मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असोज २६ सोमबार १०:०८:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दर्शकको कथा, मण्डलाको नाटक

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असोज २६ सोमबार १०:०८:००

‘तपाईं आफ्नो अनुभूति बताउनुस् (अनुभूति तात्कालिक वा पुरानो पनि हुन सक्छ), हामी त्यसलाई तत्कालै नाटकमा रूपान्तरण गरेर मञ्चन गर्छौं,’ मण्डला नाटकघरको चौतारी नाटक शृंखलाको जुम मिटिङमा नाट्यकर्मी राजन खतिवडाले भने । उनको पछाडि चारजना कलाकार नाट्य मञ्चनका लागि तम्तयार छन् । 
दर्शक तथा श्रोताले आफ्नो अनुभूति बाँडिसकेपछि त्यसलाई नाट्य रूपान्तरण गर्न स्टेज खडा छ । स्टेजमा बत्तीको प्रकाश छरिएको छ ।

केही थान कुर्सी, केही थान अन्य आवश्यक सामानहरू पनि छन् । क्यामेराले समेट्न नसकेको छेउतिर पनि कलाकार तयार छन्– आवाजको माध्यमबाट, बाजाको माध्यमबाट, ध्वनिको माध्यमबाट नाटक तयार पार्न । नयाँ पत्रिकाकर्मीले भर्चुअल कार्यक्रममा आ–आफ्ना तात्कालिक तथा पुराना अनुभूतिहरू बाँडे । यसमाथि नाट्यकर्मीहरूले तत्कालै अभिनय, ध्वनि, आवाज, रङ, प्रकाशको माध्यमबाट नयाँ पत्रिकाकर्मीका अनुभूतिलाई मञ्चन गरे । 

-जोनाथन फक्स र जो सलसले सन् १९७५ मा सुरुवात गरेको ‘प्लेब्याक थिएटर’ मा दर्शकले आफूले देखेको कथा तथा आफ्ना अनुभूतिलाई बताएपछि कलाकारले तत्कालै नाटक मञ्चन गर्ने गर्छन् । फक्स सन् ७० को दशकको सुरुवाततिर नेपालमा कृषिमा स्वयंसेवा गर्न नेपाल आएका थिए । नाट्यकर्मी राजन खतिवडाका अनुसार फक्स बुटवल, पाल्पातिर बसे । फक्सले प्लेब्याक थिएटरको अवधारणा सुरु गर्नुपूर्व नेपालबाट धेरै उत्प्रेरणा लिएका थिए । थारु बस्तीमा रहँदा फक्सले देखेका थिए, थारुहरू भोलि के खाने भनेर सोच्दैन थिए । आज माछो मार्‍यो, खायो । भोलिका लागि भोलि नै सोच्थे । भविष्यको प्लानिङ हुँदैन थियो । त्यसले प्लेब्याक थिएटर सुरु गर्न फक्सले उत्प्रेरणा पाएको नाट्यकर्मी खतिवडा बताउँछन् । यसपछि अस्ट्रेलिया फर्केर गएपछि फक्सले प्लेब्याक थिएटर सुरु गरेका थिए । 

-‘संसारभरि नै यस किसिमको नाट्य शैलीलाई थेरापीका रूपमा लिइन्छ । मान्छेले पुरानो आक्रोश, अनुभूतिलाई तत्कालै हेर्न पाउँछन् । कुनैवेला रिसाएको थियो भने आफ्नो रिसको स्वरूप मञ्चमा देख्न पायो नि,’ खतिवडा भन्छन्, ‘त्यसले असर गर्छ मान्छेलाई । थेरापीका रूपमा हिलिङ हुन्छ ।’ खतिवडालगायतले चौतारी नाटक शृंखला भनेर यस किसिमको नाट्यशैली सुरु गरेको पाँच वर्ष भइसक्यो । अहिलेसम्म ६ जिल्लामा काम गरिसके । यसबीचमा जनयुद्धमा होमिएका लडाकुको अनुभूतिलाई पनि गाउँगाउँमा पुगेर नाटकमार्फत देखाए । ‘अब उनीहरूको कथा सुन्दा समुदायको मान्छेले स्वीकार्ने भयो । फरक दृष्टिकोण निर्माण गर्ने भयो,’ खतिवडा भन्छन् ।

यो नाट्यशैली थिएटरमा पूर्वतयारीसहित मञ्चन गरिने नाटकभन्दा बलियो असर हुने देखिन्छ । केही कथाले कलाकारहरूलाई पनि असर गर्ने गर्छ । एकपटक पश्चिम नेपालको एक छोरीको कथाले खतिवडा स्वयं बिथोलिए । एउटा सानी बच्चीको कथा थियो । उनका बाबु सानैमा भारत पसेर फिरेका थिएनन् । हजुरआमा र हजुरबासँग हुर्किएकी ती बालिकाले उनीहरूलाई नै बाआमा भन्थिन् । हजुरबाले पनि बताउन सकेका थिएनन् कि उनका बाबु भारत पसेर फिरेका छैनन् । यो कथामाथि अभिनय गरिसकेपछि आफू तीन महिनासम्म बिथोलिएको खतिवडाको तीतो अनुभव छ । पछि गएर बालिकालाई भेटेर, कापी कलम दिएपछि उक्त कथाबाट मुक्त हुन सकेको उनी बताउँछन् ।

नयाँ पत्रिकासँग एउटा शृंखलामा काम गरेको यो नाट्य समूह कोभिडको समयमा फ्रन्टलाइनमा खटिएका विविध क्षेत्रका मान्छेबारे १५ शृंखला गर्ने योजनामा छ । यो समूहमा शारदा अधिकारी, विकास जोशी, सन्दीप श्रेष्ठ, रेनु योगी, सुदिप खतिवडा, विजया कार्की, उमेश तामाङ, रञ्जना ओली, अंकित खड्का, अनुप न्यौपाने, सोमनाथ खनाल र विजय बराल छन् । तर, लगातार काम गर्न भने नसकिने र कति सकिन्छ त्यहीअनुसार काम गर्ने योजनामा रहेको खतिवडा बताउँछन् । भन्छन्, ‘लगातार गर्न सकिँदैन । कुनैकुनै सोले कलाकारलाई यति असर गरेको हुन्छ कि उनीहरूरूलाई रिफ्रेस हुन समय लाग्छ ।’