
समाज दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । समाजमा विद्यमान सामाजिक, सांस्कृतिक, राजनीतिक, प्राविधिक एवं आर्थिक सम्बन्धको सूक्ष्म एवं बृहत् तहको परिवर्तनसँगै मानिसले आफ्नो नितान्त व्यक्तिगत जीवनसमेत विभिन्न समस्या र परिबन्धको शृंखलामा परिरहेको महसुस गर्न थालेका छन् ।
यसको मुख्य कारण परिवर्तनशीलता हो । परिवर्तनको समग्र अध्ययन सामाजिक विज्ञानको केन्द्रीय पक्ष हो । सामाजिक विज्ञानमा परिवर्तनको अवधारणालाई निकै महत्वका साथ बुझ्ने र विश्लेषण गर्ने गरिन्छ । सामाजिक परिवर्तनको समाजशास्त्रीय बुझाइ खासगरी दुईवटा फरक र महत्वपूर्ण तर्कमा आधारित रहेको पाइन्छ ।
प्रकार्यवादीहरू सामाजिक परिवर्तनलाई आधुनिकीकरणका रूपमा बुझ्छन् । मार्क्सवादी तथा राजनीतिक अर्थशास्त्री यसलाई वर्गीय सम्बन्धको परिवर्तित स्वरूपको रूपमा व्याख्या गर्छन् । यद्यपि, सामाजिक परिवर्तनको प्रक्रियासँगै निर्माण र विनिर्माण हुने, गठन र पुनर्गठन हुने सांस्कृतिक, आर्थिक, राजनीतिक तथा धार्मिक सम्बन्ध कसरी व्यक्ति, समाज, इतिहास र विश्वमा भएका परिवर्तनसँग परस्पर गाँसिएका वा अन्तरनिर्भर छन् भन्ने सैद्धान्तिक एवं समाजशास्त्रीय विश्लेषण यस लेखको मुख्य ध्येय हो ।
व्यक्ति र समाज : सामाजिक संरचनाका विभिन्न घटकमध्ये व्यक्ति मुख्य हो । व्यक्तिका बीचमा हुने आपसी सम्बन्ध र अन्तरक्रियाकै कारण सामाजिक व्यवस्था अस्तित्वमा रहन्छ । सामाजिक व्यवस्था सामाजिक सम्बन्धको जालो हो । समाजशास्त्री कुलेका अनुसार व्यक्ति र समाज एक–अर्काका परिपूरक, अविच्छिन्न प्रघटक हुन् ।
यी सधैँ जुम्ल्याहा प्रकृतिका हुन्छन् । समाज र व्यक्तिले फरक–फरक पृष्ठभूमिको प्रतिनिधित्व गर्न सक्दैनन्, बरु एउटै पृष्ठभूमिका सामूहिक अन्तरसम्बन्धको प्रतिनिधित्व गर्छन् । कुनै व्यक्तिको सामाजिकताको विकास अन्य व्यक्तिसँगको सामीप्य, उठ–बस र अन्तरक्रियाको क्रममा हुने कुरालाई जोड दिन्छन् । व्यक्तिको छुट्टै किसिमको खास अस्तित्व हुँदैन । म भन्ने भावनाको अस्तित्व त्यतिवेला मात्र हुन्छ, जतिवेला म भन्ने व्यक्तिसँग तिमी, ऊ र तिनीहरूसँगको सम्बन्ध पूर्ण रूपमा हुन्छ ।
व्यक्ति र समाज दुवैलाई नबुझेसम्म न त व्यक्तिको जीवनलाई बुझ्न सकिन्छ, न त समाजको इतिहास नै । व्यक्तिका हरेक इच्छा र चाहना नितान्त व्यक्तिगत हुँदाहुँदै पनि यी सबै सामाजिक तथा सांस्कृतिक रूपले निर्माण र पुनर्निर्माण भइरहेका हुन्छन् ।
व्यक्ति र समाजबीचको अन्योन्याश्रित सम्बन्धकै कारण व्यक्तिगत समस्या वा झमेला पनि सार्वजनिक चासो र सवालका रूपमा प्रकट हुने गर्छन् । व्यक्तिको दैनिक जीवनमा आइपर्ने हरेक समस्या र जटिलताका पछाडि समाज र सम्पूर्ण विश्व संरचना जिम्मेवार हुन्छ । पार्सनका अनुसार सामाजिक संरचना एउटा यस्तो विशिष्ट क्रमबद्धता हो, जहाँ प्रत्येक अन्तरनिहित संस्था, एजेन्सी तथा सामाजिक स्वरूपलगायत पद, प्रतिष्ठा र भूमिका संलग्न हुन्छन् । फलस्वरूप प्रत्येक व्यक्ति विद्यमान संस्थामा आफू रहेको विश्वास गर्छन् । किनकि, मानिस सामाजिक उत्पादन हो ।
समाज मानवीय उत्पादन हो, अर्थात् मानिस त्यही समाजका उत्पादन हुन्, जुन समाज उनीहरूद्वारा निर्माण गरिएको हुन्छ । व्यक्तिलाई बुझ्न उसको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक पृष्ठभूमिलाई बुझ्नुपर्छ । समाजलाई बुझ्न व्यक्तिको इतिहासलाई बुझ्न आवश्यक हुन्छ । व्यक्ति र समाज दुवैलाई नबुझेसम्म न त व्यक्तिको जीवनलाई बुझ्न सकिन्छ, न समाजको इतिहास । व्यक्तिका हरेक इच्छा र चाहनाहरू नितान्त व्यक्तिगत हुँदाहुँदै पनि यी सबै सामाजिक तथा सांस्कृतिक रूपले निर्माण र पुनर्निर्माण भइरहेका हुन्छन् । समाजशास्त्री दुर्खाइमका अनुसार समाजले व्यक्तिको इच्छा र आकांक्षाका सीमाहरू निर्धारण र निर्दिष्ट गर्ने गर्छ ।
समाज र इतिहास : समाजको उत्पत्ति, विकास र परिवर्तनको ऐतिहासिक प्रक्रियालाई नबुझी सामाजिक परिवर्तनका स्वरूप र आयामलाई बुझ्न सकिँदैन । समाजशास्त्री ग्रिफिनका अनुसार समाज परिवर्तनको सन्दर्भमा हुने हरेक युगको आफ्नै खास सन्दर्भ र वृत्तान्त हुने गर्छ, जसले व्यक्ति, समाज, इतिहास, सामाजिक संरचना र सांस्कृतिक अर्थको निर्माण र पुनर्निर्माण गर्ने गर्छ । जहाँ व्यक्ति बाँच्छ, सोच्छ र कार्य गर्छ ।
व्यक्ति, समाज वा राष्ट्रमा निहित आजसम्मका सम्पूर्ण ज्ञान र अनुभवको आधार नै इतिहास हो । वर्तमानमा हुने सबै गतिविधि इतिहासद्वारा निर्मित र निर्देशित परिणाम हुन् । जसले विनापूर्वाग्रह ऐतिहासिक प्रक्रियाको निष्पक्ष परिभाषा र प्रतिनिधित्व गरिरहेका हुन्छन् । कुनै एक कालखण्डको सामाजिक, सांस्कृतिक एवं राजनीतिक परिवर्तनसँग अर्को कालखण्डका परिवर्तन पारस्परिक रूपमा अन्तरनिहित भएका हुन्छन् । यस्ता परिवर्तन कुनै आकस्मिक घटना र प्रघटना होइनन् । यी सबैै मानवजनित हुन् । पूर्ववत् परिवर्तनका प्रक्रियासँग अन्तरसम्बन्धित अवधारणा हुन् । सामाजिक संरचनामा निहित एकाइमा हुने परिवर्तनका क्रमबद्ध शृंखला हुन् ।
व्यक्ति र विश्व : सामाजिक परिवर्तन र रूपान्तरणको प्रक्रियासँगै आधुनिकता विश्वव्यापी बन्दै गइरहेको छ । विश्वव्यापीकरणको प्रक्रियासँगै सामाजिक सम्बन्ध सघनताबाट खुकुलिँदै गइरहेका छन् । कमजोर बन्दै गइरहेका छन् । समाजशास्त्री मिश्र मानवीय सम्बन्ध परिवारजन एवम् छिमेकीसँगको विद्यमान सम्बन्धबाट अलि माथि उक्लेर विश्वव्यापी संगठनको सदस्य हुने क्रममा तल्लीन छ भन्छन् ।
पुँजीवादी विश्व व्यवस्थाको निर्माणसँगै सामाजिक तथा सांस्कृतिक जटिलता क्रमशः बढ्दै गइरहेका छन् । व्यक्तिगत समस्या सार्वजनिक सवाल र जटिलताका रूपमा प्रतिस्थापन हुँदै गइरहेका छन् । नितान्त व्यक्तिगत विचार र दृष्टिकोण जटिल समाजको सामाजिक मूल्य र मान्यताबाट निर्देशित हुँदै गइरहेका छन् । पुँजीवादी विश्व व्यवस्थासँगको नियमित अन्तरक्रियाले समाजका संस्थागत संरचना, व्यक्तिका इच्छा, आकांक्षा र परिकल्पनाका स्वरूप क्रमिक रूपले परिवर्तित भइरहेका छन् ।