मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार १८:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको सबै पारिश्रमिक कोरोना कोषमा जम्मा हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार १८:१९:००

प्रधानमन्त्री केपी ओलीको सबै पारिश्रमिक कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको सबै पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 

यस्तै, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ । ०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । 

यसैगरी, अन्तर्राष्ट्रिय सीमानाका ३० मंसिरसम्म गन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले संक्रमणको दर बढ्दै गएकाले एक महिना लम्ब्याएको उनले बताए । तर, नेपाल आउनैपर्नेहरूको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइनेछ ।

यसैगरी विदेशमा अलपत्र नागरिकको हकमा अब उद्धार उडान नहुने भएको छ । कोभिडका कारण विदेशमा अलपत्र एक लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उनले अब नेपाल आउनैपर्ने नागरिकहरूको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए । 

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरू सुरु गर्न पनि अनुमति दिएको छ । ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेटलगायतका खेलहरूको अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो । यस्तै मैत्रीपूर्ण खेलहरू आयोजना गर्न, स्थगित रहेका फुटलब डिभिजनका खेलहरू सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षणलगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको उनले जानकारी दिए । 

यस्तै मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपन्छी विकासमन्त्रीसहितको तीन सदस्य रहेको समितिले अध्ययन गर्ने भएको छ । बंगलादेशबाट जी टु जी माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सबै संघीय र प्रदेश कार्यालयहरूमा विद्युतीय सरकारी लेखा प्रणाली र संघ तथा प्रदेशका सबै कार्यालयहरू तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्राणाली लागू गर्ने  निर्णय पनि भएको उनले बताए । 

यसैगरी बलात्कारपछि हत्या गरिएकी सम्झाना कामीको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयाता दिने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले २ मंसिरमा किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।