मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १४:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकासका काममा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : मन्त्री पुन 

Read Time : > 1 मिनेट
रासस काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १४:४२:००

कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको वेला सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । 

कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६ सहित अरू दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष मन्त्रालयले निकालेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलस्रोत  तथा सिँचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखसँग लगातार तीन दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका छन् । 

सो क्रममा जलस्रोतसचिव मधुसूदन अधिकारी, विभागका महानिर्देशक मधुकरराज राजभण्डारी र आयोजना प्रमुखले गौरवका सबै आयोजनाको अवस्थाबारे ब्रिफिङ गरेका थिए । 

भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन, सिक्टा, रानीजमारा–कुलरिया, बबई र महाकाली सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजना हुन् । यस्तै उपत्यकाको भूमिगत पानीको स्रोत तथा रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाडौंका शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्रगतिमा अघि बढेको छ ।

यस्तै तत्कालीन मध्य, पश्चिम र सुदूरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुंगाे लगाउने निर्णय गरेको छ ।

सुनकोसी–मरिन डाइभर्सनबाट एक लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी–बबई डाइभर्सन र बबई सिँचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार सात सय हेक्टर, महाकाली सिँचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानीजमरा–कुलरियाबाट २० हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

यस्तै भेरी–बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोसी–मरिन डाइभर्सनबाट करिब ३० मेगावाट तथा रानीजमरा–कुलरियाबाट ४.७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

सिँचाइ र विद्युत् उत्पादनसँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । ढाप ड्याम निर्माणको काममा हालसम्म कुल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी–बबईमा ४० प्रतिशत र बबइमा ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

गत वर्षबाट सुरु भएको सुनकोसी मरिन आयोजनाअन्तर्गत रामेछाप र सिन्धुली खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । कतिपय स्थानमा मुअब्जा वितरणसमेत भएको छ । 

यस्तै चालू आर्थिक वर्षमा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकाली सिँचाइ आयोजनाको कुलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ ।

ती सबै आयोजनाको काममा मन्त्री पुनले प्रत्यक्ष अनुगमन र निर्देशनका साथै समस्या समाधानका लागि संघमा अन्तरमन्त्रालय, प्रदेश र स्थानीय सरकार तथा आयोजना प्रभावित समुदायसँग समन्वयको भूमिका निर्वाह गर्दै आएका छन् । 

बैठकमा मन्त्री पुनले आयोजना निर्माणको काममा कुनै समस्या आए तत्काल सम्बोधन गर्न र समस्या समाधान गर्न असमर्थ भए आफूलाई जानकारी गराउन निर्देशन दिए । 

‘समस्या आए पहिला आफ्नै तहबाट समाधान खोज्नुस्, सम्भव भएन भने मलाई भन्नुस्, जस्तोसुकै समस्या भए पनि राजनीतिक तहबाट तत्काल समाधान गरिन्छ ।’ तर, समस्याको बहानामा विकासका काम रोक्ने वा ढिलासुस्ती गर्ने छुट भने कसैलाई नभएको उनको भनाइ थियो । 

मन्त्री पुनले बजेट र जनशक्तिको अभाव भए तत्काल समस्या समाधान गरिने पनि स्पष्ट गरे । कोरोना महामारीको असहज अवस्थामा समेत आयोजनाका काम लक्ष्यअनुसार अघि बढेकामा विभाग र आयोजना प्रमुखसहित सबैलाई उनले धन्यवाद दिए ।