मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १७ बुधबार १५:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय कंग्रेसका नेताहरूलाई भाजपामा प्रवेश गर्न केन्द्रीय मन्त्रीको सुझाब

Read Time : < 1 मिनेट
२०७७ भदौ १७ बुधबार १५:२६:००

भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन एक केन्द्रीय मन्त्रीले सुझाब दिएका छन् । 

कंग्रेस पार्टीमा उनीहरूको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाब दिएका हुन् । कंग्रेसका वरिष्ठ नेताहरू गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाइ छ । 

सत्तारुढ गठबन्धन फेरि पनि शक्ति र सत्तामा फर्किने भएकाले धेरै उमेर पुगेका वरिष्ठ नेताहरू कंग्रेसमै रहिरहँदा कुनै अवसर नपाउने उनले तर्क गरे । 

यसअघि भएको संसदीय निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेस पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन नसकेपछि नैतिकताका आधारमा जिम्मेवारी लिँदै तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेसमा विवाद बढेको छ । 

विशेष गरेर कतिपय नेताहरूले राहुललाई नै अध्यक्ष बनाउनुपर्ने अडान र कतिपय नेताहरूले गान्धीको विकल्प खोज्नुपर्ने अडान राखेकाले पार्टीमा नयाँ अध्यक्ष चयन हुन सकेको छैन ।

नयाँ अध्यक्ष चयन नहुँदासम्म पार्टीले पूर्वअध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । तर, केही समयका लागि त्यो जिम्मेवारी दिए पनि लामो समयसम्म नयाँ अध्यक्ष चयन नभएको भन्दै पार्टीमा विवाद फेरि बढेको हो । 

पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न माग गर्दै आजादसहितका २० जना नेताले केही हप्ताअगाडि अन्तरिम अध्यक्ष गान्धीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । 

त्यसको लगत्तै अध्यक्ष चयन गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइए पनि कुनै निर्णयविना बैठक अन्त्य भएको थियो ।  रासस/एएनआई