१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २३ आइतबार १०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई सातासम्म खुलेन डोल्पा जोड्ने सडक

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २३ आइतबार १०:२५:००

सवारीसाधन बाटोमै रोकिए : यात्रुलाई सास्ती, दैनिक उपभोग्य सामानको ढुवानी पनि ठप्प

डोल्पा जोड्ने मुख्य सडकअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको खदाङ–त्रिवेणीखण्डमा गएको सुक्खा पहिरो पन्छाइएको छैन । जसले गर्दा दुई सातादेखि सडक अवरुद्ध बनेको छ । 

त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित कुच्ची भीरनजिकै दुई सय मिटरमाथिबाट सुक्खा पहिरो खसेको थियो । निरन्तर रूपमा माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

पहिरो पन्छाउन एक सातादेखि दुईवटा डोजर प्रयोग गरिएको छ । तर, पहिरो खस्ने क्रम नरोकिएकाले काम गर्न नसकिएको त्रिपुरासुन्दरी–६ का सदस्य अमृत सार्कीले बताए । ‘डोजरले माटो पन्छाएपछि फेरि पहिरो खसिहाल्छ, केहीबेरमै पहिरो खसेर जस्ताको तस्तै हुन्छ । काम गर्न निकै समस्या भएको छ,’ वडा सदस्य सार्कीले भने ।

केही दिनअघि पहिरो पन्छाउँदापन्छाउँदै नगरपालिकाको डोजर पुरिएको थियो । अर्को डोजर प्रयोग गरी निकालिएको उनले बताए । सुक्खा पहिरोले ५० मिटर सडकमा पूर्ण रूपमा क्षति पुगेको छ । पहिरोले सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी गर्न दुई सातादेखि रोकिएको छ ।

जसले गर्दा उपभोग्य सामानको अभाव हुन थालेको जनाइएको छ । सडक अवरुद्ध हुँदा सहुलियतको चामल ढुवानी रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, डोल्पाले जनाएको छ । शुक्रबार जोखिम मोलेर तीनवटा ट्र्याक्टर र केही गाडी पास भए पनि पनि फेरि अवरुद्ध भएको उनले बताए ।