Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १३ बिहीबार
  • Thursday, 29 October, 2020
ad
तस्बिर/भिडियो : दीपेन्द्र ढुंगाना/सञ्जित परियार
२०७७ असोज १६ शुक्रबार ०७:४५:००
मल्टिमिडिया डिजिटल संस्करण

६ महिनापछि खुल्न थाले विद्यालय (भिडियो रिपोर्ट)

तस्बिर/भिडियो : दीपेन्द्र ढुंगाना/सञ्जित परियार
२०७७ असोज १६ शुक्रबार ०७:४५:००

– काठमाडौं उपत्यका र बाहिर पनि सिफ्ट र समूहमा कक्षा सञ्चालन

– एउटा कक्षामा १० जनाभन्दा बढी नहुने गरी आलोपालो पढाइ

कोरोनाको जोखिम यथावत् रहँदा सुरक्षा सावधानी अपनाउँदै काठमाडौं उपत्यका र बाहिरका स्थानीय तहमा विद्यालय सञ्चालन हुन थालेका छन् । वैकल्पिक विधिबाट सञ्चालन भएका कक्षा प्रभावकारी नभएपछि भौतिक दूरी कायम गर्दै स–सानो समूह र सिफ्टमा पठनपाठन सुरु भएको हो । काठमाडौंबाहिर पनि ग्रामीण भेगका विद्यालय धमाधम खुल्न थालेका छन् ।

शिक्षा मन्त्रालयले शैक्षिक सत्रको अन्त्य चैत मसान्तमा हुने बताएपछि विभिन्न विकल्प प्रयोग गर्दै विद्यालयले कक्षा सञ्चालन गर्न थालेका हुन् । गत ६ चैतदेखि बन्द भएका विद्यालयमा स्थानीय तहको निर्णयमा थोरै संख्यामा विद्यार्थी उपस्थित गराएर ‘फेस टु फेस’ कक्षा सञ्चालन भएका छन् ।

पालिकाको पहल

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाभित्रका अधिकांश विद्यालय ११ असोजदेखि खुलेका छन् । उक्त नगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्द पौडेलका अनुसार पालिकाभित्रका १६ वटा सामुदायिकमध्ये १४ विद्यालयमा शिक्षक–विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन हुन थालेको छ । तर, स्वास्थ्य सावधानी अपनाउन कठिन पर्ने भएकाले बाक्लो बस्ती भएका र सहरी क्षेत्रका विद्यालय खुलेका छैनन् । उक्त नगरपालिकाभित्रका केही संस्थागत विद्यालय पनि स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालनमा आएका छन् ।

काठमाडौंभित्र पनि अनलाइन पहुँच नभएका इलाकामा वैकल्पिक विधिको पठनपाठन सफल नभएपछि अभिभावकको सहमति लिएर विद्यालय खोलिएको पौडेल बताउँछन् । ‘शिवपुरीनजिकै भरपर्दो इन्टरनेट सुविधा छैन,’ उनी भन्छन्, ‘विद्यार्थीको बसाइमा दूरी कायम गरी एउटा कक्षामा १० जनाभन्दा बढी नहुने गरी आलोपालो पढाइ भइरहेको छ । जोखिम बढी रहेका क्षेत्रमा भने स्कुल खुलेका छैनन् ।’ विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले स्यानिटाइजर, थर्मलगन, साबुनलगायत सामग्री उपलब्ध गराएको छ । पूर्वप्राथमिक तह भने सञ्चालनमा ल्याइएको छैन ।

काठमाडौंकै गोकर्णेश्वर नगरपालिकाले पनि १६ असोजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । वैकल्पिक विधिबाट सञ्चालित पढाइमा विद्यार्थी सहभागी नभएको र सम्पर्कमा समेत नआएका कारण कक्षाकोठामै पठनपाठन गराउनुको विकल्प नरहेको गोकर्णेश्वर नगरपालिकाको शिक्षा विभाग प्रमुख विजयप्रसाद आचार्य बताउँछन् । गोकर्णेश्वरका १६ मध्ये आठवटा सामुदायिक विद्यालय एक सयभन्दा कम विद्यार्थी छन् । उक्त नगरक्षेत्रमा अन्य करिब एक सय निजी विद्यालय छन् ।

‘विद्यार्थी ६ महिनासम्म पनि विद्यालयको सम्पर्कमा आएनन् र अनलाइन कक्षा प्रभावकारी भएन । भविष्यमा पनि आउँछन् कि आउँदैनन् भन्ने निश्चित भएन,’ आचार्य भन्छन्, ‘त्यसैले सुरक्षा सावधानी अपनाउँदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौँ ।’ कुनै कक्षा र समूह बनाएर विद्यालयमा एकपटकमा ५०–६० जना नहुने गरी कक्षा सञ्चालन हुने उनको भनाइ छ ।

  • काठमाडौं थलीस्थित कान्ती भैरव उच्चमाविमा कक्षाकोठामै भइरहेको पठनपाठन

काठमाडौंकै शंखरापुर नगरपालिकाले विद्यालयमै उपस्थितिलगायत विधि प्रयोग गरी शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । नगरपालिकाको बैठकले १० जनाभन्दा बढी विद्यार्थी राख्न नपाउने गरी ‘फेस टु फेस’ मोडेलमा विभिन्न सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने निर्णय गरेको छ । शंखरापुरमा सामुदायिक २३ र निजी १३ विद्यालय छन् । शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार पाँचवटै मोडेलमा शैक्षिक गतिविधि सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा विभाग प्रमुख बौद्धराज निरौला बताउँछन् ।

उनका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेका रेडियो पाठहरू सुनेर पनि विद्यालयमा समूहमा सिक्न सक्ने व्यवस्था मिलाइएको छ । ‘पूर्ण रूपमा विद्यालय खोलिएको छैन, सानो समूह र सिफ्टमा कक्षा चलेका छन्,’ उनी भन्छन् ।

यस्तै, काठमाडौं चन्द्रागिरि नगरपालिकामा पनि विद्यालय खुलेका छन् । नगरपालिकाका शिक्षा विभाग प्रमुख कर्णबहादुर भुवाजीका अनुसार २४ सामुदायिक विद्यालयले स्वास्थ्य सावधानी अपनाउँदै कसैले धेरै र केहीले थोरै कक्षा सञ्चालन गरेका छन् । अनलाइन पठनपाठन प्रभावकारी नभएको र चैतमै शैक्षिक सत्र सकिने भएकाले विद्यालयमा भौतिक रूपमै उपस्थित गराएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निर्णय नगरपालिकाले लिएको भुवाजी बताउँछन् ।

‘अल्झिएर बस्दा शैक्षिक उपलब्धि नहुने र शैक्षिक सत्र खेर जाने भएपछि कक्षा सुरु गरेका हौँ,’ उनी भन्छन्, ‘विद्यालयभन्दा बाहिर मास्क र स्यानिटाइजरविना हिँड्ने, खेल्ने गर्दा झनै जोखिम छ, विद्यालयमा दूरी, मास्क र स्यानिटाइजर प्रयोग गर्दै पठनपाठन सुरु गरिएको छ ।’

विद्यार्थी उत्साहित
विद्यालयमै उपस्थित भएर पढ्न पाएपछि विद्यार्थी खुसी भएको प्रधानाध्यापकहरू बताउँछन् । थलीस्थित कान्ती भैरव माविले ११ असोजदेखि विद्यालयमै कक्षा सञ्चालन गरेको छ । प्रधानाध्यापक तीर्थराज कोइरालाका अनुसार लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थी धेरै खुसी छन् । उक्त विद्यालयले एउटा बेन्चमा एकजना मात्र विद्यार्थी राखेर पठनपाठन गराइरहेको छ ।

‘पालिकाको निर्णयअनुसार सिफ्टमा कक्षा सुरु गर्‍यौँ, लामो समयपछि विद्यालय आउन पाएका विद्यार्थी असाध्यै खुसी छन्,’ उनी भन्छन् । हालसम्म दुई सिफ्टमा सञ्चालन भएको पठनपाठन विद्यार्थी संख्या बढेपछि तीन सिफ्टमा विस्तार गर्ने तयारी छ । कक्षा १–५, ६–८ र ९–१० का विद्यार्थीलाई फरक–फरक सिफ्ट र समूहमा पढाउने तयारी छ । अहिले एउटा समूहमा १२ देखि १५ जनालाई पढाइने गरिएको छ ।

उपत्यकाबाहिरका विद्यालय पनि धमाधम खुल्दै

कोभिड– १९ संक्रमण जोखिम कम देखिएका जिल्लाका स्थानीय तहले पनि धमाधम ‘फेस टु फेस’ कक्षा सञ्चालन गर्न थालेका छन् । तनहुँका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमाकान्त शर्माका अनुसार धेरै स्थानीय तहले ‘फेस टु फेस’ कक्षा चलाउन थालेका छन् । ‘जोखिम कम भएका क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर कक्षा सञ्चालन गरिएको छ,’ उनी भन्छन्, ‘बजार क्षेत्र र मानिसको धेरै चहलपहल भएका ठाउँका विद्यालय भने खुलेका छैनन् ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकारीहरूका अनुसार अहिले धेरै जिल्लामा संक्रमणको जोखिम कम भएका स्थानीय तहले भौतिक रूपमै कक्षा सञ्चालन गरेका छन् । विद्यार्थीको सिकाइ निरन्तरता आवश्यक भएकाले जुनसुकै विधिबाट पनि त्यसलाई अगाडि बढाउनुपर्ने चुनौती पनि छ । देशभरका सबै विद्यालयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने अधिकारीहरू बताउँछन् । प्रविधिको पहुँच नभएका र कक्षा सञ्चालन गर्न सकिने स्थानमा पठनपाठन रोक्न उचित नहुने उनीहरूको भनाइ छ ।

निर्देशिकाका आधारमा स्थानीय तहको निर्णय

कोभिड– १९ का कारण बन्द भएका विद्यालय सञ्चालन गर्ने विषयमा संघीय सरकारले निर्णय गरेको छैन । तर, ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा आधुनिक प्रविधिको पहुँचबाहिर रहेका विद्यार्थीका लागि सिकाइ केन्द्र वा विद्यालयमा सिकाउन सक्ने व्यवस्था छ । निर्देशिकामा भनिएको छ, ‘समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा आपसमा भौतिक दूरी कायम गरी बसाइ व्यवस्था मिलाएर पाठ्यपुस्तक, स्वअध्ययन वा छपाइ सामग्री प्रयोग गरी शिक्षक वा स्वयंसेवकमार्फत सिक्ने–सिकाउने व्यवस्था गर्ने ।’ निर्देशिकामा भौतिक पूर्वाधार र विद्यार्थी संख्याका आधारमा भौतिक दूरी कायम गर्दै कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने भूमिकासमेत तोकिएको छ ।

विद्यालय खुल्यो, शिक्षकमा कोरोना पुष्टिपछि गाउँमा त्रास

सिन्धुली गोलञ्जोर गाउँपालिकाका दुईवटा विद्यालयमा शिक्षकलाई कोरोना पुष्टि भएपछि स्थानीय बासिन्दामा त्रास देखिएको छ । गोलञ्जोर– २ बितिजोरको एक विद्यालय र गोलञ्जोर– ६ घोक्सिलास्थित मंगला माविका शिक्षकमा कोरोना पुष्टि भएको हो ।

गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेपछि जिल्लाबाहिर रहेका शिक्षकलाई बोलाइएको थियो । ‘स्कुल खोल्नुअघि सबै शिक्षकको कोरोना परीक्षण गरिएको थियो, रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाको मौखिक खबरपछि आइतबारदेखि पढाइ सञ्चालनमा ल्याइयो । तर, दुईजना शिक्षकमा कोरोना पुष्टि भयो,’ गोलञ्जोर गाउँपालिकाका विद्यालय निरीक्षक ठाकुरप्रसाद दाहाल भन्छन् ।

उनका अनुसार अहिले सबै शिक्षकलाई गाउँपालिकाको आइसोलेसन वार्डमा राखिएको छ । तर, गाउँभर कोभिड– १९ फैलिएको शंकामा स्थानीय बासिन्दा त्रसित बनेको मंगला माविका व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश बराल बताउँछन् । ‘अहिले विद्यालय नखोलौँ, खोल्ने नै भए पनि स्थानीय शिक्षकबाट चलाऊँ, बाहिरका शिक्षक नबोलाऊँ भनेका थियौँ,’ उनी भन्छन्, ‘तर, गाउँपालिकाले पूर्ण रूपमा विद्यालय खोल्ने निर्णय गर्‍यो । विद्यार्थी र शिक्षकमार्फत गाउँमा कोरोना फैलियो कि भन्ने आशंका छ ।’ शिक्षकहरूको पुनः स्वाब संकलन गरेर पठाइएको र बिहीबार रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय लिइने गोलञ्जोर गाउँपालिका अध्यक्ष पुष्प कार्की बताउँछन् ।

निर्देशिकाले अनुमति दिएका शैक्षिक गतिविधि विद्यालयले सञ्चालन गर्न सक्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । ‘नियमित रूपमा साबिकजस्तै कक्षा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छैन,’ शर्मा भन्छन्, ‘सिकाइ निरन्तरताका लागि थोरै विद्यार्थीमा भौतिक दूरी कायम गरेर विद्यालय सञ्चालन गर्नु सकारात्मक हो ।’

भिडियो हेर्नुहोस्>>>