१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १ शनिबार ०९:०४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा  गेलको पुनरागमन

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १ शनिबार ०९:०४:००

टी–२० क्रिकेट फर्म्याटकै सबैभन्दा सफल खेलाडी क्रिस गेलले १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा बिहीबार रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध मौका पाएका छन् । यस सिजन आइपिएलको अक्सनमा गेललाई अन्तिम समयमा किंग्स ११ पन्जाबले अनुबन्ध गरेको थियो । युएईको विभिन्न तीन सहरमा चलिरहेको आइपिएलमा गेलले सात खेलसम्म मौका पाएनन् । किंग्स ११ का कप्तान लोकेश राहुल तथा मायांक अग्रवाल उत्कृष्ट फर्ममा रहेका कारण गेल जति अनुभवी ब्याट्सम्यानले आफ्नो जादूमयी खेल देखाउन मौका नपाएका हुन् । 

किंग्स ११ ले कतिसम्म गेललाई बेन्चमा राख्ने प्रश्न पनि उठिरहेको थियो । पछिल्लो केही खेलमा मध्यक्रमका ब्याट्सम्यानले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा कप्तान राहुलले गेललाई आठौँ खेलमा पुनरागमन गराए । एउटा रमाइलो पक्ष के छ भने गेलले आफ्नै पूर्व टोली बैंग्लोरविरुद्ध मौका पाउँदा आफूलाई टी–२० कै दिग्गज खेलाडी भनी प्रमाणित गर्न सफल भए । उनले किंग्स ११ को विश्वासमा मात्र जितेनन्, टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदानसमेत दिए । यसअघि राम्रो प्रदर्शन गर्दागर्दै किंग्स ११ ले लगातार पाँच खेल गुमाएको थियो । यद्यपि चार अंक जोडे पनि किंग्स ११ तालिकाको पुछारमै छ । 

चालू आइपिएलको पहिलो चरणमा किंग्स ११ ले बैंग्लोरलाई ९७ रनले हराएको थियो । पहिलो चरणमा किंग्स ११ ले निकालेको एक मात्र जित नै बैंग्लोरविरुद्ध थियो । आइपिएलको ३८औँ खेलमा बैंंग्लोरले पहिलो ब्याटिङ गरी निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनको योगफल बनाएको थियो । १३औँ आइपिएलमा सारजहाँमा पहिलो ब्याटिङ गरेको टोलीले अहिलेसम्म कम रन जोडेको यो नै हो । प्रत्युत्तरमा किंग्स ११ ले २० ओभरमा दुई विकेटको नोक्सानीमा १ सय ७७ रन जोड्दै आठ विकेटको सानदार जित निकाल्यो । 

अन्तिम ओभर रोमाञ्चक
किंग्स ११ लाई अन्तिम ओभरमा दुई रन मात्र आवश्यकता थियो । क्रिजमा कप्तान राहुल र गेल थिए । बैंंग्लोरबाट युज्वेन्द्र चाहलले बलिङ गरे । चाहलको पहिलो दुई बलमा गेलले कुनै रन बटुल्न सकेनन् । तेस्रो बलमा गेलले एक रन लिँदै राहुललाई स्ट्राइकमा ल्याए । चौथो बल डट खेल्दा किंग्स ११ दबाबमा परेको थियो । पाँचौँ बलमा राहुलले एक रन लिने प्रयासमा गेल रनआउट भए । नयाँ ब्याट्सम्यान निकोलास पुरनले चाहलको अन्तिम बललाई छक्का रूपमा प्रहार गर्दै किंग्स ११ लाई सनसनी जित दिलाउन सफल भए । आइपिएलको इतिहासमा अहिलेसम्म नौपटक मात्र अन्तिम बलमा छक्का प्रहार गरी टोलीले जित निकालेका छन् । साविक विजेता मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले तीनपटक छक्का लगाएर जित दिलाएका छन् । उनले २००९, ०११ र ०१२ मा यो सफलता चुमेका थिए । यसैगरी मिचेल सेन्टनरले २०१९ मा राजस्थान रोयल्सविरुद्ध जितका लागि अन्तिम बलमा छक्का लगाए । 

गेलले लगाए २९औँ अर्धशतक
गेलले आफ्नो पुनरागमन स्मरणीय बनाएका छन् । यस प्रदर्शनसँगै अब आउने खेलमा उनको सम्भावना बढेको छ । गेलले आइपिएलमा २९औँ अर्धशतकीय इनिङ्स खेलेका छन् । आइपिएलमा सबैभन्दा बढी अर्धशतक बनाउने सनराइजर्स हैदराबादका डेभिड वार्नर हुन् । उनले १ सय ३४ खेलमा ४६ अर्धशतक लगाएका छन् । गेलले १ सय २६ खेलमा यो सफलता हात पारे । प्रतिस्पर्धामा राहुल र मायांकबीच पहिलो विकेटका लागि ७.६ ओभरमा ७८ रनको साझेदारी भएको थियो । राहुलले ४९ बलमा ५ छक्का र १ चौकाको सहयोगमा ६१ रन नटआउट खेले । गेलले ४५ बलमा पाँच चौकार एक छक्का लगाउँदै ५३ रनको योगदान दिए । यसैगरी मायांकले २५ बलमा चार चौका र तीन छक्का हिर्काएर ४५ रन जोडे ।

आठौँपटक कोहली र भिलियर्स एकै ओभरमा आउट 
आइपिएलमा बैंग्लोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स आठौँपटक एकै ओभरमा आउट भएका छन् । १७.३ र १७.५ ओभरमा यी दुवै ब्याट्सम्यान क्याच आउट भए । यो ओभर मोहमद सामीले गरेका थिए । सन् २०१२ मा ज्याक कालिसले कोहली र भिलियर्सलाई पहिलोपटक एकै ओभरमा आउट पारेका थिए । खेलमा कोहलीले ३९ बलमा ४८ रनको योगदान दिए । कोहलीले बैंग्लोरबाट दुई सय खेल पूरा गरेका छन् । उनले आइपिएलमा १ सय ८५ खेल तथा च्याम्पियन्स लिगमा १५ खेल बैंग्लोरबाट खेले । उनले आइपिएलमा १ सय ८५ खेलबाट ५ हजार ७ सय १६ रन बनाएका छन् ।