Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
भिडियो/तस्बिर : विनोद विष्ट
२०७७ असोज १५ बिहीबार ०८:४५:००
Read Time : > 3 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोना महामारीमा आयुर्वेद औषधिका लागि नरदेवीमा भिड (भिडियो रिपोर्ट)

Read Time : > 3 मिनेट
भिडियो/तस्बिर : विनोद विष्ट
२०७७ असोज १५ बिहीबार ०८:४५:००

विगत २३ वर्षमा उत्पादन गरेबराबर औषधि पछिल्लो एक महिनामै उत्पादन

काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक चिकित्सालय । विगतमा प्रायः सुनसान रहने यो चिकित्सालयमा पछिल्लो समय भने मान्छेको भिड लाग्न थालेको छ । नरदेवीमा बाक्लो चहलपहल कोरोनाले ल्याइदिएको हो। 

विश्वभर फैलिएको कोरोना महामारी नेपाल भित्रिएको पनि नाै महिना भएको छ । १४ असोज बुधबारसम्म देशभर कोरोना संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको छ । यीमध्ये चार सय ९८ को मृत्यु भएको छ । 

विश्वले हालसम्म कोरोनाको औषधि अर्थात् खोप पत्ता लगाउन सकेको छैन । यो अवस्थामा कोरोनाबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर बढाउनु नै एक मात्र विकल्प रहेको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । 

यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवनमा जोड दिन थालेका छन् । र, नेपालको एक मात्र केन्द्रीय आयुर्वेद चिकित्सालयमा पनि रोगप्रतिरोधी क्षमता बढाउने औषधि लिन मान्छेको भिड लाग्न थालेको छ । 

कोभिड– १९ को औषधि पत्ता नलागेका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि लिन आएको बताउँछन् देव मानन्धर । ‘विश्वमै यसको औषधि छैन,’ उनी भन्छन्, ‘आफ्नो रोग प्रतिरोधी क्षमता बढाऔंँ भनेर आयुर्वेदिक औषधि लिन आएको हुँ ।’

नरदेवीकै आयुर्वेदिक औषधिले कोरोनालाई जितेको अनुभव सुनाउँछन् क्षेत्रपाटीका कञ्चनप्रकाश पाण्डे । पाँच दिनअघि मात्रै पाेजेटिभ रिपोर्ट आएका पाण्डे थप औषधि लिन नरदेवी आएका थिए । उनले भने, ‘परिवारमा कोरोना संक्रमण देखियो, हामीले त्यसलगत्तै जडीबुटीबाट बनेको रोगप्रतिरोधी क्षमता बढाउने औषधि सेवन गऱ्याैँ । यसले १४ दिनमा नेगेटिभ रिपोर्ट आयो ।’ 

काठमाडौंका शैलेन्द्र श्रेष्ठ पनि कोरोनाविरुद्ध लड्न रोगप्रतिरोधी क्षमता बढाउने चूर्ण लिन नरदेवी पुगेका थिए । उनले कोरोनाबाट बच्ने आत्मविश्वासका साथ रोग प्रतिरोधी क्षमता बढाउने औषधि नियमित सेवन गर्न थालेको बताए । 

चिकित्सालयले कोरोना भाइरसको संक्रमण वा रोगबाट स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको छ । 

चिकित्सालयले २५ सयभन्दा बढी कोरोना संक्रमितलाई यो औषधि वितरण गरिसकेको छ । नरदेवीले उपलब्ध गराएको औषधि सेवन गर्नेहरू औसत सात दिनमा डिस्चार्ज भएका छन् । 

विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले बताए । चिकित्सालयले मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको छ । 

जेष्ठवासादि, गुडुची र यष्ठिमधुको मिश्रणलाई निश्चित विधि र मात्रा मिलाएर कोरोना संक्रमित र अन्य बिरामीलाई रोगप्रतिरोधी क्षमता विकास गर्न निःशुल्क वितरण गरिएको छ । कोरोना महामारी बढ्दै गर्दा यो चूर्णको माग ह्वात्तै बढेको डा. केसीले बताए । 

‘कोरोना संक्रमितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ भन्ने विश्वासका आधारमा वितरण अगाडि बढाएका हौँ,’ उनले भने, ‘यो औषधिको सय वर्षको इतिहास छ ।’ 

नरदेवी चिकित्सालयले जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण वर्षमा एकपटक सय किलो मात्र उत्पादन गर्दै आएको थियो । तर, यो परिमाणमा विगतका २३ वर्षमा गरेबराबर उत्पादन पछिल्लो एक महिनामै गरेको छ । अर्थात् ११ भदौदेखि अहिलेसम्म २३ सय किलो चूर्ण तयार गरेको छ । 

नरदेवी आयुर्वेद चिकित्सालयको इतिहासमै यस्तो कहिल्यै नभएको कर्मचारीहरू बताउँछन् । उत्पादन भएकोमध्ये २१ सय किलो बिरामी र अन्य सर्वसाधारणलाई वितरण गरिएको छ । 

नरदेवी चिकित्सालयले सुक्खा खोकी र हल्का ज्वारो आउने समस्या भएकाका लागि पित्तपापडा र नागकेशरको मिश्रणमा आमपाचक औषधि तयार गरेको छ । असुरो र तालिसपत्रको सम्मिश्रणमा तयार पारेको औषधिले श्वास फेर्न गाह्रो भएकाहरूलाई सहज गराउँछ । यसले पाचन प्रणालीमा आउने समस्यासमेत समाधान गर्छ । 

आयुर्वेदले पाचन प्रणाली नै रोग प्रतिरोधात्मक क्षमताको मुख्य केन्द्र भएको पुष्टि गरिसकेको छ । त्यसैले सोही ठाउँबाट नै रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ भन्ने विश्वासका आधारमा सुकमेल, ल्वाङ र दहिकाम्लोको मात्रा समावेश गरेर चिकित्सालयले औषधि उत्पादन गरेको चिकित्सक बताउँछन् । 

‘गम्भीर अवस्थामा पुगेका संक्रमितले भने यो आयुर्वेदिक औषधिको मात्रै भर पर्नुहुँदैन,’ निर्देशक केसी भन्छन्, ‘त्यस्ता बिरामीलाई अक्सिजन थेरापी र आइसियू भेन्टिलेटरको आवश्यकता पर्छ । ज्यादै कम अक्सिजन भएको वेला आयुर्वेदिक औषधिले मात्रै ठीक नहुन सक्छ । तर, हाल होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुन्छ । यो औषधिको सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ ।’ 

विगतका दिनमा औसत ५० जना बिरामी पुग्ने नरदेवीमा हिजोआज ६ सयको संख्यामा जाने गरेका छन् । उनीहरूलाई औषधि उपलब्ध गराउन चिकित्सालयलाई अहिले भ्याइनभ्याई छ । 

भिड व्यवस्थापन गर्न र औषधि उत्पादन गर्न चिकित्सालयलाई हम्मेहम्मे परेको छ । चिकित्सालयका अनुसार यहाँबाट एक महिनामा मात्रै १३ हजारले सेवा लिएका छन् । 

पछिल्लो समय चिकित्सालय आउनेमध्ये ९० प्रतिशत सेवाग्राही कोरोनाका लागि वितरण गरिएको औषधि नै लिन आउनेमध्येका छन् । 

आयुर्वेदिक औषधिमा मान्छे झुम्मिएको देख्दा चिकित्सालयका चिकित्सक तथा कर्मचारी चकित परेका छन् । २८ वर्षदेखि नरदेवीमा सेवा गर्दै आएका कविराज कृष्ण श्रेष्ठले अहिलेजस्तो भिड कहिल्यै देखेका थिएनन् । 

‘यो आयुर्वेदका लागि कल्पनाभन्दा बाहिरको विषय भएको छ,’ उनले भने, ‘विगतमा कामै नपाउने यहाँका कर्मचारी हाल रातभर खटेर बिरामीको सेवामा लाग्नुपरेको छ । शनिबारसमेत हामी काममा व्यस्त हुन्छौँ ।’ नरदेवी चिकित्सालयमा एक सय १९ जना कर्मचारी छन् ।

विगतमा वर्षको एकपटक औषधि उत्पादन गर्ने नरदेवी चिकित्सालयले अहिले हप्तामै चारपटक औषधि बनाउँछ । त्यही पनि बिरामीको माग धान्न सकेको छैन । दैनिक बिरामीको चाप बढ्दै गएकाले औषधि उत्पादन बढाउन चिकित्सालयले पहिलोपटक टेन्डर खोल्न लागेको छ । तर, सरकारले बजेट व्यवस्था नगरे उत्पादन बन्द हुने निर्देशक केसी बताउँछन् ।   

‘औषधि उत्पादनमा एक महिनामा १७ लाख रुपैयाँ खर्च भएको छ । बजेट अभावले गर्दा आवश्यकताअनुसार औषधि उत्पादन गर्न सकिएको छैन,’ डा. केसी भन्छन्, ‘एक केजी औषधि बनाउन एक हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । तर, सरकारले बजेट दिएन भने केही समयपछि बन्द हुन्छ ।’

नरदेवीले हाल प्रयोग भएकाबाहेक ग्याष्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने समस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । 

भिडियाे हेर्नुहोस्>>>