निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १४ शुक्रबार
  • Friday, 30 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १६ आइतबार ०२:०७:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

अब स्वदेशमा रोजगारी गुमाएकाहरू पनि भारत पस्न सक्छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १६ आइतबार ०२:०७:००

डा. रत्नमणि नेपाल, अनुसन्धाता

लकडाउनको वेला घर फर्किएका नेपाली अहिले धमाधम भारत फर्किरहेका छन् । दसैँमा पनि यो क्रम रोकिएन, दसैँपछि त झन् सिमानामा भिड उर्लिएको छ, यो परिदृश्यले देशको कस्तो तस्बिर प्रस्तुत गर्दछ ?

एक किसिमले भन्ने हो भने यो कोरोनाकालभन्दा अघिदेखिकै प्रवृत्ति हो । ती नेपाली कामदार हिजो लकडाउनका वेला देश आए । चाडबाडसम्म जेनतेन बसे । अब फेरि जाँदै छन् । उनीहरू मौसमी कामदार हुन् । नेपालबाट भारतमा काम गर्न जाने अधिकांश नै मौसमी कामदार हुन् । चाडबाड या घरायसी गर्जो टार्न कामको खोजी गर्दै उनीहरू भारत पस्छन् । अनौपचारिक क्षेत्रमा काम गर्छन् । गाउँ फर्कन्छन् र पुनः भारत जान्छन् । 

अहिले कोरोनाकालको सन्दर्भमा भन्ने हो भनेचाहिँ यस्तो महामारीको समयमा पनि त्यो प्रवृत्तिमा परिवर्तन आएन भन्ने देखिन्छ । अर्कातिर कामदारहरूले जोखिम मोेलेको पनि देखिन्छ । केवल दुईछाक गुजाराका लागि । 

बृहत् ढंगले हेर्ने हो भने स्वदेशी श्रम बजार कमजोर भएका कारण यो परिदृश्य देखियो । नेपाली न त खेतीपातीमा नै अडिन सक्ने आधार भो, न रोजगारीका अन्य विकल्प । मेरो विचारमा त कोरोनाकालअघिका वर्षहरूमा भन्दा अबचाहिँ भारत जाने कामदारको संख्या बढी हुन सक्छ । किनभने नेपालका साना तथा मझौला उद्योग र अनौपचारिक क्षेत्रमा जसरी रोजगारी गुमेको छ त्यो हामीले तत्काल पूर्ति गर्न सकिने देखिँदैन । अब स्वदेशमा रोजगारी गुमाएकाहरू पनि भारत पस्न सक्छन् ।

अहिले हुलका हुल नेपाली श्रमिक ज्यानको बाजी थापेर भारततर्फ गइरहेका छन् । उनीहरूसँग योबाहेक अर्को विकल्प नेपालमै थियो कि थिएन ?

विकल्पचाहिँ थिएन नै । के गर्ने त उनीहरूले ? उद्योगहरूमा भएकै कामदारले रोजगारी गुमाएका छन् । खेतीपाती गर्न जमिन छैन, रहेछ नै भने पनि प्रतिस्पर्धात्मक बजार छ, सोबमोजिम राज्यको संरक्षण छैन । यता राज्यले लकडाउनका असरले देश फर्किने युवाहरूका लागि कागज र नारामा तयारी गरेजस्तो देखाए पनि संस्थागत र व्यावहारिक तयारी पनि गरेको थिएन । 

अहिले यत्रो भिडमा ठेलमठेल गर्दै भारत प्रवेश गरिरहेका नेपालीले भौतिक दूरी कायम गर्न असम्भव छ, संक्रमित भएमा उनीहरूले भारतमा उपचार पाउन कति सहज छ ?

भारतले आफ्नै नागरिकलाई उपचार पु¥याउन सकेको देखिँदैन । अबको एक–दुई महिनापछि भारत नै विश्वको नम्बर एक कोरोना संक्रमित हुने देश बन्लाजस्तो छ । सवा अर्ब मानिस छन् त्यहाँ । यो अवस्थामा बाहिरी देशका, त्यसमा पनि नेपालबाट जाने, त्यसमा पनि अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारले उपचार पाउलान् भनेर कमै मात्र विश्वास गर्न सकिन्छ । 

यस्तो अवस्थामा भारत जाने नेपालीको भविष्य कस्तो देख्नुहुन्छ ?

कोरोनाकाल नसकिँदै जो नेपाली भारतमा कामको खोजीमा गएका छन् तिनले उच्च जोखिम मोलेकै हुन् । यसले उनीहरूमा चरम गरिबीको अवस्था देखाउँछ । भोकले भन्दा रोगले मर्नु जाती भनेर हिँडेका हुन् जस्तो लाग्छ ।

उनीहरूको यो दुःखमा हाम्रो राज्य कहाँ छ ?

नागरिकलाई राज्य चाहिने नै यस्तै वेला हो । तर, दुर्भाग्य ! राज्य कुहिराको काग भएको छ । न देश फर्कनेले न त देशमै भएकाले दुवै समूहले राज्य भएको महसुस गर्न सकेनन् । मुख्य कुरा नेतृत्वमा संवेदनशीलता र जिम्मेवारीपना भएन– महामारीको अवस्थाअनुरूप ।

खासगरी मध्यपश्चिम र सुदूरपश्चिमका श्रमिक भारततर्फ पलायन भइरहेका छन्, यो समस्या यही क्षेत्रमा किन बढी छ ? यसलाई कसले सम्बोधन गर्न सक्थ्यो ?

सुदूरपश्चिम र मध्यपश्चिमका पनि पहाडी जिल्लाका मानिस बढी छन् । रोजगारीका परम्परागत र आधुनिक दुवैखाले स्रोत नहुनु नै यसको मुख्य कारण हो । यो त्यस क्षेत्रको भूमि व्यवस्था, कृषि सम्बन्ध र औद्योगीकरणको समस्या पनि हो । सुस्त सहरीकरण, कमजोर कृषि पूर्वाधार पनि कारण हुन सक्छन् । यसलाई सम्बोधन गर्न नै संघीयता अपनाइएको हो । सबै तहका सरकार यसमा जिम्मेवार छन् । अझ स्थानीय सरकारको भूमिका प्रमुख हुन्छ ।

कोभिड एउटा संकट हो, तर राष्ट्रिय आत्मनिर्भरता सिर्जना गर्न एउटा अवसर पनि हो भनिएको थियो, त्यो किन अवसर थियो, त्यसलाई कसरी सदुपयोग गर्न सकिन्थ्यो ? हामी फेरि कसरी चुक्यौँ ?

आजको वैश्विक युगमा राष्ट्रिय आत्मनिर्भरता भन्नुभन्दा अन्तरनिर्भरता भन्नुचाहिँ उपयुक्त हो । तर, हामी त्यसो भन्दैनौँ । जे भए पनि कोरोना महामारी एउटा अवसरचाहिँ थियो र अझै छ पनि । हामी देश फर्किने युवालाई विकासको राष्ट्रिय कार्यक्रममा समावेश गराउन सक्थ्यौँ । यो काम कृषि क्षेत्रबाटै सुरु गर्न सकिन्थ्यो । केही समयअघि हामीले गरेको एउटा अनुसन्धानमा पनि भारतबाट फर्केका केही कामदारले कृषि या अन्य कुनै क्षेत्रमा राज्यले काम दिए विदेश नफर्किने बताएका थिए । उनीहरूको सीप र जे–जति कमाएका थिए त्यो पैसालाई परिचालन गर्न सकिन्थ्यो– उत्पादनमूलक क्षेत्रमा । हाम्रो सेवा क्षेत्र र उद्योगमा समेत भारतबाट आएका कामदारको हिस्सा उल्लेख्य छ । विदेशमा सीप सिकेका युवालाई बिस्तारै ती क्षेत्रमा आबद्ध गराउन सकिन्थ्यो । स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान गरेर लगानी ल्याउन सकिन्थ्यो जहाँ विदेशबाट फर्किका कामदार आबद्ध हुन सक्थे ।

तर, त्यसका लागि मूल कुरा नेतृत्वमा नैतिक संकल्प चाहियो । विकल्पसहितका कार्यक्रम चाहियो । व्यापक सहमति जुटाउन सक्ने सोच र दृष्टिकोण चाहियो । त्यो हामीकहाँ भएन । आज मात्र होइन । हिजो पनि यो छैन । अर्को कुरा त विपत्ति या कुनै विशेष घटनाबाट सिक्ने क्षमता नेपाली राज्य या संस्थाहरूसँग ऐतिहासिक रूपमै छैन । दलियकरणले हाम्रो राज्य संयन्त्रहरू थङथिलो भएका छन् । यिनमा गतिशीलता नै छैन । कोरोनाकालमा पनि यो बौरिएन । यो हाम्रो दुर्भाग्य हो ।