१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २५ आइतबार १७:१३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

श्वासप्रश्वासमा समस्या नदेखिएका कोरोना संक्रमितमा न्युरोलोजिकल डिसअर्डरको जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २५ आइतबार १७:१३:००

हालसम्मको अध्ययनअनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी समस्या, ज्वरो, रुघाखोकी, मांसपेशी दुखाइजस्ता लक्षण देखिन्छन् । जुन कोभिड संक्रमणको प्रारम्भिक लक्षणका रूपमा स्थापित छ । तर, पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिए पनि कोरोना संक्रमण पुष्टि हुन थालेको छ । त्यस्ता कतिपय बिरामीमा न्युरोलोजिकल डिसअर्डरसम्बन्धी समस्या देखिएको छ । कोरोना भाइरसको प्रकृतिबारे पूर्ण रूपमा जानकारी नहँुदा नियन्त्रणमा कठिनाइ भइरहेको वेला नयाँ समस्या वा लक्षण देखिनुले वैज्ञानिकहरू चिन्तित बनेका छन् । 

अमेरिकाको टेक्सासका ३० वर्षीय कोरोना संक्रमित एक पुरुषमा यस्तै न्युरोलोजिकल समस्या देखिएको छ । केही समयदेखि बोल्न, हिँड्न गाह्रो भइरहेकोले उनलाई सेरिब्लेम (शरीरको सन्तुलन नियन्त्रण गर्ने दिमागको भाग) मा समस्या भएको अनुमान गरिएको थियो । उनमा ज्वरो, रुघाखोकी, मांसपेसीको दुखाइ, थकान समस्या देखिएको थिएन । टेक्सासको स्वास्थ्य विज्ञान केन्द्रका प्रमुख वैज्ञानिक एड्रियाना पोभलो र एन्ड्रयु अवरवाचले जर्नल अफ इमेर्जेन्सीमा गत शुक्रबार प्रकाशित गरेको लेखमा भाइरस संक्रमणका कारण श्वासप्रश्वासमा समस्या नदेखीकन दिमागमा समस्या भएको नपाइएको बताएका छन् । भाइरसले श्वासप्रश्वाससँगै पाचन, मुटु, मिर्गाैला र दिमागमा असर पार्न सक्ने बताइए पनि हालसम्म पुष्टि नभइसकेको उल्लेख छ । साथै, अधिकांशमा अन्य जटिल स्वास्थ्य समस्या देखिए पनि सामान्य लक्षण पनि देखिने गर्थे । पछिल्लो समय दिमागमा मात्र असर गरेका घटना बाहिर आएपछि वैज्ञानिकहरूले अनुसन्धानमा चुनौती थपिएको बताएका छन् । 

सचेत रहन आग्रह
चीनका वैज्ञानिकहरूले भाइरसले सीधै दिमागमा मात्र असर गर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । अप्रिल महिनामा प्रकाशित एक अध्ययनअनुसार वुहानमा करिब एकतिहाइ संक्रमितमा बेहोस हुने, गन्ध थाहा नपाउने, आँखाको दृष्टि गुम्ने, स्नायु दुखाई वा अन्य न्युरोलोजिकल समस्या देखिएको थियो । विश्वका अन्य भागमा गरिएका विभिन्न अध्ययनअनुसार अन्य बिरामीमा संक्रमण निको भइसकेपश्चात् पनि लामो समयसम्म मस्तिष्कको क्षति अर्थात् न्युरोसम्बन्धी समस्या हुने गरेको छ । पछिल्लो समय कोभिड संक्रमितमा एक्युट सेरेबिलाइटिस अर्थात् दिमागमा असर पर्ने केसहरू बढिरहेका छन्, तर अधिकांशमा सामान्य लक्षण पनि देखिइरहेका छन् । 

सामान्यतया अचानक बान्ता हुने, सोच्ने, बोल्ने र हिँड्ने क्षमतामा अस्थिरता आउने लक्षणलाई स्ट्रोकको पूर्वलक्षण मानिन्छ । केही संक्रमितमा उपचारको क्रममा मस्तिष्क स्क्यान गर्दा कुनै रक्तश्राव देखिएको थिएन । एक्सरेको माध्यमबाट फोक्सो सुन्निएको देखिएको थियो । पिसिआर परीक्षणमा भने कोरोना पोजेटिभ देखाएको थियो । चिकित्सकहरूका अनुसार यस्ता बिरामीमा दश दिनसम्म अस्पताल बस्दा पनि श्वासप्रश्वाससम्बन्धी कुनै लक्षण देखिएनन् । बरु बिस्तारै मस्तिष्कमा क्षति बढिरहेकाले बोल्ने, हिँड्ने, सोच्ने आदि क्षमता सुधार भइरहेको पाइएको थिएन । 

कोरोना भाइरसले मानव मस्तिष्कलाई कसरी असर पु¥याउँछ भन्ने विषयमा हालसम्म कुनै तथ्यगत प्रमाण भेटिएको छैन । तर, न्युयोर्कमा हालै गरिएको एक अध्ययनअनुसार फरक जिन भएका केही व्यक्तिमा कोभिडले कम असर गर्ने बताएको छ । तर, यस्ता व्यक्तिमा सिजोफ्रेनिया नामक कडा खालको मानसिक रोगको जोखिम उच्च रहने बताइएको छ । टेक्सासमा ३० वर्षीय ती संक्रमितमा अन्य भाइरस संक्रमण नेगेटिभ देखिएको छ । साथै शरीरको तापक्रम र रक्तसञ्चार पनि सामान्य छ । तर, उनमा कोभिड पोजेटिभ देखिएको चिकित्सकहरूको भनाइ छ । 
–एजेन्सीको सहयोगमा