१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o२:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मोबाइल एपबाट दसैँको चहलपहल ट्रयाकिङ : देशभरका ४७ स्थानीय तह कोरोनाको उच्च जोखिममा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o२:o१:oo

दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ ।

सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो । 

सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन । स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो । ‘दसैँमा त्यहाँ गएकालाई पनि फैलाउने र अन्तबाट आएकाहरूले पनि फैलने देखिएको छ,’ उनले भने । यी स्थानीय तह बढी जनसंख्या भएका क्षेत्र हुन् । 

जनसंख्या कम भएको ठाउँमा सीमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना भए पनि बढी जनसंख्या भएको ठाउँमा कसले कसलाई भेट्यो भन्ने थाहा नहुने चिकित्सकहरू बताउँछन् । अहिले काठमाडौंमा दैनिक केस बढ्नुको प्रमुख कारण पनि कसले कसलाई भेट्यो भनेर पत्ता लगाउन नसक्नु नै भएको चिकित्सकको भनाइ छ । 

डा. अधिकारीले काठमाडौं मात्रै नभएर बाहिरका हटस्पट भनेर सूचीकृत भएका ४७ ठाउँका नागरिकले विशेष ख्याल गर्नुपर्ने भएको बताए । ‘काठमाडौंजत्तिको सेवा–सुविधा ती क्षेत्रमा छैन, कोभिड संक्रमण काठमाडौंकै अनुपातमा बढ्ने देखिएको छ । त्यसैले स्वास्थ्यका मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आवश्यक छ,’ अधिकारीले भने । 

एक लाख ७० हजार नाघे संक्रमित

देशभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ । उनीहरूमध्ये एक लाख ३१ हजार दुई सय २२ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल देशभर ३८ हजार पाँच सय ८४ जना सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घन्टामा नौ हजार दुई सय ७९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा दुई हजार पाँच सय आठजनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, संक्रमणबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ सय ३७ पुगेको छ । 

कोरोना हेर्ने महाशाखाहरूको जिम्मेवारी खोसियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमातहत कोभिड– १९ हेर्ने जिम्मा पाएका महाशाखा तथा शाखाहरूको अधिकार खोसेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत अन्य क्षेत्रले गर्दै आएको काम अब मन्त्रालय आफैँले गर्ने भएको छ ।

काठमाडौंलगायत देशभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा जिम्मेवार निकायले काम गर्न नसकेको निष्कर्ष निकाल्दै स्वास्थ्य मन्त्रालयल आफैँले कोभिडको काम गर्ने भएको हो । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आइतबार यसको निर्णय हुनेछ । कोभिड हेर्ने जिम्मेवारी मन्त्रालयका १२औँ तहका विशेषज्ञलाई दिइनेछ । मन्त्रालयमा तीनजना १२औँ तह (प्रमुख विशेषज्ञ)को पद छ । उनीहरूलाई क्षेत्रगत रूपमा कार्यविभाजन गरी जिम्मेवारी तोकिने भएको छ । यसअघि कोभिडको काम गर्दै आएका निकायले भने विगतमा आफूले गरेका काम नियमित गर्ने भएका छन् ।

ad
ad