मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०५:२०:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : महामारीबीच  दसैँको शुभकामना !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०५:२०:००

देश कोरोनाको कहरले रन्थनिँदै गरेको वेला दसैँ आएको छ । दसैँ सामान्यतया नेपालको सबै समुदायलाई प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित गर्ने एउटै चाड हो । जो–जो दसैँ मान्छन्, तिनलाई यसले लपेट्छ । जो–जो मान्दैनन्, तिनलाई पनि राज्यको नीति र बजारले आफ्नो प्रभावमा पारिहाल्छ । झन्डै कोही अछुतो रहन्न । तर, यसपालि दसैँ पहिलेजस्तो उल्लास र उमंग या विभिन्न ढंगले बढ्दै गएको घुमफिर संस्कृति लिएर आएन । कोरोनाका कारण हजारौँ परिवार समस्यामा छन् । अहिले नै ४५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । झन्डै आठ सयको ज्यान गइसकेको छ । दुई सयभन्दा बढी आइसियूमा जीवनका लागि संघर्षरत छन् र एक सयजति त भेन्टिलेटरमा छन् । 

यता, संक्रमणको दर फैलँदो छ । दसैँमा धेरै मानिसको सहरबाट गाउँतिर आवत–जावत हुँदा संक्रमण झन् विस्तार हुने भय बढेको छ । यसै पनि सरकारले कोरोना उपचारबाट हात झिक्न खोजेको सन्देश र संक्रमणको भय लिएर दसैँ मनाउनु सहज कुरा होइन । त्यसमाथि बढेको महँगी छँदैछ । भान्सामा सामान्य आयस्ताका भरमा व्यवस्थापन गर्नुपर्ने परिवारले सहज रूपमा दसैँ मनाउन सक्नेछैनन् । कोरोनाका कारण भएको लकडाउन र व्यापार व्यवसायमा आएको मन्दीका कारण कतिपय मध्यमवर्गीय परिवारको दसैँ पनि खल्लो नै हुनेछ । मानिसले भौतिक दूरी कायम गर्नुपर्ने भएपछि गाउँ–सहर कतै पनि एक–आपसको भेटघाट र रामरमिता हुने भएन । यसैले यसपालि दसैँ आयो, तर यो नितान्त एकाघरको पारिवारिक पर्वका रूपमा मात्र आयो, समाजलाई जोड्ने पर्वका रूपमा होइन । 

चाडबाड मनाउँदा कोरोनालाई नहेपौँ । यो महामारी हो, व्यथाले च्यापेर, अप्ठेरो भएर पनि अस्पतालमा आइसियू या भेन्टिलेटरसमेत नपाउँदाका दुःख, मृतक आफन्तको परम्परागत रूपमा सतगत गर्न नपाउँदाको पीडा सम्झेर पनि दसैँमा सतर्क बनौँ ।

जे–जस्तो भए पनि, जसरी मनाए पनि दसैँ मनाउने सबै ठाउँका नेपालीलाई दसैँको उपलक्ष्यमा हार्दिक शुभकामना ! दसैँका अवसरमा कतिपय बाध्यताले र कतिपय पर्व मनाउन तथा वर्षभरको तनाव भुल्ने उपायकै रूपमा लिएर पनि पारिवारिक, सामाजिक भेटघाट गर्ने, बजारमा किनमेल गर्ने पक्का छ । सहरबाट गाउँ फर्कने क्रम बढिरहेको छ । बजारमा थोरै भए पनि अत्यावश्यक सामानको खरिद भइरहेको छ । यस्तो समयमा कोरोनालाई बेवास्ता गरेर भौतिक दूरी कायम गर्नेतिर ध्यान नदिँदा, मास्क नलगाउँदा तथा आफन्तसँग भेटिहालौँ न भनेर नजिक जाँदा कोरोना सर्ने जोखिम उच्च रहन्छ । सार्वजनिक सवारीमा होस् वा भीडभाडमा, एकजनाले तीन–चारजनालाई कोरोना सार्ने जोखिम हुन्छ । सार्नेलाई सार्दै छु भन्ने थाहा नहुन सक्छ, सर्नेलाई सर्छ भन्ने ज्ञान नहुन पनि सक्छ । 

यस्तो भयो भने आउने महिना नेपालमा कोरोना महामारी कसैले पनि थेग्न नसक्ने गरी फैलन सक्छ । यसतर्फ दसैँ मनाउने सबै सतर्क र सजग हुनु आवश्यक छ । आफन्तहरू रोगले संक्रमित भएर पनि उपचार नपाउने अवस्थाको कल्पना निकै भयावह हुन्छ । त्यसैले चाडबाड मनाउँदा कोरोनालाई नहेपौँ । यो महामारी हो, व्यथाले च्यापेर, अप्ठेरो भएर पनि अस्पतालमा आइसियू या भेन्टिलेटरसमेत नपाउँदाको दुःख, मृतक आफन्तको परम्परागत रूपमा सतगत गर्न नपाउँदाको पीडा सम्झेर पनि दसैँमा सतर्क बनौँ । भौतिक दूरी कायम गर्दै टाढैबाट भेटघाट र आशीर्वाद लिँदै दसैँलाई मात्र होइन, कोरोनालाई पनि बिदा गरौँ ।