
दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा संक्रमण राेकथाका लागि निर्धारित जनस्वास्थ्यकाे मापदण्ड पालना नगर्दा संक्रमण फेरि बढ्दै गएको छ ।
यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिहरूमा समेत कोरोना संक्रमण देखिन थालेको छ ।
१२ साउनमा जिल्ला पहिलोपटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै संक्रमित निको भएपछि दोस्रोपटक पुनः संक्रमण शून्य भएको थियो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको जस्तै व्यवहार गरिएकाले जोखिम उच्च हुन थालेकाे बताए । उनले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञा लगाउँदा आलोचना खेप्नुपरेको बताए ।
गएको चैतयता जुम्लामा संक्रमित हुनेको संख्या तीन सय ३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय संक्रमित रहेका छन् ।
यहाँका आठवटा स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
सदरमुकाम रहेकाे चन्दननाथ नगरपालिकामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसमेत सक्रमित भइरहेका छन् ।
दुई सय ८२ जना निको भएर घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
उनका अनुसार सक्रिय संक्रमित पाँचजना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा रहेका छन् ।
गएको चैत महिनादेखि यता यहाँका १० हजार सात सय ९२ जनाको आरटी पिसिआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना र मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रवेश गरेको प्रशासनको तथ्यांक छ ।
आइसियू १० बेड
यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसियू १० बेड मात्र रहेको छ ।
प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० रहेको जनाएको छ ।
त्यसैगरी यहाँका आठ स्थानीय तह र नेपाली सेनाका ब्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा चार सय ४५ बेडका आइसोलेसन सेन्टरहरू रहेको स्थानीय प्रशासनले जनाएको छ ।
थप आइसियू र भेन्टिलेटर कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।