१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३० आइतबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

६ महिनादेखि भारतमा अड्किएका दुई रेल भदौभित्रै ल्याइने

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:२४:oo

- जनकपुर–जयनगर रेल सञ्चालन अझै अनिश्चित

 - अध्यादेशमार्फत रेल सञ्चालन कानुन जारी गरिँदै

भारतको बिहारस्थित हाजीपुरमा २०७६ फागुनदेखि रोकेर राखिएका दुई रेल भदौभित्रै नेपाल ल्याइने तयारी गरिएको छ । गत फागुनदेखि नै जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि ल्याइएका ती रेल कोभिड–१९ का कारण बीचबाटोमै अड्किएका हुन् । ८४ करोड ६५ लाखमा भारतको कोंकन रेल्वे कर्पोरेसनसँग जिटुजीमा खरिद गरिएका दुईवटा रेल यही महिनाभित्रै ल्याइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए । हप्ता दिनभित्र ती रेल जयनगरस्थित नेपाली स्टेसनमा ल्याएर टेस्टिङ (जाँच) गरिने उनले बताए ।  

जनकपुर–जयनगर रेल सञ्चालन अझै अनिश्चित
भदौभित्रै रेल ल्याउने तयारी भए पनि ती रेल कहिले सञ्चालनमा ल्याउने भने टुंगो भइसकेको छैन । कोरोनाको यस्तो अवस्थामा सञ्चालन कहिलेदेखि हुने भन्न नसकिने रेल विभाग र रेल्वे कम्पनीका अधिकारीहरूले बताए । जनकपुरदेखि बर्दिवाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेल्वे ट्र्याकमा पहिलो चरणमा जनकपुर– जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गर्ने तयारी छ । दोस्रो चरणमा जनकपुर–कुर्थादेखि विजलपुरसम्म ४६ किलोमिटरमा सञ्चालन गरिनेछ । त्यस क्षेत्रमा भने अहिले रेल्वे ट्र्याकको निर्माण कार्य भइरहेको छ । त्यस्तै, विजलपुरादेखि बर्दिवाससम्म १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भई जग्गा अधिग्रहण प्रक्रिया थालिएको भए पनि विवादका कारण कुनै प्रगति हुन सकेको छैन । 

तर, जनकपुरस्थित रेल्वे विभागका इन्जिनियर विनोद ओझाले भने कोरोना र जग्गाको मूल्यांकनमा विवाद भएकाले तत्काल मुआब्जा वितरण सुरु हुन नसकेको बताए । विजलपुरादेखि बर्दिवाससम्म ५ सय ६६ वटा कित्ताको जग्गालाई मुआब्जा तिर्नुपर्नेछ । 

अध्यादेशमार्फत कानुन ल्याएर रेल चलाउने
रेल ल्याउने काम लगभग अन्तिम चरणमा पुगे पनि अहिलेसम्म रेल सञ्चालनसम्बन्धी कानुन संसद्मा दर्ता भए पनि छलफलमा आएकै छैन । अहिले संसद् अधिवेशन पनि छैन । यस्तो अवस्थामा अध्यादेशमार्फत रेल सञ्चालनको कानुन ल्याउने तयारीमा सरकार छ । ६ महिनादेखि रेल सञ्चालनसम्बन्धी ऐन संसद्मा छ । अध्यादेशमार्फत कानुन ल्याएर रेल चलाउनेबारे छलफल भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
 
रेल सञ्चालनका लागि भारतीय प्राविधिक कर्मचारी  
रेल सञ्चालनका लागि तत्काल भारतीय प्राविधिक कर्मचारी राखिनेछ । चालक, इन्जिनियर, संकेत देखाउने कर्मचारीलगायत भारतबाट र बाँकी प्रशासनिक कर्मचारी नेपाली राखिने तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका अधिकारीहरूको भनाइ छ । भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता हुँदै छ । सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ । 

यसअघि रेल चालकसहित २६ जना प्राविधिक कर्मचारी भर्नाका लागि रेल विभागले सूचना प्रकाशित गरेको थियो । तर, एकजनाले पनि जागिरका लागि निवेदन दिएनन् । त्यसकारण पहिलो चरणमा भारतबाटै प्राविधिक कर्मचारी ल्याउने र उनीहरूकै सहयोगमा नेपालीलाई तालिम दिएर सक्षम बनाउने तयारी छ । 

रेल्वे ट्र्याकको ५ हजार क्लिप गायब
यस वर्षको बाढीका कारण रेल ट्र्याकमा क्षति पुगेको छ भने ५ हजार रेल्वे ट्र्याकको क्लिप गायब भएको छ । क्षति भएको ठाउँमा मर्मत गर्ने र गायब भएका क्लिप पुनः नयाँ जडान गर्ने काम भइरहेको इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

ad
ad