मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १७ बुधबार १८:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यवसायी भन्छन- सरकारले बन्दबाहेक उपाय देखेन, जीवनरक्षाका लागि विद्रोह गर्ने दिन आउन सक्छ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १७ बुधबार १८:०९:००

निषेधाज्ञाको स्वरूप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरूले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोभिड– १९ संक्रमण रोकथामका लागि व्यवस्थापन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको व्यवसायीहरूको ठहर छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड रोकथामका लागि निषेधाज्ञा गरिए पनि सरकारले कुनै व्यवस्थापन नगरेकाले लामो समय यस्तै प्रकारको निषेधाज्ञा आवश्यक नरहेको बताए । 

अर्थतन्त्रका लागि निषेधाज्ञा स्वीकारयोग्य नहुने भए पनि मानिसको जीवनरक्षाका लागि मात्रै स्वीकार गरिएको उनले बताए । पछिल्लो समय रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भन्दै अग्रवालले जीवनरक्षाका लागि भए पनि अर्थतन्त्रलाई सुचारु गर्नुपर्ने बताए । उनले निषेधाज्ञाको स्वरूप परिवर्तन गरी देशको सीमानाकामा कडाइ गर्नुपर्ने, अन्तरजिल्ला आवागमनमा रोक लगाउनुपर्ने र संक्रमणका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनबाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरू मारमा परेको बताए । सरकारले लकडाउन गर्दै गर्दा अल्पकालीन र दीर्घकालीन विकल्प प्रस्तुत गर्न नसकेको उनले बताए । लकडाउनलाई नै विकल्प बनाउँदा व्यवसायी र नागरिक त्रसित बनेकाले लामो समय यस्तै अवस्था रहे जीवनरक्षाका लागि विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । 

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यवसायी विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताए । निषेधाज्ञालाई खुकुलो बनाए संक्रमण फैलने र खुकुलो नबनाए व्यवसायी विस्थापित हुने भएकाले दुवै पक्षलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।