मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
२०७७ भदौ ३० मंगलबार १६:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने

पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक

Read Time : > 2 मिनेट
२०७७ भदौ ३० मंगलबार १६:३२:००

यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने भएको छ । कोभिड– १९ का कारण वैशाखमा पठनपाठन सुरु हुन नसके पनि शैक्षिक सत्रको अन्त्य चैत मसान्तमै हुने शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । 

शिक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले कानुनी व्यवस्थाअनुसार नै विद्यालयको शैक्षिक सत्र चैत मसान्तमा सकिने बताएका हुन् ।

महानिर्देशक दाहालले भने, ‘शैक्षिक सत्र वैशाखदेखि सुरु भएको र चैत मसान्तमा सकिन्छ । कानुनी व्यवस्थाअनुसार चैत मसान्तसम्म पठनपाठन सक्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ल्याइएको हो ।’ शिक्षा मन्त्रालयमा पाठ्यवस्तु समायोजन ढाँचासमेत मंगलबार सार्वजनिक भएको छ । 

कोभिड– १९ का कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए । कोेभिडका कारण अवरुद्ध भएको नियमित पठनपाठन सुचारु गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले गत १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ जारी गरेको थियो ।

त्यसका आधारमा १ असारदेखि वैकल्पिक कार्यक्रम सञ्चालन भएको थियो । १९ भदौमा अर्को ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ स्वीकृत गरेको छ । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले दूर तथा खुला शिक्षालाई औपचारिक मान्यता दिएको छ । 

केन्द्रका महानिर्देशक दाहालले पाठ्यवस्तु समायोजन ढाँचा ल्याएर पाठ्यक्रममा उल्लेख भएको विषयवस्तु नघटाएको, तर कति विषयवस्तु अभिभावकको सहयोगमा विद्यार्थी आफैँले अध्ययन गर्न सक्छन्, कति विषयवस्तुमा शिक्षकको सहयोग चाहिन्छ भन्ने छुट्याइएको बताए । कतिपय बालबालिकाको दूर तथा खुला शिक्षामा समेत पहुँच छैन । 

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ मा पहिलोको निर्णयअनुसार नै नयाँ पाठ्यक्रम कार्यान्वयन हुने बताए । कक्षा १ मा यही शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा गइसकेको छ । 

कोभिड- १९ महामारीमा सिकाइ सहजीकरणका लागि पाठ्यवस्तु समायोजन: शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड १९ को संक्रमणका कारण विद्यालयमा प्रत्यक्ष साक्षात्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेको अवस्थामा सिकाइ प्रणालीलाई सुचारु राख्न र विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन पाठ्यवस्तु समायोजन गरेको बताएका छन् । 

वैकल्पिक उपायको अवलम्बन गर्न यस अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागी सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागू गरी मौजुदा पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता भएको उनले बताए ।

नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत सकिने उनको भनाइ छ । 
पाठ्यक्रमका पाठ्यवस्तु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्यांकनका उपाय सुझाउने उद्देश्यले पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको उनको भनाइ छ । 

पाठ्यवस्तु समायोजनका  लागि तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरिएको छ । 

यसका आधारमा विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्यांकन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ। 

घरमै बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअललगायतका विभिन्न वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्न शिक्षकले पुनरावलोकन मोड्युल, आधारभूत मोड्युल र सुदृढ मोड्युल तयार गरी पाठ्यक्रमका विषयवस्तुलाई शिक्षकले नै समायोजन गरी सहजीकरण गर्नुपर्ने व्यवस्था छ ।
 
विद्यार्थीको सिकाइको मूल्यांकन प्रमाणका आधारमा गर्नुपर्छ । विद्यार्थीको मूल्यांकन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अंकन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनुपने व्यवस्था गरेको छ । अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई समेत जानकारी गराउनुपर्छ । सिकाइ सहजीकरणका क्रममा गरिने मूल्यांकन, प्रयोगात्मक मूल्यांकन र प्रमाणीकरण मूल्यांकनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिन्छ । 

शिक्षकले आन्तरिक र आवधिक मूल्यांकन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै प्रक्रिया अपनाएको भए पनि ती विद्यार्थीको सहभागितामा गरिएको हुनुपर्नेछ । 

विद्यार्थीको मूल्यांकन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्नेछ । मूल्यांकन प्रक्रियाका लागि पाठ्यवस्तु समायोजन ढाँचामा स्पष्ट निर्देशन गरिएको छ ।