१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १९ शुक्रबार
  • Thursday, 05 June, 2025
२o७७ भदौ १९ शुक्रबार o६:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यावसायिक रूपमा घाँसका बिरुवा उत्पादन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १९ शुक्रबार o६:o९:oo

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली बैरेनीका लालमणि पाण्डेले नोकरीबाट अवकाश पाएपछि व्यावसायिक रूपमा घाँसका बिरुवा उत्पादन गर्दै आएका छन् । ४० वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साबिकका २४ वटा गाविसमा सामाजिक परिचालकको नोकरीपछि व्यावसायिक रूपमा घाँसका बिरुवा उत्पादन सुरु गरेका हुन् । 

करारको जागिरे जीवनको समयावधि सकिएपछि सानैदेखि कृषि क्षेत्रमा रुचि रहेकाले घाँसका बिरुवा उत्पादन व्यवसायमा लागेको उनको भनाइ छ । २०७३ सालमा घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालय प्युठानमा क्षितिज बाख्रा तथा घाँसेबाली बिउबेर्ना नामक फर्म दर्ता गरी व्यवसाय सुरु गरेको पाण्डेले बताए ।

फर्म दर्तापूर्वदेखि नै घाँसका बिरुवा उत्पादन गरेकाले ४ महिनामै नर्सरीबाट बिरुवा उत्पादन गरी बिक्रीवितरण गरेको बताए । पाण्डेले आफ्नै पाखोबारी र खेत गरी करिब ४ रोपनी क्षेत्रफलमा घाँसका बिरुवा उत्पादन गरिरहेका छन् । डाले र मसिनो गरी दुई प्रकारका विभिन्न घाँसका बिरुवा उनको फर्ममा उत्पादन हुने गरेको छ ।

सिरलेस केमु, काभ्रो, बड्हर, बकाइनो, मसिनो सुपरनिपेयर, नेपियर, सिओ तीन, सिओ फोर, नेपियर, मुलाटो, पाचपालमलगायतका घाँसका बिरुवा उत्पादन हुने गरेको पाण्डेले बताए । हाल फर्ममा डाले र मसिनो गरी करिब १४ हजार घाँसका बिरुवा उत्पादन भएका छन् । माउ बोटबाट नर्सरी तयार गरी बिरुवा उत्पादन गर्दै आएको उनको भनाइ छ । 

उनले घाँसका बिरुवाहरू बिक्री गरेर आर्थिक उपार्जन गर्दै आएका छन् । पहिलो वर्ष १५ हजार रुपैयाँ, दोस्रो वर्ष ६० हजार रुपैयाँ, तेस्रो वर्ष ६१ हजार रुपैयाँबराबरको घास बिक्री गरेको सञ्चालक पाण्डेले बताए । 

त्यस्तै, गत असारमा १ लाख २० हजार रुपैयाँबराबरको घाँस उत्पादन गरे पनि ३७ हजार रुपैयाँबराबरको मात्र घाँसका बिरुवा बेच्न सफल भएको उनको भनाइ छ । ८० हजार रुपैयाँका घाँसका बिरुवा ऐरावती गाउँपालिका कृषि शाखाले लैजाने भनेर राखिदिए पनि गाउँपालिकाले नलैजाँदा बिरुवा बिक्री हुन नपाएको उनको भनाइ छ । गाउँपालिका पशु शाखासँग मौखिक सहमति भए पनि नलगिदिँदा घाँसका बिरुवा खेर गएको उनको भनाइ छ । 

यसभन्दा अघिल्ला वर्षहरूमा गाउँपालिका पशु शाखा र स्थानीयहरूलाई बिक्री–वितरण गरेको उनले बताए । पाण्डेले गाउँपालिकाबाट ५० हजार रुपैयाँ अनुदान र आफ्नो लगानीमा २५ हजार गरी ७५ हजार रुपैयाँ लगानीमा घाँसका बिरुवा उत्पादन व्यवसाय सुरु गरेका हुन् ।