मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक १७ सोमबार १८:००:००
Read Time : > 7 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेसमा पिटिएको पिटियै दलित : प्रहरी र अदालतमा होइन, कथित पञ्चायतमा टुंगिन्छन् घटना

Read Time : > 7 मिनेट
२०७७ कार्तिक १७ सोमबार १८:००:००

जनप्रतिनिधिकै संलग्नतामा दलित भएकै कारण निर्घात कुटपिटका घटना हुँदा पनि दोषीलाई कारबाही गर्न प्रहरीले उदासिनता देखाउँदै आएको छ । कतै सार्वजनिक पोखरीमा माछा मार्ने निहुँमा त कतै राहत माग्दा दलितमाथि कुटपिट भएको छ । कतै शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्दा दलित महिलामाथि कथित उपल्लो जातिका व्यक्तिले कुटपिट गरेका छन् भने कतै चोरी गरेको आरोप लगाउँदै ‘पञ्चायत’ बसेर मरणासन्न हुने गरी पिटिएको छ ।

प्रदेश–२ का अधिकांश घटनामा सीमान्तकृत मुसहर समुदायमाथि सबैभन्दा बढी ज्यादति हुँदै आएको छ । कोरोना प्रसार रोक्न जारी लकडाउन अवधिमा दलित समुदायमाथि भएका दमनका घटनामा प्रहरीले उजुरीसम्म दर्ता नगरेका उदाहरण छन् । उजुरी दर्ता गर्दा पनि दोषीमाथि कारबाही नगरी मिलापत्रमा टुंग्याउने प्रवृत्ति छ ।

जनप्रतिनिधिकै रोहबरमा कुटिए दलित, आन्दोलनपछि पनि भएन मुद्दा दर्ता
सर्लाही ईश्वरपुर नगरपालिका–९ का वडाध्यक्ष अमिरीलाल साहसहितको समूहले रामनगरमा आयोजित दुर्गापूजामा नाच हेर्न गएका स्थानीय १९ वर्षीय गोविन्द माझीलाई १० कात्तिकमा निर्घाट कुटपिट गरे । खेतमा शौच गर्न गएका वेला माझीलाई चोरी गर्न आएको आरोप लगाउँदै पिटिएको थियो ।

त्यसको भोलिपल्ट वडाध्यक्ष साहसहितका व्यक्तिले उनलाई फेरि रूखमा बाँधेर लाठीले पिटे । पीडित माझीले आफूलाई करेन्टसमेत लगाइएको बताएका छन् । स्थानीय पच्चु माझीका अनुसार आफ्नो छोरालाई नपिट्न अनुरोध गरेकी उनकी आमालाई समेत गाउँलेले कुटपिट गरेका थिए ।

इलाका प्रहरी कार्यालय, केशरगन्जका निरीक्षक रवीन्द्र गुरुङ भने सञ्चारमाध्यममा आएजस्तो ठूलो घटना नभएको दाबी गर्छन् । भन्छन्, ‘अर्काको घरमा राति १ बजे गएकाले गोविन्द माझीलाई स्थानीयवासीले कुटपिट गरेका हुन् । कानुन हातमा नलिनुपथ्र्यो । तर, स्थानीय बासिन्दाले कुटपिट गरेपछि वडाअध्यक्ष साहले नै फोनबाट घटनाबारे जानकारी गराएका थिए । त्यसपछि प्रहरीले गोविन्दलाई उपचार गर्न पठाएको हो ।’

पीडित माझीले ज्यान मार्ने उद्योग र पीडकले चोरी आरोपमा उजुरी दिएका छन् । तर, प्रहरीले दुवै उजुरी दर्ता गरेको छैन । घटनामा वडाध्यक्षको संलग्नता नभएको प्रहरी निरीक्षक गुरुङको दाबी छ । घटनाका दोषीमाथि कारबाही माग गर्दै स्थानीय बासिन्दाले आन्दोलन पनि नगरेका होइनन् । तर, सुनुवाइ भएको छैन ।

चोरी आरोपमा दलित युवा पिटिए, तर दोषीलाई उन्मुक्ति
महोत्तरी भंगहा नगरपालिका–४ रामनगरबिर्तामा २४ असोज राति दिनेश महतोको घरको पछाडिबाट सुरुङ खनी चोरी भएको थियो । चोरले उनकी श्रीमतीको सुनको बुलाकी खोसेर लगेका थिए । उनले चोरलाई राम्रोसँग चिन्न नसकेको बताएकी थिइन् ।

तर, माछा मारेर फर्किएका स्थानीय मल्हु सदा र विन्देश्वर सदालाई चोरीमा संलग्न भएको आरोप लगाउँदै महतो परिवारले निर्घात कुटपिट गरे । विनाप्रमाण उनीहरूमाथि दिनेश र उनका बाबु कृपाल महतोले मरणासन्न हुने गरी पिटे । उनीहरूलाई अपहरण शैलीमा बाटोबाटै मोटरसाइकलमा राखेर घरमा पु¥याएर महतो बाबुछोराले पिटेका थिए ।

गढीमाई समुदायिक अस्पताल, सीतापुरमा उनीहरूको उपचार भएको थियो । पीडितले महतो बाबुछोराविरुद्ध प्रहरीचौकी सीतापुरमा उजुरीसमेत दिए । तर, प्रहरीले घटना छानबिन र दोषीलाई कारबाही साटो उपचार खर्च भराइदिने आश्वासन दिएर फर्कायो ।

अहिले २०÷२० हजार रुपैयाँ उपचार खर्च दिने बताउँदै घटना मिलापत्रमा टुंग्याउन दबाब आइरहेको पीडित बताउँछन् । दलित अगुवा दिनेश सदाका अनुसार दलित समुदायले महतो बाबुछोरालाई कारबाही माग गर्दै प्रहरी कार्यालय घेरे । तर, कुनै कारबाही भएन ।

राहत माग्दा मेयरका भाइबाट कुटिएका मुसहर, उपचार खर्चसमेत पाएनन्
महोत्तरी भंगहा नगरपालिकामा लकडाउनका कारण भोकभोकै परेकाले राहत माग्न १९ जेठमा मेयर सञ्जीव साहकोमा पुगेका मुसहर समुदायमाथि उनका भाइ विनोदसहितको समूहले कुटपिट ग¥यो । ‘लकडाउनले काम गर्न नपाएको दुई महिना भएको थियो, घरमा एक गेडो चामल थिएन,’ त्यतिवेला पिटिएकी भंगहा–३ की रीतादेवी सदा भन्छिन्, ‘बालबच्चा कसरी पाल्नु भनेर मेयरसँग राहत माग्न गयौँ, तर उल्टै कुटे ।’

नगरपालिकाले लकडाउनका वेला पहिलो चरणमा बाँडेको प्रतिपरिवार आठ किलो चामल, तीन पाउ दाल, एक लिटर खाने तेल, एक किलो नुनले दैनिकी नचलेको बताउँदै उनीहरू थप राहत माग्न गएका थिए । आफूहरूलाई ५० किलो चामल, १० किलो दाल, पाँच लिटर खानेतेल र तीन किलो नुन दिन उनीहरूले माग गरेका थिए । राहत सामग्री थपिदिनु त टाढाको कुरा, मेयर साहका भाइ विनोदसहितको समूहले कुटपिट गर्दै लखेट्यो ।

कुटपिटबाट भंगहा–३ का रामपृत सदाको कानमा गहिरो चोट लाग्यो । अहिले कान राम्ररी सुन्न नसक्ने समस्या बेहोरिरहेका छन् । उनको उपचार खर्चसमेत कसैले बेहोरिदिएन ।

मेयर साह भने उनीहरूलाई राहतका लागि चक्काजाम गर्दा टिपरचालक र ठेकेदारहरूले कुटपिट गरेको दाबी गर्छन् । ‘मेरो परिवारको कुनै व्यक्ति र पार्टी कार्यकर्ता घटनामा संलग्न छैनन्,’ उनको दाबी छ, ‘मलाई बदनाम गराउन केही पत्रकारले समाचार लेखे ।’

चोरी आरोपमा पाँच दलित किशोरमाथि निर्घात कुटपिट, तर घटनाको छानबिनसम्म भएन
लकडाउन खुकुलो भएपछि २९ जेठमा सप्तरी राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका दलित किशोरको एक समूह नजिकको गाउँ सिम्राहामा निर्माणसम्बन्धी काम गर्न गएका थिए । काम सकेर घर फर्किरहेका उनीहरूले स्थानीय बेचन मण्डलको खेतमा जडान गरिएको पानी तान्ने पम्प खोलेर बस्तीमा ल्याए । उनीहरूका अभिभावकले तत्काल पानी तान्ने पम्प फिर्ता गर्न लगाए । त्यसपछि उनीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै खेतमै पु¥याइदिए ।

सप्तरी राजगढ गाउँपालिका–४ बेल्हीमा दलित युवालाई कुट्दै पञ्च ।

तर, अर्को दिन वडाध्यक्ष हेमनारायण साहको उपस्थितिमा उनीहरूलाई बाँसको छडीले ११–११ पटक हिर्काइयो । अनि अभिभावकहरूलाई दुई हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन लगाइयो । वडा कार्यालय अघिल्तिरको कृषि सेडमा राखिएको पञ्चायतीमा स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, बुद्धिजीवी पनि उपस्थित थिए । तीमध्ये कसैले उनीहरूलाई कुटपिट नगर्न भनेनन् । 

कथित पञ्चायतीमा १८ वर्षीय अर्जुन सदा, १४ वर्षीय जैनु सदा, १६ वर्षीय जिबछ सदा, १८ वर्षीय कन्तलाल सदा र १७ वर्षीय दुर्गे सदा सामूहिक रूपमा निर्घात पिटिए । कुटपिटपछि पनि उनीहरूलाई त्यत्तिकै छाडिएन, वडा कार्यालयमै थुनेर राखियो ।

उनीहरूमाथि कुटपिट र अभिभावकलाई जरिवाना तिराउने निर्णय पञ्चायतीले गरेको र आफ्नो संलग्नता नरहेको राजगढ–४ का वडाध्यक्ष हेमनारायण साहको दाबी छ । ‘जे भएको हो, समाजको निर्णय हो,’ उनी भन्छन् ।

ज्याला माग्दा दलित परिवारमाथि कुटपिट
काम गरेको ज्याला माग्दा धनुषा विदेह नगरपालिका–३ गोबराहीका सवाई दासको परिवारमाथि २३ भदौमा कुटपिट भयो । उनीहरूलाई स्थानीय हरि कुसियतका छोराहरू रोशन, बिटु र भतिजा दुर्गेशले निर्घात कुटपिट गरेका हुन् । अघिल्लो दिन काम गरेको ज्याला माग्न जाँदा उनीहरूलाई ज्यालाको साटो कुटपिट गरिएको थियो ।

कुटपिटबाट सवाईकी ४५ वर्षीय श्रीमती निलमदेवी दास, उनकी बुहारी, २४ वर्षीय भतिज रामशरण र भाइ रामभगत घाइते भए । निलमदेवीलाई उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना नै गर्नुप¥यो ।

काम गरेको ज्याला माग्दा पिटिएका धनुषा विदेह–३ गोबराहीका सवाई दासका परिवार उपचार गराउँदै ।

कुटपिट गर्नेहरूविरुद्ध दुहबी गोबराही प्रहरीचौकीमा निवेदन दिए पनि प्रहरीले लिन अनाकानी ग¥यो । दुहबी प्रहरीचौकीका सइ हिलमसिंह दनुवारले भने, ‘दुवै पक्षबीच ज्यालाका लागि विवाद भएको र कुटाकुट हुँदा दुवै पक्षका व्यक्ति घाइते भएका थिए । उहाँहरू गाउँमै मिलेको मैले जानकारी पाएको छु ।’ कुटपिट गर्नेले पीडितको उपचार खर्च बेहोरेको र माफी मागेपछि घटना गाउँमै मिलापत्र भएको उनको दाबी छ ।

शारीरिक सम्बन्ध राख्न नमान्दा दलित महिला पिटिइन्
आफूसँग शारीरिक सम्बन्ध राख्न नमानेपछि सिराहा कल्याणपुर नगरपालिका–११ का गान्धी साहले एक दलित महिलालाई निर्घात कुटपिट गरेका छन् । पीडित महिलाका अनुसार पाँच सय रुपैयाँ दिने प्रलोभन दिँदै साहले शारीरिक सम्बन्ध राख्न खोजेका थिए । आफूले नमानेकाले निर्घात कुटपिट गरेको उनले बताइन् ।

दलित अधिकारकर्मी सञ्जय महराका अनुसार दलित समुदाय त्यसविरुद्ध आन्दोलनमा उत्रिएपछि प्रहरीले साहलाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा चलायो । उनी धरौटीमा रिहा भएका छन् ।

सार्वजनिक पोखरीमा माछा मारेको आरोप सातजना मुसहरमाथि कुटपिट
सप्तरी छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीस्थित सार्वजनिक पोखरीमा वर्षात्का वेला माछा मारेको विषयलाई लिएर २७ भदौमा मुसहर समुदायमाथि स्थानीय बासिन्दाले कुटपिट गरे । कुटपिटबाट मुसहर समुदायका सातजना घाइते भएका थिए । कुटपिट गर्नेहरूविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेन । दलित सरोकार मञ्च नेपालका अध्यक्ष युक्तिलाल मरिकका अनुसार उपचार खर्च तिरेपछि घटना मिलापत्र भएको थियो ।

यस्तै, सप्तरी बोदेबर्साइन–१० अमरैयामा पाँचजना दलितमाथि २३ साउनमा सांघातिक आक्रमण गरियो । त्यसमा परी सरोज राम, रामदुलार राम, रामानन्द राम, जितेन राम, सुन्दर रामलगायत घाइते भए । आक्रमण गर्नेहरूमा रञ्जन यादव, शिवकुमार यादव, जितेन यादव, जितन यादव, चन्दन यादव, दलुवा यादवलगायत थिए ।

एकै परिवारका पाँचजना मुसहर कुटिए, दोषीलाई कारबाही भएन
सप्तरी खड्ग नगरपालिका–८ विष्णुपुरमा १९ असार राति एक मुसहर परिवारलाई घरमै पुगेर निर्घात कुटपिट गरियो । परिवारका पाँचजना घाइते भए । दुई साताअघि धान रोपेको खेतबाट चन्दर चौधरीको ट्रयाक्टर लैजान खोज्दा गंगा सदाका छोरा र भतिजाले रोकेका थिए । मुसहर भएर हाम्रो ट्रयाक्टर रोक्ने हिम्मत गर्ने भन्दै ट्रयाक्टरधनीले केही युवालाई रक्सी खुवाई राति करिब १० बजे गंगा सदाको घरमै गएर कुटपिट गर्न लगाएका थिए ।

कुटपिटबाट गंगा सदा, उनका भतिजा राकेश, भाइ विनोद, आमा बुचनीदेवी, भाइबुहारी सुरजीदेवी घाइते भएका थिए । गंगा सदा नेपाल राष्ट्रिय मुसहर संघका सल्लाहकार पनि हुन् । घाइतेमध्ये गंगाको टाउकोमा तीन तथा निरज र राकेशको आँखानजिक तीन टाँका लगाउनुपरेको थियो । बुचनी र सुरजीदेवीको शरीरभर चोट लागेको थियो ।

घटनाका मुख्य योजनाकार कौशल चौधरी र हरिदेव चौधरी रहेको पीडितले जानकारी दिए । इलाका प्रहरी कार्यालय, कल्याणपुरले दुई दिनसम्म घटनाबारे जिल्ला प्रहरीमा रिपोर्टिङसमेत गरेन । स्थानीय सञ्चारकर्मीले घटनाबारे खोजी गर्न थालेपछि मात्र जिल्ला प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण, पुनः आक्रमणको डरले महिलाद्वारा आत्महत्या
१९ साउनमा मोरङ बुढीगंगा गाउँपालिका–२ मुसहरी टोलमा बैजनाथ यादवले आफ्नो धाराको पानी निकास गर्न घरअगाडि सडकमा खनेको खाल्डोमा दुलारी ऋषिदेव लडेर घाइते हुँदा विवाद सुरु भयो । बैजनाथकी बुहारी पवन यादवसहितले दुलारीलाई धानखेतमा लछारपछार गरेर कुटपिट गरे । समाजको बैठकमा सडकमा खनेको खाल्डो पुर्ने र आइन्दा विवाद नगर्ने सहमति भयो ।

तर, दलित मुसहरले आफूलाई हेपेको भन्दै बैजनाथ यादवले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा त्यही राति विराटनगर जतुवाबाट रिक्सा र मोटरसाइकलमा हातहतियारसहितका गुन्डा बोलाई मुसहर बस्तीमा आक्रमण गराए । आक्रमणकारीलाई प्रहरीले विनाकारबाही छाडिदियो । फेरि आक्रमण हुने डरले उर्मिला ऋषिदेव (२४ वर्ष)ले आत्महत्या गरिन् ।

गैरदलितबाट कुटिएका दम्पती उपचार खर्च तिर्न नसक्दा दुई महिना बन्धक
वर्षायाममा दिना साहले बगाएको घरको पानीले झुपडी डुबानमा परेपछि सप्तरी अग्निसाइरन कृष्णासवरण गाउँपालिका–६ का शिवचन्द्र सदा दम्पतीले त्यसो नगर्न अनुरोध गरे । साह परिवारले उनीहरूलाई उल्टै कुटपिट गरे ।

छिमेकी दिना साहबाट कुटिएपछि घाइते सप्तरी अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ का शिवचन्द्र सदाकी पत्नी  मिलियादेवी । 

घाइते उनीहरू स्थानीय क्लिनिकमा गए । तर, स्वास्थ्यकर्मीले अस्पताल जान सुझाए । थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइयो । इलाका प्रहरी कार्यालय, कञ्चनरुपले आरोपित दीना साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि २३ साउनमा जिल्ला सरकारी वकिल कार्यालयको पत्रअनुसार साह रिहा भए । तर, उपचार खर्च आरोपितले बेहोर्ने आशामा बसेका सदा दम्पतीलाई अस्पतालले दुई महिना बन्धक बनायो । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि सदा दम्पती अस्पतालबाट मुक्त भएका थिए ।

अधिकारकर्मी हरिनन्द अम्बेडकर भन्छन्, राज्यसत्ता नै दलितविरुद्ध छ 
दलितहरूको सत्तामा पहुँच छैन । घटना हेर्दा व्यक्तिले गरेजस्तो लाग्छ । तर, त्यसो होइन, राज्यसत्ताको आडमा दलितमाथि हत्या, बलात्कार र कुटपिटका घटना भइरहेका छन् । मधेसमा अझै पनि मनुवादी कानुनबाट राज्य चलिरहेको छ । देशको संविधान र अन्तर्राष्ट्रिय कानुन सामाजिक कानुनको अगाडि फिका छ ।

प्रदेश–२ मा दलितहरूले प्रतिरोध पनि गरिरहेका छन् । तर, राज्यको निर्णायक ठाउँमा दलितको प्रतिनिधित्व नभएकाले घटनाका दोषी कारबाहीबाट उम्किरहेका छन् । राजनीतिक दल, प्रहरी र प्रशासन सबै मिलेका छन् । दलितको घटनामा दलितबाहेक सबै एक हुन्छन्, जसले दलितहरू अन्याय सहन बाध्य हुन्छन् । प्रहरीको भूमिका दलितप्रति धेरै नकारात्मक छ । दलितको कुरा प्रहरी सुन्नै चाहँदैन । कारबाही त टाढाको विषय हो ।

प्रदेश प्रहरी प्रवक्ता एसपी कृष्ण प्रसाईं भन्छन्, जाहेरी दिए कारबाही हुन्छ
दलितमाथि भएको कुटपिट घटनामा जाहेरी आयो भने कारबाही हुन्छ । तर, एकातर्फ कारबाहीका लागि मुद्दा दर्ता गर्ने, अर्कोतर्फ पञ्चायतीमार्फत बार्गेनिङ गर्ने काम हुन्छ । फेरि कुटपिट केस प्रहरीले हेर्नेभन्दा पनि सीधै अदालत जाने हो । अंगभंग भएको, घाउचोट लागेको भए प्रहरीले कारबाही गर्छ । फौजदारी मुद्दामा मिलापत्र गराउने कुरा आउँदैन । तर, देवानी मुद्दामा अदालतले पनि मिलापत्रलाई नै प्राथमिकता दिन्छ ।

७० वर्षीया नन्दनी सदा भन्छिन्, ‘पञ्चायतीले धर्म पनि लियो र धन पनि लियो, दुइटै सजाय नहुनुपर्ने हो’ हामी वर्षौँदेखि पीडित छौँ । पीडा सहनुपर्ने हाम्रो नियति नै बनेको छ । किशोरावस्थादेखि नै अन्याय, अत्याचारविरुद्ध हामी संघर्षमा छौँ । पञ्चायती शासनकालमा पनि हामी सदाहरूमाथि यस्तै दमन थियो, आज पनि उस्तै छ । हाम्रा लागि सत्य बोलिदिने कोही छैन÷भएन । आफैँले भोट दिएर जिताएका जनप्रतिनिधिसमेत सहारा नबनिदिँदा मन खिन्न हुन्छ । कसैले गल्ती गरेको छ भने कानुनी कारबाही हुनुपर्छ । तर, निर्घात कुटपिट गर्न पाइँदैन । पञ्चायतीले धर्म पनि लियो र धन पनि लियो, दुइटै सजाय नहुनुपर्ने हो । गाउँ–गाउँमा सरकार आएको भन्छन्, तर हामीले अनुभूति गर्न पाएका छैनौँ ।