१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ४ मंगलबार ०६:०२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तस्करले हत्या गरेका असइ विक प्रहरी निरीक्षकको परीक्षा तयारीमा थिए

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार ०६:०२:००

गत शनिबार तस्कर समूहले हत्या गरेका प्रहरी सहायक निरीक्षक (असइ) गोविन्द विक प्रहरी निरीक्षकको परीक्षामा सहभागी हुने तयारीमा थिए । उनी तीन वर्षअघि मात्र प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी निरीक्षकमा प्रतिस्पर्धाका लागि उनले केही साताअघि काठमाडौं गएर शारीरिक परीक्षा पनि दिएका थिए ।

‘इन्स्पेक्टरको तयारी गर्दै छु, लिखित परीक्षा दिनुपर्छ भन्दै थियो,’ मृतकका दाइ रमेशले भने, ‘निकै मिहिनेती र लगनशील थियो ।’ तस्करी नियन्त्रणमा कडाइ गर्दा भाइको हत्या भएको रमेश बताउँछन् । विपन्न दलित परिवारका गोविन्द आफ्नै बलबुताले प्रहरी सेवामा प्रवेश गरेका थिए ।

‘हाम्रो पहुँच थिएन, भनसुन गरिदिने कोही थिएन । जे जति प्रगति गर्‍यो, आफ्नै मिहिनेतले गरेको थियो,’ रमेशले भने, ‘हाम्रो परिवारको आशा भरोसा उही थियो ।’ रमेशले एक साताअघि मात्रै भाइसँग फोनमा कुरा गरेका थिए । आफन्तका अनुसार गाउँकै विद्यालयबाट एसएलसी दिएका गोविन्दले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका थिए ।

गोविन्द नौ वर्षको छँदा उनका बाबु बिते । बाबु बितेपछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आयो । सम्पत्तिका नाममा ओत लाग्ने सानो झुपडी थियो । कमाइ खान जमिन थिएन । सन्तानलाई हुर्काउन कलावतीले निकै हण्डर खेपिन् । तर पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना थियो । गोविन्दका दाइभाइले पढाइमा धेरै रुचि देखाएनन् । दाइ खेती किसानीमा जुटे । कान्छो भाइले पनि एसएलएसी दिएपछि पढाइ छाडे । दिदीको विवाह भयो ।

तर, गोविन्दले पढाइ छाडेनन् । स्थानीय बागेश्वरी माविबाट एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि धनगढी आए । छोरालाई धनगढी डेरामा राखेर पढाउन कलावतीले दिनरात मजदुरी गरिन् । तीन वर्षअघि कलावतीको सपना पूरा भयो, गोविन्दले असइमा नाम निकाले ।

छोरो ठूलो भएको हेर्ने कलावतीको सपना धेरै समय टिकेन । धनगढी–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्ट इन्चार्ज गोविन्द गस्तीका क्रममा शनिबार तस्करको ‘ट्र्याप’मा परे । धारिलो हतियार प्रहार गरेर उनको बीभत्स हत्या भयो । उनको शव धनगढी–१० वनकट्टिघाटस्थित नेपाल–भारत सीमामा मोहना नदीमा फेला प¥यो । उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अज्ञात छ ।

असइ विकका नाबालिका दुई छोरी र श्रीमती छन् । दाइ रमेश गाउँमा अँधियामा खेती गर्छन् । ‘आम्दानीको अन्य स्रोत नभएकाले सबै उसैको कमाइमा आश्रित थियौँ,’ रमेशले भने, ‘पापीहरूले परिवारको आडभरोसा मेरो भाइलाई मारे ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुनु दुई दिनअघि असइ विकले त्यही नाकामा स्थानीय व्यक्तिले अवैध रूपमा भिœयाउँदै गरेको सामान बरामद गरेका थिए । उनले त्यहाँ खटिएदेखि नै नाकामा कडाइ गरेका थिए । सीमामा कडाइपछि वर्षौँदेखि निर्बाध चलेको तस्करी अवरुद्ध बनेको थियो । सोहीकारण उनी तस्करको निसानामा परेको स्थानीयवासी बताउँछन् । उक्त क्षेत्र तस्करीको ट्रान्जिट पोइन्ट’ मानिन्छ ।

अछाम जयगढ घर भएका प्रहरी जवान साउदको अवस्था अज्ञात रहेको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए । उनको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

उच्च सम्मानसाथ अन्त्येष्टि

कञ्चनपुर पुनर्वास नगरपालिकास्थित दोदा नदीमा असइ विकको सोमबार उच्च सम्मानसाथ अन्त्येष्टि गरिएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले शवमा राष्ट्रिय झन्डा ओढाए । अन्येष्टिमा उच्च प्रहरी अधिकृत, विकका आफन्त, स्थानीय बासिन्दा र राजनीतिक दलका नेतालगायत उपस्थित थिए ।