मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २ शुक्रबार १९:११:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रहरीसँग गुनासो छ ? स्थानीय तहका सुझाबपेटिका प्रयोग गर्नुस्

Read Time : < 1 मिनेट
२०७७ असोज २ शुक्रबार १९:११:००

बागमती प्रदेशमा कार्यरत नेपाल प्रहरीका कर्मचारीसँग गुनासो भए स्थानीय तहको सुझाबपेटिका प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तहसँगको सहकार्यमा प्रहरीसँग जनताले गरेका गुनासो र सुझाबको सम्बोधन गर्न सुझाबपेटिका प्रयोग गर्ने व्यवस्था मिलाएको हो । 

अधिकांश स्थानीय बासिन्दा स्थानीय तहमा विभिन्न कामकाजले आवातजावत गरिरहने भएकाले उनीहरूले प्रहरीसँग सम्बन्धित गुनासो पनि त्यहीँ राख्न पाउने व्यवस्थासहित प्रदेश प्रहरी कार्यालयले प्रत्येक स्थानीय तहमा सुझाबपेटिका राख्ने योजनाअघि सारेको हो । 

प्रहरी कार्यालय, युनिट र प्रहरी कर्मचारीहरूबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आमनागरिकबाट प्राप्त हुने सल्लाह, सुझाबका साथै गुनासोलाई उचित सम्बोधन गर्दै त्यसअनुरूप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले स्थानीय तहसँगको सहकार्यमा गुनासो तथा सुझाब संकलन पेटिका राखिएको कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले बताए ।

कार्यालयले बिहीबार प्रदेश प्रहरी कार्यालयअन्तर्गतका १० वटा जिल्लामा रहेका एक महानगर, एक उपमहानगर, २५ नगर र सदरमुकाममा रहेका एक गाउँपालिकामा  सुझाबपेटिका राखेर योजनाको सुरुवात गरेको एसएसपी गिरीले जानकारी दिए । हेटौँडा उपमहानरपालिका कार्यालयमा सुझाबपेटिका राख्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले नागरिकबाट प्राप्ते हुने गुनासो तथा सुझाबलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवं जवाफदेही बनाउने उद्देश्यले यो योजना अघि सारिएको बताए । 

उनका अनुसार कार्यालयले गुनासो तथा सुझाबपेटिका सञ्चालनसम्बन्धी कार्ययोजना ०७७ तयार गरी चरणगत रूपमा प्रदेशभरका सबै स्थानीय तहको कार्यालयमा पेटिका राख्ने तय गरिएको छ । कार्ययोजनामा भएको व्यवस्थाअनुसार प्रथम चरणमा २८, दोस्रो चरणमा ७० वटा स्थानीय तह र तेस्रो चरणमा प्रदेशभरका आठ सय ७४ वटा वडा कार्यालयमा पेटिका राखिने डिआइजी लामाले जानकारी दिए ।