१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
क्रसरमा उखु पेल्दै
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १२:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चिनी मिलले भुक्तानी नदिएपछि सखर उद्योगलाई उखु बेच्दै किसान 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१७:oo

चिनी उद्योगले उखु खरिद गरेको भुक्तानी नदिएपछि आन्दोलनरत किसान अहिले सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुगेका छन् । 

गुजाराको माध्यम खेती मात्र भएका किसानले आफ्नो खेतका सबै उखु चिनी मिललाई जिम्मा लगाए । तर, चिनी मिलले किसानलाई लामो समयदेखि त्यसबापतको भुक्तानी दिएको छैन ।

खेती गर्दाको खर्च, घरखर्च र बालबच्चाको पठनपाठनको शुल्क तिर्नसमेत किसानले चर्काे ब्याजमा ऋण लिनुपर्ने अवस्था आयो । चिनी मिलविरुद्ध आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि किसानले सस्तैमा भए पनि सखर उद्योगलाई उखु बेच्न थालेका हुन् । 

बसबरिया गाउँपालिका– ५ निवारी रामप्रवेश रायले गत वर्ष महालक्ष्मी चिनी उद्योगलाई बिक्री गरेको उखुको भुक्तानी अझै पाएका छैनन्। उद्योगले भुक्तानीका लागि पटक–पटक म्याद दिए पनि पैसा भने दिएन ।  

चिनी मिलले पैसा नदिएर झुलाएपछि यस वर्ष रायले खेतमा भएको उखु सखर बनाउने क्रसरलाई दिन सुरु गरेका छन् । उनले क्रसरलाई ७० क्विन्टल उखु बेचिसकेको बताए । उद्योगमा बेचेको उखुको पैसा पाउने टुंगो नभएपछि किसानहरू क्रसरमा आकर्षित भएका हुन् । पैसा समयमै पाउने भएकोले मूल्य केही कम गरेर क्रसरलाई उखु बेचेको उनको भनाइ थियो । ‘उद्योगमा दिए पैसा नै नपाउने अवस्था छ,’ उनले भने, ‘त्योभन्दा केही सस्तोमा क्रसरलाई नै बेच्नु राम्रो । पैसा नपाउनुभन्दा थोरै भए पनि पाउनु राम्रो भनेर सखर उद्याेगलाई उखु दिएका हौँ ।’ 

रामप्रवेशजस्तै अन्य किसान पनि चिनी मिलले भुक्तानी दिन आलटाल गर्न थालेपछि क्रसरमा उखु बेच्ने तरखरमा छन् । स्थानीय किसान रामनरेश साहले पनि उखुको भुक्तानी नपाएपछि यस वर्ष सय क्विन्टलभन्दा बढी उखु क्रसरमा बिक्री गरे । ‘अब उखु रोपेर किसानलाई केही फाइदा छैन,’ उनले भने, ‘न भनेको वेलामा पैसा पाइन्छ, न त समयमा उद्योग चल्छ ।’ 

आफ्नाे सबै खेतमा उखु रोपेका किसान चिनी मिलले भुक्तानी नदिँदा ठूलो समस्यामा परेका छन् । उखु बेचेर केही आम्दानी गर्ने योजना बनाएका किसान भुक्तानी नपाउँदा खेती गर्दाको लागतसमेत डुबेर पीडित बनेका छन् । किसानको पीडा सरकार र उद्योगपतिले नबुझेकोमा किसान आक्रोशित छन् । 

क्रसरमा उखुको मूल्य प्रतिक्विन्टल तीन सयदेखि चार सय ४० रुपैयाँसम्म हुने गर्छ । सखरको मूल्य बढेका वेला बढी र घटेका वेला कम मूल्यमा उखु दिनु किसानको बाध्यता हो । क्रसर सञ्चालक राजकिशोर महतोले सखरको मूल्यले उखुको मूल्य तय हुने बताए ।

जिल्लाभरि अहिले करिब एक सय ५० वट क्रसर सञ्चालनमा छन् । एउटा क्रसरले उखुको सिजनमा तीन हजार क्विन्टलसम्म उखु क्रसिङ गर्छ । 
 

ad
ad