१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
दीपक अधिकारी काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १२:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपल्लो डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:५५:oo

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदको समयमा हुन सक्ने खाद्यान्न संकटको खतरालाई मध्यनजर राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिक महिनाभित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो ।

उपल्लो डोल्पामा पर्ने से–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसाेङ गाउँपालिकामा कात्तिकभित्रै स्थलमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए ।

‘कोरोना भाइरसका कारण चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकामा खाद्यान्न लैजान चीनले भिसा दिएन, सोही कारणले हिउँदको समयमा उपल्लो डोल्पामा खाद्यान्न संकट पर्ने खतरा छ,’ प्रमुख बुढाले भने ।

‘उपल्लो डोल्पामा पर्ने खाद्यसंकटलाई मध्यनजर राख्दै कात्तिकभित्र खाद्यान्न ढुवानीका लागि संघीय सरकार, प्रदेश सरकार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयलगायतका सम्बन्धित निकायलाई अनुरोध गर्ने बैठकबाट निर्णय भएको छ,’ बुढाले भने, ‘हिउँदको समयमा उपल्लो डोल्पामा भारी हिमपात हुने भएकाले सोही समयमा हवाई मार्गबाहेक स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्न सम्भव छैन, सोही कारणले तत्काल खाद्यान्न ढुवानी गर्न अनुरोध गर्ने निर्णय गरिएको हो ।’ 

कोरोना भाइरसका कारण मुख्य आम्दानीको स्रोतको रूपमा रहेको यार्सागुम्बा टिप्न नपाउनुका साथै ठेकेदारले चिनियाँ मार्ग हुँदै चामल, नुनलगायतका सहुलियतको खाद्यान्न ढुवानीका लागि भिसा नपाएपछि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।

सहुलियत मूल्यमा पाइने सरकारी चामल नगएपछि तीस किलोको ६ हजार तिरेर खोजीखोजी बजारिया चामल प्रयोग गर्न बाध्य भएको उपल्लो डोल्पालीको गुनासो छ । खाद्यान्नसँगै आर्थिक संकट परेपछि स्थानीय साहुबाट ३६ प्रतिशतमा ऋण खाेजेर चामल किनेर खाने गरेको उपल्लो डोल्पामा पर्ने धो गाउँका स्थानीयले बताए ।

ad
ad