१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण उप्रेती काठमाडाैं
२०७७ कार्तिक २० बिहीबार ०५:४३:००
Read Time : > 5 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी चुनाव विवाद अदालतमा, ट्रम्पले दर्ता गरे रिट 

Read Time : > 5 मिनेट
श्रवण उप्रेती, काठमाडाैं
२०७७ कार्तिक २० बिहीबार ०५:४३:००

विश्व महाशक्तिको नेतृत्व कसको हातमा ?

हुलाकमार्फत पठाइएका मतको विषयमा अब न्यायिक निरुपण हुने

अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावको मत गणना जारी छ । बुधबार मध्यरातसम्मको मतपरिणामका आधारमा दुई प्रमुख उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच निक्कै कडा प्रतिस्पर्धा हुने देखिएको छ । ४३ राज्यको मतपरिणाम आइसक्दासमेत कसैको सुनिश्चित देखिएको छैन । 

कोभिडका कारण यसपटक १० करोड अमेरिकी नागरिकले हुलाकबाट मतदान गरेका थिए । निर्वाचनको मिति सकिएपछि प्राप्त भएका मतपत्रले मान्यता पाउने कि नपाउने भन्ने विवाद थियो । पेन्सिलभेनिया राज्यले त्यस्ता मतपत्रलाई मान्यता दिएकोमा त्यहाँको अदालतमा ट्रम्प पक्षले रिट दर्ता गर्ने घोषणा गरेको छ । 

यसपटक चुनावअघिका अधिकांश मत–सर्वेक्षणले बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । तर, मतगणना भने मत–सर्वेक्षणको अनुमानविपरीत निकै प्रतिस्पर्धात्मक देखिएको छ । वर्तमान राष्ट्रपति ट्रम्पले डेमोक्र्याटका उम्मेदवार बाइडेनलाई पछ्याइरहेका छन् । बुधबार रातिको परिणामअनुसार बाइडेनले २३७ इलेक्टोरल मत पाएका छन् । त्यही नै ट्रम्पले २१३ इलेक्टोरल मत पाएको बिबिसीले जनाएको छ । अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल मत छ । अमेरिकी राष्ट्रपति बन्न कम्तीमा दुई सय ७० इलेक्टोरल मतको आवश्यकता हुन्छ ।

रिपब्लिकनका ट्रम्प र डेमोक्र्याटका बाइडेन दुवैले महत्वपूर्ण मानिएका राज्यमा जित निकालेका छन् । अहिलेसम्म ५० मध्ये ४३ राज्यको नतिजा आएको छ । यद्यपि धेरैजसो राज्यमा ट्रम्प नै विजयी भए पनि बाइडेनले धेरै इलेक्टोरल मत भएका राज्यमा जित निकालेका छन् । यसपटक निर्वाचनको परिणाम आउन विगतको भन्दा ढिलो हुन सक्छ । कोरोना भाइरसका कारण १० करोड मतदाताले हुलाकबाट आफ्नो मतपत्र पठाएका छन् । सम्बन्धित निकायसम्म पुग्न समय लाग्न सक्छ । यसैकारण अन्तिम परिणामको घोषणा ढिला हुने भएको हो ।

मतपरिणाम आउन बाँकी रहेका राज्यको नतिजा नै निर्णायक हुन सक्छ । पेन्सिलभेनिया (२०), नर्थ क्यारोलिना (१५), जर्जिया (१६), मिसिगन (१६), नेभडा (६), अरिजोना (११) र अलास्का (३) इलेक्टोरल मत रहेको राज्यलाई प्रमुख चुनावी रणमैदान मानिएको छ । 

फ्लोरिडामा ट्रम्पले बाजी मारे
फ्लोरिडा राष्ट्रपति निर्वाचनकै अहं राज्य मानिन्छ । यसलाई स्विङ क्षेत्र पनि भनिन्छ । लगातार दोस्रोपटक ट्रम्पले फ्लोरिडामा आफ्नो वर्चश्व कायम राखे । इतिहास हेर्ने हो भने फ्लोरिडामा जित हात पारेका उम्मेदवार नै ह्वाइटहाउस पुगेका छन् । यसपटक पनि फ्लोरिडाका नागरिकले ट्रम्पलाई नै विश्वास गरेका छन् । समग्रमा फ्लोरिडामा ट्रम्पले ५१.६ प्रतिशत मत पाए । सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनले ४७.८ तथा ट्रम्पले ४९ इलेक्टोरल मत पाएका थिए । यसपटक डेमोक्र्याटका बाइडेनले ४७.७ प्रतिशत इलेक्टोरल भोटिङ पाएका छन् । 

क्यालिफोर्निया बाइडेन
धेरै इलेक्टोरल भोटिङ भएको राज्य क्यालिफोर्निया हो । यहाँ सर्वाधिक ५५ इलेक्टोरल मत छ । यस राज्यमा डेमोक्र्याटका बाइडेन विजयी रहे । सिएनएनका अनुसार ७० वर्षपछि एरिजोना क्षेत्रमा डेमोक्र्याट अगाडि छ । यो क्षेत्र रिपब्लिकनको गढ नै मानिन्छ । धेरैजसो ल्याटिन अमेरिकनले बाइडेनकै पक्षमा मतदान गरेका छन् । यसैगरी २० इलेक्टोरल मत भएको इलिनोस र २९ इलेक्टोरल मत रहेको न्युयोर्क राज्यमा पनि बाइडेन नै विजयी भए ।

वासिङ्टनमा झपड
निर्वाचनको क्रममा झडप हुनुलाई सामान्य रूपमै हेरिन्छ । यसमा पक्ष र विपक्षी दुवै मैदानमा हुँदा झपड हुने अत्यधिक सम्भावना हुने गर्छ । राजधानी वासिङ्टनमा मतगणना हुँदा ट्रम्पका विरोधी अर्थात् डेमोक्र्याटका समर्थकले विरोध गरे । सडकमा सयौँ बाइडेनका समर्थकले ट्रम्पविरुद्ध नाराबाजी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । केही स्थानमा बाइडेनका समर्थकले सकड अवरुद्ध गरेका छन् । समर्थकहरूले न्यायकै लागि सडकमा आएको नारा लगाएका छन् । सडकमा प्रदर्शन गरेका तीन प्रदर्शनकारीलाई प्रहरीले प्रक्राउ गरेको छ । 

‘स्विङ स्टेट’मा ट्रम्प बलिया
‘स्विङ स्टेट’मध्येका सबैभन्दा ठूला राज्य टेक्सास र फ्लोरिडामा जित हासिल गरेपछि ट्रम्प बलिया देखिएका छन् । अमेरिकाका ५० राज्यमध्ये अधिकांशले प्रायजसो उही पार्टीलाई जिताउने भएकाले केही थोरै राज्यमा मात्र मुख्य प्रतिस्पर्धा हुन्छ । कहिले एउटा पार्टीले त कहिले अर्कोले जित्ने ती राज्यलाई ‘स्विङ स्टेट’ भनिन्छ । निर्वाचनअनुसार यस्ता राज्यहरूमा केही हेरफेर हुने गर्छ । यसपटकको निर्वाचनमा १३ राज्यलाई स्विङ स्टेट मानिएको छ । १३ राज्यमा एरिजोना, आयोवा, ओहायो, नर्थ क्यारिलोना, जर्जिया, फ्लोरिडा, नेभाडा, टेक्सस, मिनिसोटा, विस्कन्सिन, मिचिगन, पेन्सिलभेनिया र न्युह्याम्पसायर छन् । अन्तिम समय परिणाम आउन बाँकी धेरै राज्यहरू ‘स्विङ स्टेट’नै छन् । यसैले बढी इलेक्टोरल भोट भएका ‘स्विङ स्टेट’हरू पेन्सिलभेनिया, मिचिगन, विस्कन्सिन, जर्जिया र नर्थ क्यारोलिना राज्यमा धेरैको नजर टिकेको छ । चुनावी परिणाम ‘स्विङ स्टेट’ले फैसला गर्ने भएकाले खास चुनावी अभियान मुख्यतः यही राज्यमा केन्द्रित हुन्छ । उम्मेदवारले अधिकांश समय तथा कोष यहीँ खर्च गर्छन् । 

टेक्सस विगतमा रिपब्लिकनको गढ मानिए पनि यसपटक बाइडेनले यसलाई आफ्नो पोल्टामा पार्न धेरै पैसा र समय खर्च गरेका थिए, तर सफल भएनन् । यी राज्यका हुलाकी मत (पोस्टल ब्यालेट)को गन्ती ढिलो सुरु भएकाले पूरा मत परिणाम आउन ढिलो हुने भएको छ । हुलाकी मतको ठूलो हिस्सा बाइडेनको पक्षमा भएको अनुमान छ । यसैले विश्लेषकहरूले यी राज्यमा बाइडेनको जितको अपेक्षा गरेका छन् । ट्रम्प भने यसलाई विवादमा तान्न खोज्दै छन् । उनका पछिल्ला ट्विटले यो विषय सर्वोच्च अदालतमा जाने संकेत गरेको छ ।

अमेरिकामा हुलाकबाट मत हाल्नु नयाँ होइन । सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा कुल मतदानमध्ये एकचौथाइ हुलाकी मत थिए । तर, यो वर्ष कोभिड– १९ महामारीका कारण धेरै अमेरिकी घरबाट बाहिर निक्लिन हिच्किचाइरहेका थिए । सोही कारण हुलाकी मतको प्रयोग ह्वात्तै बढ्यो । यही कारण हुलाकी मत राजनीतिक विवादमा तानिन पुग्यो । डेमोक्र्याटहरूले यो प्रक्रियाबाट बढी मत हासिल गर्ने सम्भावनायुक्त सर्वेक्षण सार्वजनिक भइरहँदा ट्रम्पले यसलाई सकेसम्म सीमित गराउने प्रयास गरे । उनले यो मतदानलाई छिट्टै रोक्ने प्रयास गरेका थिए । ट्रम्पको यस प्रयासविरुद्ध डेमोक्र्याट अदालत जानुपरेको थियो । 

केही राज्यमा पोस्ट ब्यालेटअन्तर्गतको मेल–इन मत सुरुबाटै गणना भएको थियो । केही राज्यले भने चुनावको एक दिन पहिले मात्र गणना सुरु गरे । हाल चुनावी परिणाम ढिलो गरी आइरहेका पेन्सिलभेनिया तथा विस्कन्सिनजस्ता राज्यमा पोस्टल ब्यालेटको गणना चुनावको दिनबाट मात्र सुरु भयो । यो मतको गणनामा सामान्य मतगणनाभन्दा लामो समय लाग्छ । मिचिगन राज्यका अधिकारीले पनि सम्पूर्ण मत गन्न शुक्रबारसम्म समय लाग्ने बताएका छन् । 

ट्रम्पले भने यही ढिलाइलाई इंगित गर्दै आफ्नो मत चोरिन सक्ने दाबी गरेका छन् । कसरी उनको मत चोरी हुनेछ भन्ने विषयमा भने उनले कुनै प्रमाण पेस गरेका छैनन् । जब कि विभिन्न राज्यमा भएको अध्ययनले अन्य चुनावी समस्या आए पनि मतपत्र चोरिनेजस्ता धाँधली अमेरिकामा नदेखिने देखाएको छ ।

ट्रम्पले भने मतगणना चलिरहेको समय ट्विट गर्दै यसबारेमा विरोध जनाएका थिए, ‘हामी अगाडि छौँ, तर उनीहरू चुनावी परिणाम चोर्न चाहन्छन् । हामी तिनलाई यस्तो गर्न दिनेछैनौँ । चुनावको समय सकिएपछि मत हाल्न सकिँदैन ।’ ट्विटरले भने यस ट्विटका केही अंश वा सम्पूर्ण भाग भ्रामक हुन सक्ने सन्देशात्मक चेतावनी दिएको छ ।

उता चुनावी परिणाम आइरहँदा डेमोक्र्याट उम्मेदवार जो बाइडेनले पनि सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा बाइडेनले अन्तिम मतपत्र गणना नभएसम्म चुनाव अन्त्य भएको मान्न नहुने बताए । ‘मेरो विश्वासमा हामीले जितिरहेका छौँ । तर, धैर्य गर्नुस् । हुलाकमार्फत आएको मत पनि गन्नुपर्ने भएकाले अन्तिम नतिजा आउन समय लाग्नेछ । कसले जित्छ भन्ने कुरा ट्रम्पले घोषणा गर्ने कुरा होइन, त्यो कुरा अमेरिकी नागरिकले तय गर्नेछन् ।’ 

अहिले आएर हुलाकी मतको विषयले भने कानुनी विवाद निम्त्याउने जोखिम देखिएको छ । ट्रम्पले पोस्टल ब्यालेटमार्फत आफूलाई हराउन प्रयास भइरहेको बताएका छन् । उनले चुनावको अवधि सकिएपछि पनि डेमोक्र्याट्सहरूले यस विधिमार्फत मतदान गरेको भन्दै न्यायालय जाने चेतावनी दिएका छन् । चुनावअघि नै केही मिडियाले यसको सम्भावना व्यक्त गरेका थिए । अमेरिकी समाचार एजेन्सीले एपीले अक्टोबर २४ को समाचारमा हार–जितको निर्णय झिनो अन्तरले हुने सम्भावना उत्पन्न भएमा न्यायिक लडाइँ लड्न दुवै पक्षले तयारी गरेको लेखेको छ । पोलिटिको नामक वेबसाइटमा सेप्टेम्बर २७ मा छापिएको एक समाचारमा ट्रम्पले भावी कानुनी लडाइँका लागि २० जना वरिष्ठ वकिल किनेको लेखेको छ । 

इलेक्टोरल कलेजको हिसाब–किताब
अमेरिकाको राष्ट्रपति जनताको प्रत्यक्ष मतबाट चुनिँदैन । जनताले राष्ट्रपतिलाई मतदान गर्ने प्रतिनिधिको समूहलाई मतदान गरेर निर्वाचित गर्छन्, जसलाई इलेक्टोरल कलेज भनिन्छ । यी इलेक्टोरल कलेजको काम नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नु हो । हरेक चार वर्षमा राष्ट्रपति निर्वाचन भएको केही दिनपछि इलेक्टोरल कलेजहरू जम्मा हुन्छन् र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्छन् । 

अमेरिकाको ५० राज्यमध्ये सबै राज्यबाट बराबरी इलेक्टोरल कलेज निर्वाचित हुँदैनन्, त्यो राज्यको जनसंख्या जति छ, त्यसकै आधारमा कलेजको संख्या निर्धारित हुन्छ । कुनै राज्यबाट अमेरिकी संसद्मा जति सदस्य निर्वाचित हुन्छन्, इलेक्टोरल कलेज पनि त्यति नै निर्वाचित हुन्छन् । सबैभन्दा बढी इलेक्टोरल कलेज क्यालिफोर्नियामा ५५ जना निर्वाचित हुन्छन् भने अलास्का, नर्थ डाकोटाजस्ता राज्यमा तीनजना निर्वाचित हुन्छन् । इलेक्टोरल कलेजमा कुल पाँच सय ३८ भोट हुन्छन्, कम्तीमा दुई सय ७० भोट ल्याउने उम्मेदवार विजयी हुन्छ । 

अमेरिकाको कुनै राज्यमा जुन पार्टीले लोकप्रिय भोट बढी ल्याउँछ, त्यस राज्यको सबै इलेक्टोरल भोट त्यही पार्टीले जित्छ । उदाहरणका लागि एरिजोना राज्यमा जोन बाइडेनले ५१ प्रतिशत मात्रै भोट ल्याए भने पनि त्यहाँबाट प्रतिनिधित्व गर्ने सबै ११ वटै इलेक्टोरल भोट बाइडेनका पक्षका निर्वाचित हुन्छन् । त्यसो हुँदा सम्पूर्ण मुलुकमा धेरै मत ल्याए पनि कम इलेक्टोरल कलेज निर्वाचित भएका कारण कुनै उम्मेदवारले राष्ट्रपतिको निर्वाचन हार्न सक्छ । यस्तो विगतमा पटकपटक भएको छ । नेब्रास्का र मेन गरी दुई राज्यमा भने इलेक्टोरल कलेजले व्यक्तिगत रूपमा पाएको भोटको अनुपातमा उनीहरू निर्वाचित हुन्छन् ।