Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमल खत्री म्याग्दी
२०७७ भदौ २४ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युवालाई कृषि र पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामा

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ भदौ २४ बुधबार ०८:१७:००

कोरोनाले रोजगारी गुमाएका युवाहरूलाई कृषि र पशुपालनमा आकर्षित गरी स्वरोजगार बनाउन म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि युवाहरूलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई गाउँपालिकाले अघि सारेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ का लागि गाउँपालिकाले कृषि बिमा कार्यक्रम गर्ने तयारी गरेको छ । गाउँपालिकाभित्र उत्पादन हुने धान, गहुँ, आलुलगायतका प्रमुख बालीहरूमा असिना, बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपबाट क्षति भएको अवस्थामा राहत दिने गरी कृषि बिमा कार्यक्रमलाई लागू गर्ने तयारी गरिएको सुवेदीले बताए । कृषि बिमामा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले कृषक समूह दर्तासम्बन्धी कार्यविधि पारित गरिसकेको छ । 

सहकारीमार्फत उत्पादनशील क्षेत्रमा जोडिनेका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको रघुगंगामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३८ लाख रुपैयाँ बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालू आवमा कृषि यान्त्रीकरणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसमार्फत परम्परागत कृषिलाई आधुनिकीकरण गर्नका लागि औजार, उपकरण अनुदानमा वितरण गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । 

यस वर्ष गाउँपालिकाले कृषकलाई सुन्तला, कागती, किबी, ओखर र एभोकाडोका बिरुवा वितरणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । बस्ती र स्थानअनुसार उपयुक्त खेतीलाई प्रवद्र्धन गर्नका लागि कुन स्थानमा कुन खेतीको सम्भावना छ भन्ने कुराको पहिचान गर्ने जनाइएको छ । यसका लागि २ सय स्थानको माटो परीक्षण गरिने भएको छ । माटो परीक्षणका लागि गाउँपालिकाले २ लाख रुपैयाँ विनियोजन गरेको छ । 

गाउँपालिकाले कृषिसँगै पशुपालनलाई समेत प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । कोरोनाका कारण रोजगार गुमाएर विदेशबाट फर्किएका युवाहरूलाई पशुपालनमा जोड्नका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोना कहरले विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै आत्मनिर्भरतातर्फ लाग्नका लागि सो बजेटबाट प्रोत्साहन गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । 

रघुगंगामा यस वर्ष पशु नश्ल सुधारमा १० लाख, औषधि खरिदमा ७ लाख, भेडापालन प्रवर्द्धनका लागि १६ लाख, पशु खोपका लागि २ लाख, नमुना गोठ निर्माणका लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।