मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १५ बुधबार
  • Wednesday, 01 December, 2021
तस्बिर : अमुल थापा, दीपेन्द्र ढुंगाना
२०७७ कार्तिक ७ शुक्रबार ०९:२५:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बढ्यो चंगाको व्यापार

कोरोनाले धेरै व्यापार व्यवसायमा असर गरे पनि दसैँका वेला फस्टायो चंगा व्यवसाय, पसलेलाई माग पूरा गर्न हम्मे

Read Time : > 3 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार ०९:२५:००

नेपालीको महान् चाड बडा दसैँ सुरु भइसकेको छ । सानादेखि ठूलासम्मले हर्षोल्लास रूपमा मनाउने दसैँ रमाइलो चाड हो । दसैँको आफ्नो विशेषता त छँदै छ, त्यसमा पनि योवेला चंगा उडाउनुको मज्जा नै बेग्लै हुन्छ । आकाशमा रंगीबिरंगी चंगा उडेको देखेपछि सबैले दसैँ आउँदै छ भन्ने महसुस गर्छन् । विगतमा असोज महिनामा आकाशमा चंगा उडेको देखिन्थ्यो । तर, यसपटक पुरुषोत्तम महिना परेकाले दसैँ एक महिनापछि धकेलिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण मानिसहरू घरबाहिर ननिस्के पनि चंगा उडाउन भने रोकिएको छैन । कोरोनाले गर्दा काठमाडौं उपत्यकामा चंगा व्यवसाय फस्टाएको छ । विगतमा भन्दा यो वर्ष चंगाको व्यापार अस्वाभाविक रूपमा बढेको व्यवसायी बताउँछन् । पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ । बिहानदेखि साँझसम्म उपत्यकाका हरेक चंगा पसलमा ग्राहकको भिड देखिन्छ । घटस्थापनादेखि चंगा व्यापार बढेको व्यवसायीको भनाइ छ । 

काष्ठमण्डपबाट केही पर अट्को नारायणस्थानमा ५० वर्षदेखि चंगा व्यवसाय गर्दै आएका प्रतापमान श्रेष्ठ कोभिडकै कारण चंगाको व्यापार राम्रो भएको बताउँछन् । धेरै वर्षपछि चंगा बिक्रीमा आफू व्यस्त भएको अनुभव उनले गरेका छन् । ‘धेरै वर्ष भयो, दसैँको समयमै चंगा व्यवसाय त्यति चलेन, तर यसपटक सोचेभन्दा धेरै राम्रो भइरहेको छ,’ श्रेष्ठ भन्छन् । औसतमा दैनिक आम्दानी १५ देखि २५ हजार रुपैयाँ हुने गरेको उनले बताए ।

‘पहिले पहिले स्कुल, कलेज र निजी अफिस खुल्थे, अहिले कोरोनाका कारण सबै बन्द छन्, विद्यार्थीदेखि कर्मचारीसम्म घरमै छन्, रमाइलो गर्न पनि उनीहरूले चंगा उडाउने गरेका छन्, चंगा उडाउनेको संख्या बढ्नुको कारण यो पनि हो,’ श्रेष्ठ भन्छन्, ‘चंगा उडानमा अधिकांश युवा आकर्षित भएको देखिएको छ ।’ दुई–तीन दशकअघिसम्म पनि नेपालमा माझ राखी चंगा उडाउने चलन थियो ।

अहिले ग्राहकको रोजाइ रेडिमेट धागो नै छ । उनी भन्छन्, ‘पहिला माझ राख्ने चलन थियो, यो धेरै झन्झटको काम थियो, अहिले सबै रेडिमेट माझ भएको धागो नै किन्ने गर्छन् ।’ काठमाडौं उपत्यकामा अधिकांश चंगा पसलमा राखिएका धागो भारतबाटै आयातीत हुने गर्छ । कोलकाता, राजस्थान, लखनउ, पटना, जयपुर, रक्सौलका रेडिमेट धागो राम्रो मानिन्छ । 
०००
अट्कोनारायणमा मात्र होइन, काठमाडौंको मुख्य खुद्रा व्यापार हुने असनका चंगा पसल पनि भरिभराउ छन् । असनका धेरैजसो पसल खुद्रा भए पनि दसैँको समयमा सँगै चंगा व्यवसाय गर्छन् । तीन पुस्तादेखि खुद्रा व्यापारमा संलग्न अनाररत्न तुलाधारले यसपटक चंगाको व्यापार अत्यन्तै राम्रो भएको बताए । ‘अहिले हरेक दिन औसतमा १० हजारको व्यापार हुने गरेको छ,’ ग्राहकलाई रेडिमेड धागो देखाउँदै तुलाधरले भने, ‘अहिले दुई सयदेखि दुई हजार रुपैयाँसम्म मिटरको मूल्य छ, ग्राहकहरू बढी मूल्यकै लिन रुचाउँछन् ।’ उनको पसलमा सेतो, रातो, हरियो, गुलाबी, सुन्तला रंगका सानादेखि ठूला आकारका चंगा र लट्टाई झुन्डाइएको छ । 

 

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । चंगा उडाउने पारखीलाई डाइमन्ड, टाइगर, पान्डा, फाइभ, टिपु सुल्तान, १२ तार, १६ तार र माकालका धागो नै किन्ने गरेको तुलाधार बताउँछन् । त्यौडका रमेश महर्जन साँझसम्म पनि ग्राहकलाई धागोको जानकारी दिँदै व्यस्त देखिन्थे । विगतमा दसैँको समयमा औसत व्यापार हुने गरेको अनुभव उनले सुनाए । ‘यो दश वर्षको बीचमा यसपटकजस्तो चंगाको राम्रो व्यापार अनुभव गरिनँ,’ महर्जन भन्छन्, ‘पहिले चंगा उडाउने समयमा कलेज वा अफिस जानुपथ्र्यो, फूलपातीदेखि मात्र बिदा पाउँथे, यो वर्ष कोभिडले सबै घरमा छन्, युवाजति सबै घरमै भएकाले चंगा उडाउने संख्या बढेको जस्तो लाग्छ ।’ 

भारतीय प्लास्टिकको चंगाप्रति चंगा पारखी आकर्षित हुनुको एउटै कारण हो, नेपालमै बनाइने चंगा महँगो हुनु । नेपाली कागजले बनेको चंगा महँगो पर्ने गाःबहालका रामकृष्ण ताम्राकार बताउँछन् । ‘सानो आकारको नेपाली कागजले बनेको चंगाको मूल्य एक सय रुपैयाँ पर्छ, भारतबाट आएको प्लास्टिकको चंगा उति नै मूल्यमा ठूलो साइजको पाइन्छ ।’ 

दसैँताका घरको छत र खुला चौर वा स्थानमा बसेर चंगा उडाउने परम्परा छ । घरबाट टाढासम्म चर्को स्वरमा ‘चंगा चेट’ भनी कराउँदा निकै रमाइलो महसुस हुने बागबजारका रमेश तण्डुकार सुनाउँछन् । कोरोनाका कारण सात महिनादेखि घरमै बसेका तण्डुकारले यसपटक बाल्यकालमै जस्तै चंगा उडाएर रमाइलो गर्ने योजना बनाएका छन् । स्कुल जीवनमा पत्रिकाको चंगामा लामो पुच्छर राखेर उडाउने गरेको उनलाई सम्झना छ ।

कलेजपछि अफिसको जिम्मेवारीले चंगा उडाउन त्यति समय नपाएको उनी बताउँछन् । ‘पहिलेपहिले आफैँले बनाएका चंगामा रिल वा पत्रिकाको लामो पुच्छर राखिन्थ्यो, कार्यव्यस्तताले त्यस किसिमको रमाइलो गर्न पाइएन, कोरोनाले योपटक फुर्सद धेरै छ,’ ४८ वर्षीय तण्डुकारले भने, ‘यसपटक दुई महिनाअघि नै आकासमा चंगा देखेँ, सानो छँदा साथीहरूको घरमा जाने र ठूलो आवाजमा म्युजिक बजाएर चंगा उडाएको क्षण याद आयो ।’

चंगा उडाउनुको अर्थ
चंगा नेपालमा मात्र नभएर विभिन्न देशमा उडाइन्छ । नेपालमा भने दसैँमा परिवार तथा साथीभाइसँग रमाइलो गर्न उडाइन्छ । तर, नेपालमा चंगा उडाउनुको अर्थ बेग्लै छ । इन्द्रलाई सहकाल देवता भनिन्छ । धान भित्र्याउने समयमा पानी नपार्न इन्द्रलाई सन्देश पठाउन नै चंगा उडाउने गरेको लोककथा र किंवदन्ती छ । शरद ऋतुको समयमा धान पाक्ने र भित्र्याउने समय भएकाले नै वर्षात्का राजा इन्द्रलाई अब पानी पुग्यो भनी सूचना दिन चंगा उडाएर पठाउने जनविश्वास छ । दसैँको समयमा चंगा उडाउँदा पानी नपर्ने विश्वास अहिले पनि छ । 

चंगाको इतिहास र महत्व
चंगाको इतिहास निकै पुरानो छ । इतिहासकारका अनुसार चंगाको उत्पत्ति चीनमा भएको हो । इसापूर्व तेस्रो शताब्दीमै चीनमा चंगा उडाइन्थ्यो । चिनियाँ दार्शनिक हुआङ थेगले विश्वकै पहिलो चंगा आविष्कार गरेका थिए । त्यसवेला चीनमा चंगा उडाउनुलाई निकै शुभकार्यका रूपमा लिइन्थ्यो । दक्षिण कोरियामा बच्चाको नाम र जन्ममिति लेखेर चंगा उडाइन्छ । जापानमा प्रत्येक नयाँ वर्षको पहिलो सूर्य किरणसँगै शुुभदिन प्रारम्भ भएको सम्झेर चंगा उडाउने चलन छ । श्रीलंका र थाइल्यान्डमा स्वर्ण र पृथ्वीको सम्पर्क गराउने माध्यम चंगा नै भएको मान्यता छ ।