१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज ५ सोमबार ०१:४८:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बोक्सी बकाउन मध्यरातमा मन्दिरमा पञ्चायती : कुटपिट गरी मलमूत्र खुवाइएकी महिला अस्पतालमा

Read Time : > 7 मिनेट
२०७७ असोज ५ सोमबार ०१:४८:००

गाउँमा मान्छे पोखरीमा डुबेको र चट्याङ लागेर मृत्यु भएको दोष दिँदै शिव मन्दिर परिसरमा महिलालाई कुटपिट गर्ने समाज कानुनसँग मात्र होइन, भगवान्सँग पनि डराएन


रातको १२ बजे ।

सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डीस्थित शिव मन्दिरमा गाउँका अगुवाको ‘पञ्चायती’ बस्यो ।

एजेन्डा थियो– स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएकीले दोषीलाई सजाय दिने ।

सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका एक झाँक्रीले स्थानीय महिला मूर्तिदेवी बोक्सी भएको ठहर गरिसकेका थिए । दोषीलाई सजाय दिन र गाउँमा सुख र शान्ति स्थापना गर्न यो पञ्चायती डाकिएको थियो । गाउँबाट झाँक्री ल्याएर घरमै झारफुक गराएका थिए ।

४५ वर्षीया मूर्तिदेवीका पति रामनारायण यादवले कुटानी–पिसानी मिल सञ्चालनसँगै खेतीपाती गर्दै आएका छन् । ‘अघिल्लो शनिबार दिनभर मिल चलाएर राति ९ बजेतिर बन्द गरी नुहाएर खाना खाई सुतिसकेको थिएँ,’ रामनारायणले नयाँ पत्रिकासँग भने, ‘राति १२ बजे अचानक गाउँका दुईजना आएर उठाए, मैले किन–कसो भन्न पाइनँ । जरुरी छ भन्दै मलाई लिएर गए ।’

रामनारायण शिव मन्दिर पुग्दा ५० जनाभन्दा बढी जम्मा भइसकेका थिए । मध्यरातमा मन्दिरमा यति धेरै मान्छे जम्मा भएको देखेर रामनारायण डराए । पञ्चायतीले उनीसँग बयान लिन थाल्यो । ‘धर्मनाथकी छोरी बिरामी छ, तिम्री श्रीमती बोक्सी लागेको हो । तिमीहरूले सजाय पाउनुपर्छ भनेर उनीहरूले सुनाए । मैले अहिलेको जमानामा बोक्सीको कुरा गर्न मिल्छ भनेर सोधेँ । तर, मेरो भनाइ सुन्ने कोही थिएन,’ उनले भने ।

श्रीमती मूर्तिदेवी बोक्सी हो भनेर रामनारायणलाई बयान दिन बल गरिएको थियो । तर, उनले मानेनन् । त्यसपछि उनलाई बोल्न नदिई एक समूह उनको घर गयो । ‘एकैछिनमा त्यो समूहले मेरी श्रीमती मूर्तिदेवीलाई लछारपछार गर्दै घिसार्दै ल्यायो, गाउँका छोरा मान्छेहरू यो बोक्सी हो भन्दै उफ्रिरहेका थिए । उनीमाथि लात्ती र मुक्का वर्षा भइरहेको थियो,’ रामनारायणले भने, ‘एक–दुईजनाले बचाउन खोजे, उनीहरूलाई पनि भिडले तह लगायो । श्रीमती बचाऊ–बचाऊ भनेर चिच्याइरहेकी थिइन्, म जोगाउन अघि बढेँ । मलाई पनि लात्ती र मुक्का हानेर ढलाए ।’

मध्यरातमा मन्दिरमा कोलाहल भयो । आमालाई घिसार्दै लगेको देखेर छोरा गणेश पनि दगुर्दै गए । ‘आमालाई, बाबालाई र मलाई सबैलाई कुटे,’ गणेशले भने, ‘गाउँमा धर्मनाथकी छोरी बिरामी भएकी थिइन् । पोखरीमा डुबेर एक छिमेकीको मृत्यु भएको थियो । चट्याङ लागेर अर्का एकजनाको मृत्यु भएको थियो । यो सबको दोष हाम्री आमालाई लगाए ।’

छोरा गणेशका अनुसार मूर्तिदेवी रक्ताम्य भएर ढलेपछि पनि मान्छेहरूले बोक्सी भन्दै लात्ती हानिरहेका थिए । ‘उनीहरूले बोतलमा घोलेर मलमूत्र ठिक्क पारेका रहेछन्, अचेतजस्तै भएकी मूर्तिदेवीलाई खुवाए । हामी बाबुछोरालाई समातेर बन्धक बनाएका थिए । हामीले केही गर्न सकेनौँ,’ छोराले भने । 

यसरी महिलालाई बोक्सी भनेर कुटपिट गर्ने र मानव मलमूत्र खुवाउने ‘पञ्चायती’मा स्थानीय जननिर्वाचित प्रतिनिधि पनि थिए । नवराजपुर– ५ का वडासदस्यसमेत रहेका स्थानीय रामउद्गार यादव पनि सो भिडमा सहभागी रहेको परिवारको गुनासो छ ।

एउटी महिलालाई कुटेर, ढलाएर, विवश बनाएर मानव मलमूत्र खुवाएपछि गाउँको पञ्यायती रातको करिब १ बजे समापन भयो । तर, मूर्तिदेवी गम्भीर घाइते भएकी थिइन् । श्रीमान् र छोराले एम्बुलेन्स बोलाएर राति नै लहानस्थित कामना नर्सिङ होममा पुर्‍याए । ‘तर, चोट गम्भीर छ भनेर कामना नर्सिङ होमले यहाँ उपचार हुन नसक्ने बतायो । त्यसपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ, आमा बोल्न सक्नुहुन्न, अब एक–दुई दिनमा अप्रेसन गर्नुपर्छ भनेको छ,’ छोरा गणेशको भनाइ छ ।

अन्याय परेकालाई गाउँघरमै न्याय दिन स्थानीय पालिकालाई कानुनले अधिकार दिएको छ । तर, स्थानीय गाउँपालिकाले यो विषयमा दोषीलाई कारबाही गर्न कुनै पहल लिएको छैन । गाउँपालिका केन्द्रबाट जम्मा तीन किलोमिटरको दूरीमा रहेको कुर्सन्डी गाउँमा भएको यो घटनाको विषयमा जानकार भए पनि जनप्रतिनिधि भने औपचारिक जानकारीको पर्खाइमा छन् । घटनाको विषयमा न्यायिक समितिकी संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादवले भनिन्, ‘घटनाबारे तेस्रो व्यक्तिहरूबाट थाहा पाएँ, पीडित र आरोपी पक्ष कसैले पनि लिखित निवेदन दिएका छैनन् । निवेदन नआएसम्म हामीले केही गर्न मिल्दैन ।’

कुटपिटबाट घाइते भएकी महिला अस्पताल भर्ना भएको एक सातासम्म पनि जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्था र राहतको विषयमा समेत चासो राखेका छैनन् । गम्भीर घाइते महिला अस्पतालको बेडमा छिन्, परिवारका सदस्य उनको उपचारका लागि दौडधुप गरिरहेका छन्, स्थानीय जनप्रतिनिधि आफैँले चासो राख्नुपर्ने होइन र भन्ने नयाँ पत्रिकाको जिज्ञासामा गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले भने, ‘गाउँघरमा यस्ता खालका झगडा, कुटपिट भइरहन्छन्, पीडितले नभनेसम्म कहाँ–कहाँ जाने ?’

पञ्चायतीमा धेरैजना उपस्थित रहे पनि सबैभन्दा कुटपिटको नेतृत्व धर्मनाथ यादव, उनको छोरा सन्तोष, देवनाथ, छोरा पशुपति यादव, महेश यादव र कृष्ण यादवका भाइ ब्रह्म यादवले गरेको मूर्तिदेवीका छोरा गणेशले बताए । कुटपिट गरेको र मलमूत्र खुवाएको विषयमा प्रहरीलाई उजुरी गर्दा चोरीको मुद्दामा फसाउने धम्की दिएको गणेशले बताए । ‘उनीहरूले धम्की दिएका छन्, तर हामीले इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी दर्ता गराएका छौँ,’ रामनाराणले भने ।

घटनाको एक सातापछि आइतबार मात्र इलाका प्रहरी कार्यालय महेशपुर पतारीले गाउँमा पुगेर घटनास्थलको प्रकृति मुचुल्का उठाएको छ, तर अहिलेसम्म कोही पनि पक्राउ परेको छैन । ‘आरोपितहरू अहिले फरार छन्,’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्तासमेत रहेका डिएसपी शालिकराम पौडेलले भने । 

......

आठ महिनामा मात्रै मधेसमा १० महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार

१. ७० वर्षीया महिलालाई बोक्सी आरोपमा कुटपिटपछि गोबर खुवाउने प्रयास

धनुषाको कमला नगरपालिका–७, हथमुण्डा बस्ने ७० वर्षीया देवकीदेवी सहनीलाई गत ३० भदौमा सातजना छिमेकीले बोक्सीको आरोपमा कुटपिट मात्रै गरेनन्, गोबर खुवाउने प्रयाससमेत गरे । 

स्थानीय बिर्जु सहनीका बुबा शनिचर सहनी ब्लड क्यान्सरबाट पीडित थिए । तर, उनलाई देवकीले बोक्सी लगाएको भन्दै बिर्जुसहित ५५ वर्षीया मनटुटियादेवी सहनी, ३५ वर्षीय प्रवेश सहनी, २५ वर्षीय प्रदीप सहनी, १८ वर्षीया रिना सहनी, १८ वर्षीया अञ्जिला सहनी र प्रदीपकी २५ वर्षीया पत्नीले कुटपिट गरे । उनीहरूले आफूलाई गोबर खुवाउने प्रयाससमेत गरेको देवकीले बताइन् । 

कुटपिटबाट देवकीको कम्मर र तिघ्रामा चोट लागेको छ । हातमा दाँतले टोकेका घाउ छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भएको छ । इन्सेक धनुषाका प्रतिनिधि दीपेन्द्र सिंहका अनुसार अधिकारकर्मीहरूको पहलमा ३१ भदौमा पीडकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र प्रहरीले उजुरी दर्ता भएको भन्दै पीडितलाई आश्वस्त पारी पठाएको थियो । तर, धनुषा प्रहरीका डिएसपी मकेन्द्रकुमार मिश्रले भने उजुरी दर्ता नै नभएको दाबी गरे ।

२. बोक्सी आरोपमा कुटपिट, तर प्रहरीले लकडाउन भन्दै उजुरी नै लिएन

धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर टोलकी ४० वर्षीया सिर्जनादेवी महतोलाई १० जेठमा स्थानीय विजय महतो र सवितादेवी महतोले बोक्सीको आरोपमा कुटपिट गरे । तिघ्रा र ढाडमा चोट लागेकी सिर्जना त्यही दिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दिन गइन् । तर, प्रहरीले लकडाउनको समय भएको भन्दै उजुरी नै दर्ता नगरेको महिला अधिकारकर्मी बिना कडारीले बताइन् । 

कुटपिटबाट घाइते सिर्जनाको ढल्केबरस्थित भोगेन्द्र महतोको क्लिनिकमा उपचार गरिएको थियो । इप्रका ढल्केबरका इन्स्पेक्टर तीर्थराज कार्कीले पीडित उजुरी दिन आएको, तर आफ्नो इलाकामा नपर्ने भएकाले फिर्ता पठाएको अधिकारकर्मीहरूलाई बताएका थिए । 

३. बोक्सीको आरोपमा महिलामाथि कुटपिट : सरकारी वकिल कार्यालयको आदेशमा पनि प्रहरीले मुद्दा दर्ता गर्न मानेन

सप्तरीको बोदेबर्साइन नगरपालिका– ८ काचनकी ३५ वर्षीया प्रीतिकुमारी साहलाई बोक्सी भन्दै १२ माघ ०७६ मा स्थानीय पाँचजनाले कुटपिट गरे । उनलाई कुटपिट गर्न छिमेकी लक्ष्मी साह सहयोगीसहित घरमै आएका थिए ।

प्रीतिलाई देख्नेबित्तिकै लक्ष्मीले ‘यसको तान्त्रिक विद्याले हामी सबैलाई बर्बाद गर्ने भयो, आज तन्त्र विद्या सखाप पार्न दिसा खुवाई कुटपिट गर’ भनेर सँगै ल्याएकालाई आदेश दिए । लगत्तै लक्ष्मीसहित ४५ वर्षीय गोसाई साह, उनकी पत्नी ४४ वर्षीया कालीदेवी, छोरा २२ वर्षीय सन्तोष र भाइ ४१ वर्षीय विनोदले कुटपिट गर्न सुरु गरे । 

आफूहरूमाथि भएको ज्यादतीविरुद्ध प्रीतिका पति पुहुपलाल साहले १५ माघमा इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिन खोजेका थिए । तर, प्रहरीले लिन मानेन । जिल्ला सरकारी वकिल कार्यालयले उजुरी दर्ताका लागि इप्रका कडरबोनाको नाममा पत्राचार पनि गरेको थियो । तैपनि प्रहरीले उजुरी लिन नमानेको भन्दै प्रीति र पुहुपलालले ५ असारमा राजविराजमा पत्रकार सम्मेलन नै गरे । तर, इप्रका कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले राजनीतिक विवादका कारण सामान्य झगडा भए पनि बोक्सीको उजुरी लिएर कोही नआएको दाबी गरेका थिए । 

४. प्रहरीले मुद्दा त दर्ता गर्‍यो, तर दोषीलाई पक्राउ गरेन

सप्तरीको राजगढ गाउँपालिका–४ की ३५ वर्षीया ललितादेवी रामलाई १७ माघ ०७६ मा स्थानीय श्यामनाथ राम, सुरेन्द्र राम र छोटेलाल रामले बोक्सीको आरोपमा निर्घात कुटपिट गरे । पीडितले २० माघमा उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीले ४ फागुनमा मात्रै उजुरी दर्ता गर्‍यो । तर, अहिलेसम्म पनि पीडकहरूलाई पक्राउ गरिएको छैन । 

५. गाईवस्तुलाई बोक्सी लगाएको भन्दै कुटपिट

सिराहाको भगवानपुर गाउँपालिका– २ की ८० वर्षीया जलेश्वरीदेवी यादवलाई १६ फागुन ०७६ मा स्थानीय ३३ वर्षीय दुनियालाल यादव, ३५ वर्षीय जीवछ यादव र ३० वर्षीय केदार यादवले बोक्सीको आरोपमा कुटपिट मात्रै गरेनन्, मलमूत्र खुवाउने प्रयास पनि गरे । 

जलेश्वरीले बोक्सी लगाएर आफ्नो घरका मानिस र गाईवस्तु बिरामी भएको भन्दै कुटपिट र दुर्व्यवहार गरिएको थियो । पीडितले २३ फागुनमा इलाका प्रहरी कार्यालय लहानमा हुलाकमार्फत उजुरी दिएकी थिइन् । तर, दोषीहरू अहिलेसम्म पक्राउ गरेका छैनन् । 

६. बोक्सी लगाएर बाख्रा मारेको भन्दै कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिका– ८ प्रवाहा टोलकी ३२ वर्षीया शिवरती मुखियालाई बोक्सीको आरोप लगाउँदै १८ जेठमा गाउँकै ६५ वर्षीय रामप्रसाद मुखिया, उनका छोराहरू ४० वर्षीय धर्मदेव मुखिया र २५ वर्षीय ब्रह्मदेव मुखियाले कुटपिट गरे । १६ जेठमा रामप्रसादका बाख्रा मरेका थिए भने केही दिनअघि उनका छोराछोरी बिरामी परेका थिए । तर, त्यसको दोष शिवरतीलाई लगाएर कुटपिट गरिएको हो । 

उनीहरूले घरमै पसेर कुटपिट गरेको शिवरतीले बताइन् । उनलाई जोगाउन खोज्दा उनका पति ३७ वर्षीय रामा मुखिया र देउरानी ३१ वर्षीया देवशिला मुखियालाई समेत कुटपिट गरे । घाइते तीनैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गरिएको थियो । 

कुटपिट गर्ने ब्रह्मदेवले भने झुटा आरोप लगाएको प्रतिक्रिया दिए । जग्गाको विषयमा विवाद हुँदा झगडा भएको र त्यसमा आफू, आफ्ना दाजु धर्मदेव र आमा ६० वर्षीया बिन्दीदेवीलाई पनि चोट लागेको उनको भनाइ छ । उनले आफ्नी पत्नी २१ वर्षीया कोशिलादेवी मुखियाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको बताए । 

शिवरतीले यसका विरुद्ध २१ जेठमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिएकी छिन् । त्यही दिन घाउ जाँच गरिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए । 

७. बोक्सी आरोपमा कुटपिट, कुटपिट गर्ने आठ महिनादेखि फरार

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ की ६० वर्षीया चन्द्रकलादेवी यादवलाई बोक्सीको आरोप लगाउँदै गत २ माघमा गाउँकै ५० वर्षीय राजेन्द्रप्रसाद यादव, २८ वर्षीय रामप्रसाद यादव, २७ वर्षीय अमित यादव, ४० वर्षीय सियाराम यादव र ४० वर्षीय बालकृष्ण यादवले कुटपिट गरे । बोक्सीको आरोप कुटपिट गरिएपछि चन्द्रकलाले ३ माघमा इलाका प्रहरी कार्यालय, लहानमा उजुरी दिएकी थिइन् । तर, अहिलेसम्म कुटपिट गर्नेहरू पक्राउ परेका छन् । उनीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुभन्दा एक वर्ष अघिदेखि नै गालीगलौज, दुःख दिँदै आएको चन्द्रकलाले बताइन् । इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले यस घटनामा अनुसन्धान भइरहेको बताए । तर, आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको उनको भनाइ छ ।

८. बोक्सी आरोपमा कुटपिट गर्ने २५ हजार धरौटीमा रिहा

सिराहाको सुखीपुर नगरपालिका–७ की ५५ वर्षीया सावित्रीदेवी साहलाई ३ वैशाख ०७७ मा बोक्सीको आरोपमा अमानवीय व्यवहार भयो । सावित्रीमाथि दुव्र्यवहार गर्नेविरुद्ध १५ वैशाखमा इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी परेपछि ४० वर्षीय त्रिवेणी साह पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर अरबिन्दकुमार साहले आरोपितलाई ३२ जेठमा गिरफ्तार गरेको बताएका थिए । तर, जिल्ला अदालतको आदेशमा आरोपित १६ असारमा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

९. बोक्सीको आरोपमा कुटपिट 

३ वैशाखमै बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरकी ३६ वर्षीया सरितादेवी सहनी, १९ वर्षीया रबरीदेवी सहनी र १२ वर्षीया खुसुबुकुमारी सहनीमाथि कुटपिट भयो, आरोप थियो– बोक्सी मन्त्र पढेर बालिकालाई बिरामी बनाएको छ । उनीहरूलाई कपाल समातेर लछारपछार मात्र गरिएन, निर्मम कुटपिट गरियो । उसैदिन पीडित पक्षले उजुरी दिएको थियो । तर, प्रहरीका आँखा धेरै पछि खुल्यो । कुटपिटको आरोपमा सोही ठाउँका ३० वर्षीय विगनप्रसाद सहनी, ३५ वर्षीय जलन्धरप्रसाद सहनी र ५५ वर्षीय महेशप्रसाद सहनी २१ वैशाखमा पक्राउ परे । कुटपिटबाट घाइते तीनैजनाको परिवारले नै स्थानीय निजी क्लिनिकमा उपचार गराएका थिए ।

१०. सिरहाको नवराजपुर–५ कुर्सुन्डीनिवासी मूर्तिदेवी यादवमाथि बोक्सीको आरोपमा कुटपिट

बोक्सी बकाउन मध्यरातमा मन्दिरमा पञ्चायती : कुटपिट गरी मलमूत्र खुवाइएकी महिला अस्पतालमा । गाउँमा मान्छे पोखरीमा डुबेको र चट्याङ लागेर मृत्यु भएको दोष दिँदै शिव मन्दिर परिसरमा महिलालाई कुटपिट गर्ने समाज कानुनसँग मात्र होइन, भगवान्सँग पनि डराएन । (विस्तृतमा यही समाचारको लिड स्टोरी)