१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक ६ बिहीबार ०८:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रहरी हत्या घटनामा थप एकजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार ०८:०२:००

तस्कर समूहद्वारा दुई प्रहरीको हत्या घटनामा थप एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– १० का २० वर्षीय रोहित रानालाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतीक विष्टले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न भनिएका सातजनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनीहरूले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । घटनामा थप अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।

धनगढी उपमहानगरपालिका– १२ स्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असइ गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदलाई तस्करको समूहले शनिबार राति हत्या गरेको थियो । धनगढी–१० को बनकट्टीघाटबाट शनिबार राति मटर तस्करी भइरहेका वेला नियन्त्रणमा लिन खोज्दा तस्करको समूहले दुवैजनाको हत्या गरेको थियो । 

प्रहरी जवान साउदको अन्त्येष्टि
तस्करी नियन्त्रणका क्रममा मारिएका प्रहरी जवान साउदको उच्च सम्मानका साथ अछामको कैलाश खोलामा बुधबार अन्त्येष्टि गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी योगेन्द्र थापाले साउदको पार्थिव शरीरमा झन्डा ओढाएका थिए ।

यस्तै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका असइ विकका परिवारलाई भेटेका छन् । पुनर्वासस्थित विकको घरमै गएर पीडित परिवारलाई भेटेका मन्त्री बोहराले हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए । तस्करी नियन्त्रणका क्रममा ज्यान दिएका प्रहरीको योगदानको उच्च सम्मान गर्दै प्रदेश सरकारले आश्रित परिवारका लागि राहतको कार्यक्रम ल्याउने आश्वासन मन्त्री बोहराले दिए ।