१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ कार्तिक १४ शुक्रबार १०:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दसैँमा अपराध : काठमाडौंमा चोरी र लुटपाटका ५१ घटना

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ कार्तिक १४ शुक्रबार १०:१५:००

घरेलु हिंसाका १६ घटना, बैंकिङ कसुरका ४४ मुद्दा

गुल्मी छत्रकोट–१ की विन्दु भण्डारी कोटेश्वरस्थित रामकृष्ण दाहालको घरमा डेरा बस्छिन् । दसैँ मान्न उनी ६ कात्तिकमा सपरिवार घर गइन् । डेरा सुनसान थियो । घर जाँदा उनले कोठामा लगाएको ताल्चाले चोरलाई छेकेन, उल्टै कोठामा कोही नभएको संकेत दियो । राति ताल्चा काटेर कोठामा पसेको चोरले दराज तोडी करिब साढे तीन लाख मूल्यका सुनका गहना चोरी गर्‍यो ।

यस्तै, उदयपुर बलम्पा–५ का राजीव चाम्लिङ ३ कात्तिकमा कपनस्थित सडकमा हिँडिरहेका थिए । पछाडिबाट हुइँकिँदै आएको मोटरसाइकल उनको नजिकै रोकियो । मोटरसाइकलबाट दुई युवा झरे । उनीहरूसँगै अन्य केही युवा पनि राजीवतर्फ बढे । युवाबाट घेरिएका राजीवले गुहार माग्न नपाउँदै हत्या गर्ने धम्की पाए । पर्समा दसैँका लागि तयार खर्च थियो । पर्स, मोबाइल, हातका औँलामा लगाइएको औँठी लुटेर युवा समूह बेपत्ता भयो । दिनदहाडै लुटिएका राजीव अक्क न बक्क बने ।

गोकर्णेश्वर–८ माकलबारीकी ३६ वर्षीया ज्ञानकुमारी गौतम ७ कात्तिक बिहान डेरामा ताल्चा लगाई आफन्तकहाँ गएकी थिइन्, साँझ मात्र डेरा फर्किन् । त्यतिवेलासम्म चोरले कोठाका बहुमूल्य सामान उठाइसकेको थियो ।

१२ दिनमा ५१ घटना
दसैँको समय (१–१२ कात्तिक)मा काठमाडौं उपत्यकामा मात्र चोरी र लुटपाटका ५१ वटा घटना भएका छन् । तीमध्ये काठमाडौंमा ३१, ललितपुरमा ११ र भक्तपुरमा नौवटा छन् । प्रहरीका अनुसार तीमध्ये थोरै घटनाको मात्र अनुसन्धान सकिएको छ । धेरैको अनुसन्धान जारी छ । चोरी तथा लुटपाटमा संलग्न अभियुक्तको खोजी भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सामेन्द्रसिंह राठौरले बताए ।

‘केही घटनाका अभियुक्त पक्राउ परेका छन् । बाँकी अनुसन्धानकै चरणमा रहेकाले पक्राउ गर्न सकिएको छैन,’ एसपी राठौरले भने, ‘चाडपर्व भएकाले अनुसन्धानमा केही ढिला भएको छ । तर, घटनामा संलग्न सबै पक्राउ पर्नेछन्।’

प्रहरीका अनुसार चाडपर्वमा चोरी र लुटपाटका घटना अन्य समयभन्दा बढी हुन्छन् । आर्थिक गतिविधि धेरै हुने भएकाले यतिवेला चोरी र लुटपाटका घटना बढ्ने प्रहरीको बुझाइ छ । ‘पर्वका वेला आर्थिक गतिविधि बढी हुने भएकाले आर्थिक अपराध बढी देखिन्छन्,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशील यादवले भने ।

दसैँमा बढ्यो घरेलु हिंसा
प्रहरी तथ्यांक केलाउँदा १२ दिनमा घरेलु हिंसा पनि अस्वाभाविक बढेको देखिन्छ । यस अवधिमा काठमाडौंमा मात्रै घरेलु हिंसाका १६ घटना भए । सबै घटनाको कारक भने मदिरा रहेको प्रहरीको भनाइ छ, जसबाट पीडित महिला र बालबालिका बढी छन् ।

कोरोना संकटले पनि घरेलु हिंसा बढाउन मद्दत पुर्‍याएको प्रहरीको भनाइ छ । ‘कोरोनाले अर्थतन्त्र ध्वस्त बनायो । मानिस बेरोजगार भए । र, त्यसबाट तनाव सिर्जना भयो,’ एसपी राठौरले भने, ‘तनाव कम गर्न मानिसले मदिराको सहारा लिन थाल्यो ।’ मदिराको नसामा उत्तेजित बनेका व्यक्ति घरेलु हिंसामा संलग्न पाइएको उनले बताए ।

१२ दिनमा ४७ को मृत्यु
प्रहरी तथ्यांकअनुसार १२ दिनमा काठमाडौं, ललितपुर र भक्तपुरमा १९ जनाले आत्महत्या गरेका छन् । तीमध्ये १६ जनाले झुन्डिएर आत्महत्या गरेका छन्, बाँकी तीनजनाले विष सेवन गरेका थिए । सोही अवधिमा तीन जिल्लामा भवितव्य ज्यानका २८ घटना भएका छन् ।

बैंकिङ कसुरका घटना पनि उस्तै
दसैँका १२ दिनमा उपत्यकाभित्र बैंकिङ कसुरसँग सम्बन्धित ४४ मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार तीमध्ये सबैभन्दा बढी मुद्दा काठमाडौंका छन् । त्यसपछि ललितपुर र भक्तपुरमा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । यसपटक जुवासँग सम्बन्धित अपराध भने कम देखिएको छ ।