१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ जेठ १ मंगलबार o५:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुरक्षाकर्मीको ड्युटीमै दसैँ : कोरोनामा खटिँदा दिने भनेको विशेष भत्ता दसैँमा पनि आएन

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:o४:oo

कोरोना महामारीका कारण आठ महिनादेखि बिदा बस्न नपाएका सुरक्षाकर्मी दसैँमा पनि ड्युटीमै, तर कोरोनामा खटिँदा दिने भनेको विशेष भत्ता दसैँमा पनि आएन

लकडाउन सुरु हुँदा ट्राफिक प्रहरी विक्रमसिंह ठकुरीको ड्युटी गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा थियो । तीन महिनापछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनको सरुवा सिंहदरबारभित्र गर्‍यो । भिभिआइपीको यातायात सुरक्षामा खटिनुपर्ने भएकाले कोरोना संक्रमणबाट बच्नुपर्ने उर्दीसँगै बग्गीखानास्थित महाशाखाको ब्यारेकमा बसिरहेका सिंहले छुट्टै कोठा खोज्नुपर्ने भयो । 

त्यतिवेला सरकारले फ्रन्टलाइनमा खटिने राष्ट्रसेवकका लागि विशेष भत्ता दिने खबर पाए, अखबार र आफ्ना कमामन्डरमार्फत । त्यस खबरले हौसिएका उनले प्रतिमहिना आठ हजार रुपैयाँ तिर्ने गेस्टहाउसको कोठा बुक गरे । पाँच महिनादेखि उनी त्यही कोठामा बस्दै आएका छन् । तर, सरकारले दिने भनेको विशेष भत्ता अझै उनको बैंक खातामा झरेको छैन । ‘भिभिआइपीको सुरक्षाका लागि कोरोनाबाट बच्नुपर्ने भएकाले ब्यारेक छोडेर कोठोमा बस्नुपर्ने भयो । हिसाब गर्दा कोठाभन्दा गेस्टहाउस नै सस्तो देखिएपछि रुम बुक गरेँ,’ ट्राफिक प्रहरी सिंहले भने, ‘सरकारबाट दिने भत्ताले गेस्टहाउसको भाडा तिर्ने योजना थियो, तर अहिलेसम्म आएन । तैपनि ड्युटी गर्न छाड्नु पनि भएन ।’

सुन्धारास्थित व्यस्त सडकमा सिट्ठी फुक्दै गरेको अवस्थामा भेटिए, अर्का ट्राफिक प्रहरी जवान भेषराज आचार्य । खोटाङ दिक्तेल– १ उर्लेनीका उनी घर जाने योजना बनाउँदै थिए, लकडाउन सुरु भयो । त्यसपछि घर जानु त पाएनन् नै ड्युटी झन् बढ्यो । आठ महिनादेखि दैनिक १५ घन्टा ड्युटीमा खटिएका उनले दसैँमा पनि बिदा पाएका छैनन् । बिदा नबसी खटिँदा सरकारले दिने भनेको विशेष भत्ता पनि पाएका छैनन् । आधा अनुहार ढाकिएको मास्क फुकाल्दै आचार्यले भने, ‘लकडाउनले घर जाने योजना त्यतिकै खेर गयो, वर्ष दिन भयो छुट्टी पनि लिएको छैन । झन् कोरोनाले दसैँमा पनि बिदा मिलेन ।’

व्यस्त रामशाहपथको ६ घन्टे ड्युटी सकेर बग्गीखानास्थित ट्राफिक महाशाखा भित्रिँदै थिइन्, ट्राफिक प्रहरी जवान खगमाया सिवाकोटी । झापा बिर्तामोडस्थित चारपानेकी सिवाकोटीले पनि लकडाउन भएयता छुट्टी लिएकी छैनन् । उनले दसैैँमा घर जाने योजना बनाएकी थिइन् । तर, कोरोनाका कारण बिदा नपाउने भएपछि यस वर्ष दसैँमा घर आउँदिनँ भनेर फोन गरिसकेकी छिन् । कोरोनाका कारण दैनिक १६ घन्टा सडकमा खटिँदै आएकी उनले सरकारले दिने भनेको विशेष भत्ता अहिलेसम्म पाएकी छैनन् । तैपनि प्रशन्न देखिएकी सिवाकोटीले भनिन्, ‘भत्ता मिलेन भन्दैमा ड्युटी गर्न छाड्नुभएन् । सुरक्षाकर्मीको ड्युटी भनेकै अप्ठ्यारोकै लागि हो । त्यसैले दसैँमा ड्युटीमा खटिनुपर्दा पनि खुसी नै छौँ ।’

त्यस्तै, सुन्धरामा खटिएका प्रहरी हवल्दार दानसिंह धामीको पनि दसैँमा उस्तै खटाइ छ । खिचापोखरीबाट सुन्धरातर्फ आउँदै गरेका अव्यवस्थित भिड व्यवस्थापनमा जुटेका उनी छातीमा टाँगिएको वाकीटकीमार्फत घरि मातहतका प्रहरीलाई निर्देशन दिन्थे, घरि सिट्ठी फुकेर भिडलाई अघि बढ्न निर्देशन दिन्थे । लकडाउन कार्यान्वयनमा सडकमा उत्रिएका उनको ड्युटी असोजयता भिड व्यवस्थापनमा छ । कोरोना संक्रमणको डरबीच दैनिक १६ घन्टा खटिँदै आएका उनी यो दसैँमा पनि घर जान नपाउने भएका छन् । लकडाउनमा पनि घर जान नपाएर सडकमा खटिएका उनी भने विशेष भत्ता पाउनेमा आशावादी छैन । ‘कोरोना भत्ता दिने भनेको सुन्दा उत्साहित भएको थिएँ । आठ महिना बित्यो, केही पाइएको छैन । अहिले त चर्चा नै हुन छाड्यो, अब के पाइएला,’ उनी भन्छन् । 

यस्तो वेला दिने भत्ताले काम खटिने सुरक्षाकर्मीको मनोबल बढ्ने बताउँछन् अर्का प्रहरी हवल्दार सोमबहादुर थापा । असन बजारको भिडबीच गस्ती टोलीसँगै भेटिएका उनी लकडाउनमा बिदा बसेकाले अब चाडपर्वमा घर जान पाइला भन्ने सोचेका छैनन् । गोरखाको सहिद लखन गाउँपालिका–७ रानीसराका थापाले दसैँ, तिहार र छठमा बिदाका लागि नसोचेरै ड्युटीमा खटिने मुड बनाएको बताए । ‘घरमा जरुरी काम थियो, त्यसैले लकडाउनमा बिदा बसेँ । तर, मसँगै हिँड्ने साथीहरूले ११ महिनादेखि बिदा पाएका छैनन् । कोरोनाले गर्दा अब दसैँमा पनि नपाउने भएँ,’ आफूसँगै गस्तीमा रहेका ११ जना प्रहरी देखाउँदै हवल्दार थापाले भने, ‘यस्तो वेला घोषणा भएको भत्ता आएमा मनोबल उच्च बढ्छ नै । तर, भत्ता नआउँदैमा ड्युटी गर्न छाड्ने भन्ने त हुँदैन ।’ 

कोराना महामारीबीच सुरु भएका चाडपर्वमा सुरक्षा प्रबन्ध मिलाउने प्रहरीका कमान्डरलाई पनि कम सास्ती छैन । दैनिक १८ घन्टे कडा ड्युटीमा खटिँदै आएका छन् । राजधानीमा चोरी, डकैती र लुटपाटका घटना कहीँ न कतै प्रत्येक दिनजसो भइरहेका हुन्छन् । अझ दसैँ–तिहारमा त जुवा खेल्ने र मादक पदार्थ सेवन गरी शान्ति सुरक्षा बिथोल्ने पनि उत्तिकै छन् । गम्भीर अपराध हुन नदिने जिम्मेवारी एकातर्फ छ भने चाडपर्वमा झन् सतर्क हुनुपर्छ । ‘सहरमा भएका सानोभन्दा सानो घटनाको सूचना कमान्डरलाई नै आउने गर्छ । इग्नोर गर्ने कुरो भएन । त्यसो हुँदा चौबिसै घन्टा अलर्ट रहनुपर्छ । दसैँजस्तो पर्वमा त व्यस्तताको झन् सीमा नै रहँदैन,’ राजधानीको सुरक्षा प्रबन्ध मिलाउने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भने । 

उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने सुरक्षाकर्मीको घर नै संगठन भएकाले दसैँ, तिहार, छठजस्ता पर्वमा छुट्टी नपाउँदा खासै चित्त नदुख्ने बताउँछन् । पर्वका बखत हुने सबै गतिविधि संगठनभित्रै हुने भएका हुँदा घर वा ड्युटीमा हुँदा खासै फरक नपर्ने उनको भनाइ छ । ‘पहिलो ड्युटी त सुरक्षा नै हो । त्यसबाट बचेको समयमा हामी संगठनभित्रै पर्व मनाउँछौँ । घरमा झैँ यहाँ पनि टीका लगाउँछौँ । देउसी–भैलो खेल्छौँ । मिठो–मसिनो खाना यहाँ पनि पाक्छ,’ एसएसपी ढकालले भन्छन्, ‘संगठन परिवार हो । त्यसैले परिवारबाट टाढा छु भन्ने महसुस हुन नदिन घरमा जस्तै यहाँ पनि पर्व मनाउँछौँ ।’

ad
ad