१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o७:१८:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एभरेस्ट नर्सिङ कलेजले विद्यार्थीसँग तीन लाख अतिरिक्त रकम उठायो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१८:oo

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नर्सिङ कलेजहरूले बिएस्सी नर्सिङ कार्यक्रममा लिनुपर्नेभन्दा तीन लाख रुपैयाँसम्म बढी रकम लिएको पाइएको छ । चारवर्षे बिएस्सी नर्सिङ कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले दुईदेखि तीन लाख रुपैयाँसम्म अतिरिक्त रकम लिएको पाइएको हो । 

तिनकुनेमा रहेको एभरेस्ट  नर्सिङ कलेजले नवौँ ब्याचका विद्यार्थीसँग दुईदेखि तीन लाख अतिरिक्त रकम उठाएको पाइएको छ । कलेजले पहिलो वर्षको अवधिभित्रै ट्युसन शुल्क र अन्यको नाममा मोटो रकम विद्यार्थीबाट लिँदै आएको पाइएको हो । 

‘पहिलो वर्ष चार लाख लिनुपर्ने हो,’ एक नर्सले भनिन्, ‘तर, हामीसँग पहिलो वर्षमा सात लाख बढी लिएको छ ।’ पूर्वाञ्चल विश्वविद्यालयका अनुसार भर्ना शुल्कमै सबै शीर्षक समावेश गरिएको हुन्छ । नयाँ पत्रिकाले फेला पारेको बिलमा ०७४ चैत ४ गते सात लाख २० हजार लिएको कलेजले पुनः २५ गते एक लाख लिएको छ । त्यसैगरी ०७४ पुस २३ मा ६ लाख ८० हजार रुपैयाँ लिएको छ । पहिलो वर्ष नै पूरा अवधिको पैसा लिएको हो ।

कलेज सञ्चालक सुधा रौनियारले बढी रकम लिएकोबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । ‘तपाईंले कहाँ र कुन विद्यार्थीबाट सुचना पाउनुभयो,’ उनले भनिन्, कति बढी लिएको भन्ने अहिले मलाई जानकारी छैन सम्बन्धित पीडितलाई सोध्नुहोला ।’ एभरेस्ट  कलेजबाट हालै राजीनामा दिएका एक प्रशासन अधिकृत भन्छन्, ‘नर्सहरू चिकित्सकभन्दा बढी ठगिएका छन् ।’ 

‘नर्सहरूको आवाज कसैले नसुनेका कारण उनीहरू मर्कामा परेका छन्,’ ती अधिकारीले भने, ‘नर्सिङ काउन्सिल यसबारेमा अनुगमन गर्न आउँछ, तर कलेज प्रशासनले केही रकम दिएर उनीहरूलाई मिलाएर पठाउँछन् । नर्सहरूबाट बढी रकम उठाउने अनि विश्वविद्यालय र काउन्सिलका पदाधिकारीलाई भाग लगाउने परिपाटीले नर्सिङ अध्ययनरत विद्यार्थी ठूलो समस्यामा पर्दै गएका छन्, यही देख्न नसकेर मैले एभरेस्टबाट राजीनामा दिएर बसेको छु,’ उनले भने । 
    
कलेजले विद्यार्थीबाट १५ लाख उठाएर एक लाख आठ हजार छुट दिएको देखाए पनि कुनै विद्यार्थीले सो रकम फिर्ता पाएका छैनन् । नेपाल नर्सिङ काउन्सिलका अनुसार एभरेष्ट अस्पतालको बिएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्न २० सिट दिएको छ । उक्त सिटमध्ये दुईवटा पूर्ण स्कलरसिपमा पढाउनुपर्छ । तर, स्कलरसिप पाएका विद्यार्थीसँग पनि २० प्रतिशत रकम जबर्रजस्ती उठाएको पाइएको छ । 

कलेजका प्रशासन प्रमुख सन्तोष निरौलाले अतिरिक्त रकम उठाएको बिलमा हस्ताक्षर गरेका छन् । अहिले उनी त्यहाँ आबद्ध छैनन् । अतिरिक्त शुल्क लिएको विषयमा बुझ्दा उनले भने, ‘मैले व्यक्तिगत रूपमा बढी रकम लिएको हाेइन, सञ्चालकले लिनु भनेपछि लिएको हो ।’ उनले आवश्यकभन्दा बढी रकम लिएको भने स्वीकार गरेका छन् । 

‘सञ्चालकको निर्णयअनुसार अतिरिक्त रकम लिएको हो,’ निरौला भन्छन्, ‘यसमा मेरो कुनै दोष छैन ।’ कलेज स्रोतका अनुसार नर्सिङ काउन्सिल र विश्वविद्यालयका कर्मचारी अनुगमनमा आउँदा उनीहरूलाई केही रकम घुस दिनुपर्छ । त्यतिले मात्रै हुँदैन, आफ्नो अस्पताल नभएपछि अन्य अस्पतालमा विद्यार्थी लैजाँदा निकै महँगो रकम तिर्नुपर्छ । त्यसैले विद्यार्थीहरूबाट अतिरिक्त रकम लिएको हो । 

नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘विद्यार्थीबाट बढी रकम लिएर सरकारी पदाधिकारीलाई घुस खुवाउनुपर्दा समस्या आएको हो ।’ सरकारले चिकित्सकहरूका सबै विधामा शुल्क निर्धारण गरेको भए पनि नर्सिङ विधामा वैज्ञानिक शुल्क निर्धारण गरिएको छैन । शुल्क निर्धारण नभएकै कारण कलेजले तोकेकोभन्दा बढी रकम लिएर विद्यार्थी भर्ना गरिरहेका छन् । 

अर्का एक विद्यार्थीले भनिन्, ‘मैले भर्ना हुँदा चार लाख दिनुपर्ने हो, तर कलेजले ६ लाख लिएको छ । एकैपटक बढी रकम लिएको छैन ।’ कति विद्यार्थीसँग विनाबिल बढी रकम लिएको छ । जबर्जस्त बिल माग्नेसँग एक–दुई महिनामा फरक–फरक मिति राखेर रकम उठाइएको छ । नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले भनिन्, ‘अतिरिक्त रकम लिएको कुरा बाहिर गएको खण्डमा प्राक्टिकलमा फेल गराउनेसम्मको धम्की प्रशासनले दिएर विद्यार्थीलाई त्रासमा राखेको छ ।’ 

‘नेपाल नर्सिङ काउन्सिलका अनुसार नर्सिङ कलेजमा ठूलो विकृति छ । नीतिगत तहमा राखेको पहुँचका आधारमा कलेज खोलिएको छ, तर पूर्वाधारको हिसाबले शून्य  छ,’ काउन्सिल स्रोत भन्छ । एभरेस्ट  नर्सिङ कलेजको आफ्नै अस्पताल छैन । उसले कुनै अस्पतालसमक्ष सम्झाैता गरेर विद्यार्थीलाई प्राक्टिसका लागि उक्त अस्पतालमा लैजाने गर्छ । नर्सहरूको मौनताको फाइदा उठाउँदै कलेजले लिनुपर्नेभन्दा बढी रकम लिएका हुन् ।  देशमा प्रतिवर्ष सात हजारभन्दा बढी नर्स उत्पादन हुन्छन् ।

यसरी उठाएको छ पैसा
०७४ मंसिर ९ गते भर्ना शुल्क एक लाख, ट्युसन शुल्क १५ हजार, ०७४ माघ ५ मा भर्ना शुल्कको नाममा चार लाख,  ०७४ माघ ५ मा पुनः अन्य शुल्कका नाममा एक लाख रुपैयाँ गरी पहिलो वर्ष ६ लाख १५ हजार रुपैयाँ लिएको कलेजले दिएको बिलमा स्पष्ट छ । उनले अझै आठ लाख तिर्नुपर्नेछ । 

त्यस्तै हाल अन्तिम वर्षमा अध्ययनरत एक नर्ससँग पनि ०७४ पुस २३ को मितिमा भर्ना शुल्क चार लाख ८० हजार र अन्य शुल्क दुई  लाख लिएको छ भने ०७४ माघ ४ मा सात लाख २० हजार, त्यस्तै सोही वर्षको माघ २५ मै ट्युसन शुल्कका नाममा थप एक लाख गरी जम्मा १५ लाख लिएको छ । पीडित विद्यार्थीका अनुसार कुनै पनि विद्यार्थीलाई समय मिलाएर रकम तिराउने र  बिल दिने गरेको छैन ।