१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
डियागो भोन भकानो
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बोलिभियाली निर्वाचन

Read Time : > 2 मिनेट
डियागो भोन भकानो
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo

अघिल्लो वर्ष नोभेम्बरमा इभो मोरालेसको बहिर्गमनपछि अन्तरिम राष्ट्रपति बनेकी जिनाइन एनेजले मेलमिलापपूर्ण शैलीभन्दा पनि अधिनायकवादी शैली अपनाइन् । पछिल्लोपटक निर्वाचन मिति घोषणाको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीविरुद्ध उनले अपनाएको कठोर व्यवहारमा पनि त्यो झल्किन्थ्यो । सर्वत्र दबाबपछि अन्ततः अक्टोबर १८ को निर्वाचन मिति घोषणा भयो । यस निर्वाचनको सफलताले मात्र वर्तमान बोलिभियाली संकट अन्त्य हुनेछ । 

अहिलेको संकटका लागि इभो मोरालेस नै जिम्मेवार छन् । आदिवासी समुदायबाट देशको पहिलो राष्ट्रपति बनेका मोरालेसले सन् २०१६ को जनमतसंग्रहपछि सत्ता त्यागेको भए सम्भवतः उनको उचाइ दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको जस्तो हुने थियो । तर, सत्ताको मात चढेर तेस्रो कार्यकाल उठ्ने विषयमा भएको जनमतसंग्रहमा हार्दा पनि मोरालेस न्यायालयको दुरुपयोग गरेर तेस्रो कार्यकालका लागि उठे । आफ्नो पार्टीभित्र दोस्रो तप्काको नेतृत्व विकास गर्ने कुरालाई बेवास्ता गरेर मोरालेस संविधान र जनमतको विरोधमा गए । त्यसबाहेक पछिल्लो समय पत्रिकाले मोरालेसले भ्रष्टाचारका आशंका भएकालाई उन्मुक्ति दिएको र उमेर नपुगेकी नाबालिकासँग सम्बन्ध बनाएको खुलासा भएको छ । 

नोभेम्बरमा मोरालेस लुकेर मेक्सिको उडेपछि बोलिभियाली जनताले नयाँ परिवर्तन चाहेका थिए । तर, मोरालेसको बहिर्गमनपछि अन्तरिम राष्ट्रपति बनेकी जिनाइन एनेज चुनावको दिशामा अग्रसर हुनुसाटो महत्वपूर्ण निर्णय गर्न लागिन् । जसमध्ये नयाँ विद्यालय खारेजीजस्ता केही परिवर्तन निकै घातक छन् । नोभेम्बरमा शासन सम्हालेदेखि उनले चारपटक त चुनाव नै सारिन् ।

अक्टोबर १८ को चुनाव मिति घोषणा पनि धेरै दबाबपछि अनिच्छापूर्ण स्विकारेको देखिन्छ । एनेजको शासनमा अर्थतन्त्र ५.६ प्रतिशतले खुम्चेको छ । कोभिड–१९ विरुद्ध पनि सरकारी काम निराशाजनक छ । कोभिड–१९ को उपचारमा प्रयोग हुने भेन्टिलेटरको मूल्यमा समेत भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री नै पक्राउ परेका छन् । त्यस्तै, एनेजको अन्तरिम शासनमा उल्लेख्य मानवअधिकार उल्लंघन भएको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ । 

चुनावअघिको मतसर्वेक्षणमा मोरालेसको सरकारमा अर्थमन्त्री रहेका लुइस आर्से काताकोरा अग्रस्थानमा थिए । उनी ‘मुभमेन्ट टुवार्ड सोसलिजम (एमएएस)’को राष्ट्रपतीय उम्मेदवार हुन् । लोकप्रियतामा आर्सेपछाडि नवउदारवादी पूर्वराष्ट्रपति कार्लोस मेसा छन् । मतसर्वेक्षणको अग्रता र अहिलेको राजनीतिक अराजकतालाई ख्याल गर्दा समाजवादी उम्मेदवार आर्से उत्कृष्ट छनोट देखिन्छन् । केही राजनीतिक टिप्पणीकारले उदारवादी लोकतन्त्र मात्र बोलिभियाका लागि राजनीतिक समाधान भएको बताइरहेका छन् । तर, यस तर्कविपरीत मेरो विचारमा समाजवादीलाई जिताउनुपर्ने तीन कारण छन् ।

आफ्नो पार्टीभित्र दोस्रो तप्काको नेतृत्व विकास गर्ने कुरालाई बेवास्ता गरेर मोरालेस संविधान र जनमतको विरोधमा गए । त्यसबाहेक पछिल्लो समय पत्रिकाले मोरालेसले भ्रष्टाचारको आशंका भएकालाई उन्मुक्ति दिएको र उमेर नपुगेकी नाबालिकासँग सम्बन्ध बनाएको खुलासा गरेका छन् ।

निर्वाचन दोस्रो चरणमा गएमा एनेजको दक्षिणपन्थी पक्ष र मेसाबीच गठबन्धन बन्ने चर्चामाझ मैले भने समाजवादीको पक्षमा मत राख्न लागेको हुँ । पहिलो कुरा, अहिलेका एमएएसका राष्ट्रपतीय उम्मेदवार आर्से इभो मोरालेस होइनन् । टेक्नोक्रेट पृष्ठभूमिका आर्से एक व्यावहारिक र संसार बुझेका नेता हुन् । ब्रिटेनमा अर्थशास्त्र पढेका आर्सेकै निगरानीमा मोरालेसको शासनमा बोलिभियाली अर्थतन्त्रले अभूतपूर्व वृद्धि हासिल गर्‍यो ।

आइएमएफ र विश्व बैंकका अनुसार मोरालेसको १३ वर्षे शासनमा बोलिभियाले बर्सेनि चार प्रतिशतभन्दा बढी आर्थिक वृद्धि देख्यो । यही वृद्धिको बलमा मोरालेसको शासन अवधिमा बोलिभियाको अर्थतन्त्र चार गुणाले बढेको थियो । त्यस्तै मोरालेसको शासनकालमा बोलिभियाको गरिबीमा पनि तीस प्रतिशले कमी आएको थियो । यस सफलतामा अर्थमन्त्रीको रूपमा आर्सेको महत्वपूर्ण योगदान थियो । 

दोस्रो कारण, आर्से राष्ट्रपति उम्मेदवारमध्ये निजीकरणका लागि दबाब दिने नवउदारवादीहरूको सामना गरेर एमएएसको सामुदायकेन्द्रित आर्थिक मोडेलको प्रतिरक्षा गर्न सक्ने उम्मेदवार हुन् । बोलिभियाको लिथियम भण्डार भूराजनीतिक सम्पत्ति हो । कोभिड–१९ संकटसँगै बोलिभियाका लागि नयाँ आर्थिक इन्जिनको आवश्यकता छ, जुन हरित ऊर्जामा आधारित हुनुपर्छ । यो नयाँ र लिथियम प्रविधिमा आधारित दिगो प्रविधि उपभोगबाट मात्र सम्भव छ । लिथियमसम्बन्धी उद्योगमा विश्वका अग्रणी उद्योगले आर्सेको निजीकरणको विरोधलाई समर्थन गरेका छन् । 

तेस्रो कारण, मोरालेसको युग अपमानजनक रूपमा अन्त्य भए पनि आदिवासी र श्रमिक जनतामाझ एमएएसको समर्थन ठूलो छ । र, बोलिभियाको बहुसंख्यक भनेकै आदिवासी र श्रमिक जनता हुन् । एमएएसका उपराष्ट्रपति आफैँमा आइमारा आदिवासी विद्वान् हुन् । उनमा विदेश मामिलाको ठूलो अनुभव छ । यो पनि एमएएसका लागि बलियो पक्ष हो । आर्सेका सबैभन्दा बलिया प्रतिस्पर्धी मेसा विगतमा (सन् २००३) राष्ट्रपति भइसकेका छन् ।

उनको दुई वर्षे कार्यकाल असफल थियो । त्यसअघि अमेरिकामा हुर्किएका व्यवसायी गोन्जालो सान्चेस दे लोजादोको राष्ट्रपतित्वकालमा पनि उनी उपराष्ट्रपति थिए । त्यस अवधिमा ग्यास क्षेत्रलाई निजीकरण गर्ने प्रयास गरिँदा नकारात्मक सामाजिक परिणाम देखिएको थियो । मुख्यतः पत्रकार र इतिहासकारका रूपमा चिनिएका मेसाले न त बोलिभियाको लिथियमको प्रतिरक्षा गर्न सक्छन्, न त दीर्घकालीन आर्थिक वृद्धि सिर्जना गर्न सक्छन् । अब यो चुनावको मतगणनालाई निष्पक्ष बनाउने कुरामा संयुक्त राष्ट्रसंघ, युरोपेली संघ तथा कार्टर सेन्टरले अग्रसरता लिनुपर्छ । यो चुनावको सफलताले मात्र बोलिभिया सापेक्षिक स्थिरतामा फर्काउनेछ । 

बोलिभियाली मूलका डियागो भोन भकानो अहिले अमेरिकास्थित टेक्सस एएन्डएम विश्वविद्यालयका राजनीतिशास्त्रको प्राध्यापक हुन् । 

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

ad
ad