
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ६ स्थित चारकिलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । सोही स्थानमा बुधबार दिउँसो ४:३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।
यता पृथ्वी राजमार्गको नारायणगढ–नौबिसे सडकखण्डअन्तर्गत कुरिनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । साँझ पहिरो खसेसँगै अवरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो ।
केही दिनयताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।