनीतिमा वासिंटन सबैभन्दा अगाडि देखिन्थ्यो । तर, कोभिड–१९ महामारीले अमेरिकालाई नै नराम्ररी प्रभावित गरेको छ, यस महामारीले निजी क्षेत्रमा अत्यधिक निर्भर अमेरिकी स्वास्थ्य प्रणालीको कमजोरी उदांगो पारिदिएको छ । अमेरिकाको अवस्थाविपरीत चीन हालसम्म प्रकोपलाई नियन्त्रणमा राख्न सफल छ र बाहिर चिकित्सकीय कूटनीति बढाएको छ । युरोपेली तथा अमेरिकी प्रभाव क्षीण भइरहेको समयमा चीनको चिकित्सकीय कूटनीतिले यसलाई थप तीव्र बनाइदिनेछ । 

(प्रविधि पत्रकार रे म्वारेया वर्ड इथिकल डाटा फाउन्डेसनका फेलो हुन् ।) 
अलजजिराबाट