१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक २४ सोमबार ००:४७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाललाई ओलीका दुई विकल्प : महाधिवेशनबाट अध्यक्ष वा चुनावबाट प्रधानमन्त्री

Read Time : > 4 मिनेट
२०७७ कार्तिक २४ सोमबार ००:४७:००

नेकपा विवादबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सहकार्यका लागि भावी पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमा समर्थन गर्ने विकल्पसहितको प्रस्ताव गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बढ्दो दूरीले पार्टीमा संकट चुलिँदै गएका वेला नेकपाको समीकरणमा शक्ति सन्तुलनको हिसाबले निर्णायक ‘पोजिसन’मा रहेका नेपाललाई प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव अगाडि सारेका हुन् । स्थायी कमिटीको निर्णय कार्यान्वयनलाई लिएर अहिले भने नेकपामा प्रचण्ड–नेपाल समीकरण छ । 

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले एकता महाधिवेशनमा अध्यक्ष वा आगामी चुनावपछि प्रधानमन्त्री बनाउन सकिने विकल्पसहित प्रस्ताब गरेका हुन् । करिब साढे दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले आफूले विगतदेखि नै त्यस्तो प्रस्ताव अघि सारेको भन्दै नेपाललाई आश्वस्त पार्ने कोसिस गरेका थिए । कात्तिकमा मात्रै प्रधानमन्त्री ओलीले नेपाललाई भेटेको यो तेस्रोपटक हो । हरेक भेटमा जस्तै नेपालले व्यक्तिवाद त्यागेपछि मात्रै सहमति र एकताको विकल्प खुल्ने बताएका छन् । 

ओलीले एक्लाएक्लै छलफलका लागि बोलाए पनि वरिष्ठ नेता नेपाल आफूनिकट नेताहरू सुरेन्द्र पाण्डे, भीमबहादुर रावल र रघुजी पन्तसहित बालुवाटार पुगेका थिए । एक्लाएक्लैभन्दा समूहसहित बस्दा छलफलमा सहजता हुने भन्दै नेपालले निकट नेताहरूलाई पनि संवादका लागि बोलाएको उनीनिकट एक नेताले बताए । प्रधानमन्त्री ओलीले संवादका लागि बोलाएको जानकारी कार्यकारी अध्यक्ष प्रचण्डलाई दिएर नेपाल आफूनिकट नेतासहित बालुवाटार पुगेका थिए । शनिबार पाँच नेताले बैठक बोलाउन आग्रह गर्दै पत्र दिएको अर्को दिन ओलीले नेपालसँग संवाद गरेका हुन् ।

‘मैले तपाईंलाई पार्टी अध्यक्ष बन्ने हो भने महाधिवेशन पर्खिनुस्, कि चुनावपछि प्रधानमन्त्री बन्नुस् पहिल्यैदेखि भन्दै आएको छु । यो विकल्पमा खुला छलफल गरौँ,’ नेपाललाई प्रधानमन्त्री ओलीको प्रस्ताव उद्धृत गर्दै एक नेताले नयाँ पत्रिकासँग भने, ‘अहिलेलाई मिलेर एकताका साथ अघि बढौँ, पार्टीभित्र देखिएका चुनौती सम्बोधन गर्दै अघि बढौँ ।’ पार्टी विवादका कारण १५ कात्तिकमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि धकेलिएपछि चैतमा गर्ने भनिएको नेकपाको एकता महाधिवेशन अनिश्चित बनेको छ । 

नेपालले भने आफूलाई सर्वेसर्वा ठान्ने, विधि र पद्धतिलाई चुनौती दिँदै अघि बढ्ने प्रधानमन्त्री ओलीकै कार्यशैलीका कारण समस्या उत्पन्न भएको भन्दै त्यसमा तत्काल सुधार गर्न विगतकै शैलीमा ध्यानाकर्षण गराएका थिए । ‘तपाईं एउटा कुरा भन्नुहुन्छ, काम अर्कै गर्नुहुन्छ । मैले सबै जानेको छु, सबै बुझेको छु । मैले नै पार्टी चलाएको छु जस्तो आफू सर्वेसर्वा ठान्नुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी ती नेताले भने, ‘यो पार्टी एकजनाले बनाएको होइन, तपाईं–हामी सबै मिलेर, लाखौँ कार्यकर्ताको योगदानबाट बनेको हो भन्ने ठान्नुस् । त्यसैले पार्टीलाई विधिसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालन गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ । व्यक्तिवाद त्याग्नुस्, सहमति र एकताका साथ अगाडि बढ्न सकिन्छ ।’ नेपालको त्यस्तो जवाफमा ओली मौन बसेका थिए ।

लामै छलफल चले पनि प्रधानमन्त्री ओलीका तर्फबाट पार्टीमा अहिले गहिरिएको संकट समाधानको कुनै नयाँ ठोस प्रस्ताव नआएको नेता सुरेन्द्र पाण्डेले बताए । ‘हामीले कसले के ग¥यो, के भन्यो कुरा गरेर खास अर्थ छैन, पार्टीमा देखिएको अहिलेको संकट समाधानमा तपाईंका ठोस प्रस्ताव, सोच र योजनाहरू के–के छन्, कसरी अहिले देखिएको समस्याको समाधान हुन्छ बैठकमा प्रस्ताव ल्याउनुस्, बैठक नै हो समाधान गर्ने ठाउँ भन्ने आफ्नातर्फबाट कुरा ग¥यौँ,’ पाण्डेले नयाँ पत्रिकासँग भने । 

संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीचको सहमति अपरिहार्य भए पनि अरू नेताहरूसँग पनि सल्लाह गरेर अगाडि बढ्नुपर्छ भन्ने पार्टी नेताहरूकै सुझाबका आधारमा प्रधानमन्त्री ओलीले नेपालसहितका नेताहरूसँग छलफल गरेको बताए । ‘अध्यक्षले पार्टीका सबै कमरेडहरूसँग भेटेर सल्लाह गर्दै अगाडि बढ्नुपर्छ भन्ने सबैको भनाइ छ । त्यही सिलसिलामा भेट भएको हो,’ नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षसँग त सधैँ भइरहेको छ । दुई अध्यक्षले सहमति गरेरै अगाडि बढ्ने हो । त्यससँगै अरू नेता कमरेडहरूलाई पनि भेट्ने भन्ने हो ।’ 

छलफलमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनको कुनै पनि जिम्मेवारी नसम्हाल्ने, तर गुटको बैठक राखेर गलत कुरा गरेर नेतालाई भड्काउने, सरकारलाई असफल पार्ने र घेराबन्दी मात्रै गर्ने गरेको लामै गुनासो पोखेका थिए । त्यसक्रममा उनले पार्टी एकता बचाएर एकतासहित अघि बढ्न पहिला कम्तीमा पूर्वएमाले एकैठाउँमा उभिएर अगाडि बढ्दा सहज हुनेसमेत बताएका थिए । 

प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष प्रचण्डको भूमिकाप्रति निकै रुष्ट देखिएकाले तत्काल संवाद गरेर समझदारीमा बैठक बोलाउने पक्षमा नरहेको छलफलमा सहभागी एक नेताले बताए । ‘उहाँले कार्यकारी अध्यक्षप्रति गुनासो मात्रै गर्नुभयो, बैठकबारे छलफल गर्छौँ, सल्लाह गर्छौँ, केही भन्नुभएन,’ ती नेताले भने ।

नेपालसहित नेताहरूले प्रधानमन्त्री ओलीले नै पार्टीलाई ठीक ढंगले सञ्चालन नगर्ने, गुटबन्दी गर्ने गरेका कारण समस्या आएको भन्दै पहिले अरूले के गरेभन्दा पनि आफ्नै कार्यशैली सच्याउँदा उपयुक्त हुने सुझाब राखेका थिए । त्यस्तै, उनीहरूले महाधिवेशनमा लैजाने पार्टीको विचारको बहसबारे संस्थागत निर्णयबाट खुला नगरीकनै जनताको बहुदलीय जनवाद मान्नेहरू एक ठाउँ हुनुपर्ने भन्दै मदन भण्डारी फाउन्डेसनका नाममा भेला गर्न थालेको भन्दै प्रतिवाद गरेका थिए । 

‘पार्टीको विचारसम्बन्धी बहस संस्थागत रूपमा खुला भएकै छैन, पार्टीको विवाद समाधान कार्यदलले सिफारिस गरेर कुनै पनि फाउन्डेसन विस्तार नगर्ने, गतिविधि नगर्ने सिफारिस गरेर स्थायी समितिले निर्णय गरे पनि तपाईंले उल्लंघन गरेर गतिविधि गराइरहनुभएको छ, त्यस्ता पार्टी एकताविरोधी गतिविधि बन्द गराउनुस्,’ नेपालसहितका नेताहरूको भनाइ थियो । ओलीले भने अहिलेको अवस्थामा फाउन्डेसनको संगठन विस्तार र गतिविधि बन्द गर्न नसकिने जवाफ फर्काएका थिए । 

लिखित मागलाई प्रक्रियामा लैजान महासचिव पौडेललाई ओलीको निर्देशन 

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच नेताले बैठक बोलाउन लिखित माग गरेअनुसार विधानबमोजिम प्रक्रिया अगाडि बढाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले लिखित अनुरोधपत्रलाई विधानबमोजिम प्रक्रियामा लैजान निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीले लिखित अनुरोधपत्रबारे महासचिवलाई बालुवाटारमा बोलाएर केही निर्देशन दिइसक्नुभएको छ । बैठक गरौँ, अघि बढौँ, तर विधानबमोजिम हुनुपर्छ भन्नुभएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने । आफ्नो सहमतिविना बहुमतको औपचारिक बैठक बसे त्यही नै पार्टी फुटको बिन्दु र घोषणा हुने ओलीले चेतावनी दिँदै आएका छन् । 

ओलीले भने– दोस्रोपटक किड्नी फेरेपछि त सेता जुँगा पनि काला भए

लामै कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले दोस्रोपटक किड्नी प्रत्यारोपणपछि झन् जोस बढेको र स्वस्थ महसुस गरेकोसमेत बताएका थिए । ‘दोस्रोपटक किड्नी फेरेपछि त सेता जुँगा पनि काला भएका छन्, जोस बढिरहेको छ, काम गरिरहेको छु, कपाल पनि कालै भइरहेको छ । हाच्छ्युँ त के ज्वरो पनि आएको छैन, एकदम स्वस्थ छु,’ ओलीको यस्तो भनाइले केहीबेर रमाइलो माहोल बनेको छलफलमा सहभागी एक नेताले बताए । 

तर, प्रधानमन्त्रीका एक सल्लाहकारले भने अब मुलुक र पार्टीको नेतृत्व पुराना, बुढा पिँढीभन्दा दोस्रो तहका युवा पिँढीले गर्दा उपयुक्त हुने अर्थमा त्यस्तो कुरा राखेको दाबी गरे । उनले नेपालसँगको छलफलमा प्रधानमन्त्री ओलीले प्रस्टैसँग पूर्वपार्टी र सरकारप्रमुख भइसकेकाले अबको नेतृत्वको हानथाप छाडेर नयाँ पिँढीलाई अगाडि बढाउनुपर्ने धारणा राखेको बताए । ‘अहिलेको विवाद हामी पार्टीप्रमुख र सरकारप्रमुख भइसकेकाहरूबीचको हो । ३२ वर्ष, १६ वर्ष र १४ वर्ष पार्टीको नेतृत्व सम्हालिसकेकाले हानथाप छोड्नुपर्छ, नयाँ पिँढी अगाडि बढ्ने गरी अगाडि बढ्नुपर्छ, मैले त दोहोरिँदैन भनेकै छु । अबको समाधानको उपाय पनि त्यही हो भनेर प्रस्टैसँग भन्नुभएको छ, सांकेतिक रूपमा पनि बताउनुभएको छ,’ ती सल्लाहकारले भने । 

नेपालसँगको चार भेट, चार प्रस्ताव 

२३ कात्तिक : अबको महाधिवेशनबाट पार्टी अध्यक्ष वा चुनावबाट प्रधानमन्त्री बन्न नेपालसमक्ष विकल्पसहित ओलीले प्रस्ताव गरेका छन् । ‘मैले तपाईंलाई पार्टी अध्यक्ष बन्ने हो भने महाधिवेशन पर्खिनुस्, कि चुनावपछि प्रधानमन्त्री बन्नुस् पहिल्यैदेखि भन्दै आएको छु,’ नेपाललाई प्रधानमन्त्री ओलीको प्रस्ताव उद्धृत गर्दै एक नेताले भने, ‘अहिलेलाई मिलेर एकताका साथ अघि बढौँ, पार्टीभित्र देखिएका चुनौती सम्बोधन गर्दै अघि बढौँ ।’ तर, नेता नेपालले पार्टीमा विधि र पद्धतिको खाँचो रहेको भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

११ कात्तिक : ओलीले अब नेकपालाई तपाईंले नेतृत्व गर्ने हो भन्दै पार्टी र सरकार सञ्चालनमा सहयोग गर्न प्रस्ताव गरेका थिए । ‘मुलुकको अवस्था, सरकार र पार्टी सञ्चालनमा सहयोग गर्नुप¥यो, अब नेकपालाई तपाईंले नै नेतृत्व गर्ने हो भन्नेबाहेक कमीकमजोरी महसुस गर्दै सच्चिएर अघि बढ्ने र पार्टीलाई एकताबद्ध बनाउने कुनै ठोस प्रस्ताव आएको थिएन,’ नेपालनिकट नेताहरूले भनेका थिए । 

४ कात्तिक : प्रचण्डसँग हिमचिम बढाएर खुमलटार धेरै जाने गरेको भन्दै गुनासो पोखेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । ‘लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईंले पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ, छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ,’ ओलीको प्रस्ताव थियो । 

९ साउन : दल विभाजनसम्बन्धी अध्यादेश प्रकरण हुँदै पार्टीभित्र अन्तर्विरोध उत्कर्षमा पुगकै वेला गत ९ साउनमा राति ९ बजेपछि वरिष्ठ नेता नेपाललाई गोप्य भेटवार्ता भन्दै बालुवाटारमा छलफलका लागि बोलाएका थिए । पार्टीभित्रको अन्तर्विरोधको समाधान, महाधिवेशनको तयारीलगायत विषयमा लामै छलफल भए पनि ओलीले भेटवार्ताकै भोलिपल्ट महाधिवेशन संयोजक वा पार्टी अध्यक्षमा समर्थनका लागि प्रस्ताव आएको भन्दै प्रचार गराएकोमा नेपाल असन्तुष्ट बनेका थिए ।