१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o५:४७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि सोह्रश्राद्ध अर्थात् पितृपक्ष सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:४७:oo

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरू भएकाे छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ  ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।  चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । 

यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका वेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आसले मर्त्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । 

यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्पअनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।   यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मांगलिक कार्य गर्नुअगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीजस्ता श्राद्धहरू प्रचलित रहेका छन् ।     

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । 

सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भिड लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन ।     

अरूको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरूको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो । 

विश्वव्यापी रूपमा फैलिएको कोरोनाले नेपालमा पनि महामारीको स्वरूप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञालगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (श्राद्ध गर्ने मानिस), ब्राह्मण (श्राद्ध गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।     

कारणवश श्राद्ध राेकिएमा के गर्ने ?

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।     

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्रश्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत हुने समितिका अध्यक्ष गौतमले बताए ।

यो समयमा पनि कारणवश सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।     

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले जानकारी दिए ।  

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । 

कतिपय स्थानीय तहले भने कोरोनाका कारण यस वर्ष भर्चुअल रूपमा श्राद्ध गराउन पुरोहितहरूलाई आह्वान गरेका छन् । धर्मशास्त्रविद्हरू भने विद्युतीय माध्यमबाट गराइने सोह्रश्राद्ध शास्त्रसम्मत नहुने बताउँछन् । यजमानले श्राद्ध विधि जान्ने भए मात्र विद्युतीय विधिबाट सम्भव हुने नत्र अन्य विधि अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।  पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडा दशैँ सुरु हुने गरे पनि यस वर्ष अधिकमासका कारण एक महिना ढिला मात्र नेपालीको महान चाड सुरु हुनेछ ।     रासस