मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १७ बुधबार ०५:१७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोनाले रौनकविहीन इन्द्रजात्रा

Read Time : > 3 मिनेट
२०७७ भदौ १७ बुधबार ०५:१७:००

कोरोना महामारी नभएको भए मंगलबार (भाद्र शुक्ल चतुर्दशी)मा हनुमानढोका दरबार क्षेत्रको रौनक अर्कै हुन्थ्यो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, सरकारका विशिष्ट पदमा रहेका व्यक्तित्व तथा विदेशी पाहुनाले गद्दी बैठकको बाल्कोनी भरिएको हुन्थ्यो ।

उनीहरू इन्द्रजात्रा हेर्दै आनन्द लिइरहेका हुन्थे । श्री कुमारी, भैरव र गणेशका रथमा दक्षिणा चढाउँथे र फूलप्रसाद ग्रहण गर्थे । वसन्तपुर दरबार क्षेत्रमा विशेष बाजासाथ आउने सवाः भकु, पुलुकिसी र लाखे नाच हेर्दै रमाउँथे होला । तर, यसपटक वसन्तपुर सुनसान रह्यो । कोराना महामारीबाट बच्न यसपटक रथयात्रा स्थगित गरिएको गुठी संस्थानले जनाएको छ । इन्द्रजात्रासँग सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरिएको छ । 

इन्द्रजात्रा मात्र नभएर यो वर्ष सबै जात्रापर्व स्थगित भएका छन् । सुरुमा चैत्र शुक्ल अष्टमीको दिन हुने सेतो मच्छिन्द्रनाथको जात्रा स्थगित भयो । त्यसपछि भक्तपुरको बिस्केट जात्रा र मध्यपुर थिमी र बोडेको जिब्रो छेड्ने जात्रा स्थगित भए । कोभिडकै कारण मुलुककै सबैभन्दा लामो जात्रा भनी परिचित रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा दुई महिनादेखि अड्किएको छ । 

काठमाडौं उपत्यकाकै मुख्य र अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चित इन्द्रजात्रा नहुँदा स्थानीय र बाहिरबाट आउने पाहुनाले यसपटक खल्लो माने । ‘हामीले अहिलेसम्म इन्द्रजात्राको दिन जीवित देवता श्रीकुमारीको रथयात्रा हेर्दै आइरहेका छौँ, योपटक हेर्न पाइएन, दरबार क्षेत्र हेर्दा सन्नाटा लागेको छ,’ दश अवतार देखाउने मन्दिरको डबलीमा उभिँदै अशोक राजवंशीले भने, ‘गद्दी बैठक दरबारअघि कुमारी रथ लहरै नराखेको देख्दा नरमाइलो लागेको छ ।’ इन्द्रजात्राकै दिन कोने (तल्लो) क्षेत्रमा रथयात्रा हुन्थ्यो । 

वसन्तपुर, लगन, ब्रह्मटोल, जैसीदेवल, कोहिटी भीमसेनस्थान र वसन्तपुरमै रथयात्रा टुंगिन्थ्यो । रथ परिक्रमाबीच बाटो–बाटोमा कुमारी, भैरव र गणेशलाई समयबजी भाग दिने चलन छ । रथयात्रा नभए पनि प्रथा निरन्तरता रहिरहोस् भनी कतिपय स्थानमा समयबजी भाग छुट्याइएको देखियो । ‘यो वर्ष कोभिडले जात्रा भएन, प्रथालाई निरन्तरता दिनु नै पर्‍यो,’ भीमसेनस्थानका मुकुन्द श्रेष्ठले भने, ‘आजको दिन यहाँ रथ तान्नेको भिड र जात्रा हेर्ने हजारौँको भिड हुन्थ्यो, संक्रमित हुनबाट सबै जोगिनुपर्‍यो, यसैकारण प्रतीकात्मक रूपमा सानो समय् भाग राखेका हौँ ।’ भीमसेनस्थानमा कुमार, भैरव तथा गणेशको प्रतीकात्मक रूपमा सानो काठे रथ बनाइएको छ । 

कोरोनाका कारण यसपटक काठमाडौंको सेतो मच्छिन्द्रनाथ, ललितपुरको रातो मच्छिन्द्रनाथ, भक्तपुरको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा पनि स्थगित 

                                                                                 .....

कालभैरव मन्दिरअगाडि भाद्रकृष्ण द्वादशीको दिन लिंगो ठड्याएपछि काठमाडौंको भित्री सहर जात्रामय हुन्छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि काभ्रेको साँगामा रूख नकाटिएको गुठी संस्थानले जनाएको छ । १४ भदौमा हुनुपर्ने इन्द्रध्वजोत्थान भएन । इन्द्रध्वजोत्थानमा सहभागी हुने मानन्धर समूहले हुनमानढोका दरबार क्षेत्रमै क्षमा पूजा गर्‍यो । 

यो दिन साँझ मृतकहरूको आत्मा शान्तिका ‘उपाकु’मा थोरैको सहभागिता रह्यो । उपाकुमा सहभागी भएका मानिसले सुरक्षा सतर्कता अपनाएका थिए । ‘कोरोनाको डर नभएको होइन, तर आत्मा शान्तिका लागि उपाकुमा सहभागी भएका हौँ,’ ठँहिटीका रामेश्वर बज्राचार्यले भने, ‘यसपालि जोखिम भएकाले धेरै घुमिएन ।’ चलनअनुसार इन्द्रध्वजोत्थानको दिनदेखि भक्कुनाच, महाकालीनाच, लाखे नाच, दश अवतार तथा देवराज इन्द्रको बाहन ऐरावत हात्तीको प्रतीक मानी पुलुकिसी नाच नचाउने गरिन्छ । 

किलागलको पुलुकिसी, मजिपातको लाखे र हलचोकको सवाभक्कुलगायत एकपटक भए पनि हनुमानढोका दरबारमा आउनु नै पर्छ । विशेषतः भक्तपुर र काठमाडौंमा देवनाच देखाउने पालोपालो गरी रातिसम्म प्रस्तुति दिइरहेका हुन्छन् । यसबाट दरबार क्षेत्र मध्यरातसम्म पनि हुलमुल भइरहन्थ्यो । 

                                                                                    .....

इन्द्रचोकमा आकाश भैरव, बटुको वाका भैरव र वर्षमा एकपटक खुल्ने श्वेतभैरव दर्शन गर्न सयौँ संख्यामा भिड लाग्थ्यो । धेरैजसोले श्वेतभैरवमा प्रसादका रुपमा खुवाइने मदिरा (जाँड) चुकचुकाएका छन् । सयौँ युवाहरू प्रसाद खान तँछाडमछाड गर्थे । सो क्रममा श्वेतभैरवमा ‘ग्याङ फाइट’ पनि हुन्थ्यो । ‘श्वेतभैरवअगाडि युवाहरूले प्रसाद खाएको हेर्न खुब मन लाग्छ,’ मखन टोलका अमित खनालले भने, ‘सानैदेखि हेरेको जात्रा यसपालि भएन ।’ यँया पुन्हीको दिन माथिल्लो क्षेत्रमा रथ तान्ने चलन छ । यो दिन वसन्तपुर, नरदेवी, न्ह्योखा, न्हैकन्तला, असन, इन्द्रचोक, हनुमान ढोका हुँदै वसन्तपुरमा बिसर्जन हुन्छ । इन्द्रजात्राको अन्तिम दिन पुनः रथयात्रा हुँदा नरदेवी, किल्लागल, भेडासिं, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरमा रथ तानिन्छ । 

‘अवस्था जस्तो भए पनि संस्कृति मास्नु हुन्न, रथ तान्ने दिनमा अघिल्लो वर्ष जसरी जे गरेका थियौँ, त्यहीअनुसार नै पूजाअर्चना हुन्छ,’ किलागलका राजेश श्रेष्ठले भने, ‘हामीले पुलुकिसीको क्षमा पूजा गरिसक्थ्यौँ, तर समयबजी खुवाउने, पूजा गर्ने रोकिने छैन ।’ इन्द्रचोकमा यसपटक भजन हुनेछैन । आकाश र बाका भैरव फूलैफूलले सजिने छैनन् । विगतमा जात्राको नौ दिनसम्म आकाश भैरव र वाका भैरव फूलैफूलले आकर्षक पारिएको हुन्थ्यो । आकाश भैरवअगाडि डबली बनाएर भजन मण्डलीको प्रस्तुत मध्यरातसम्म हुन्थ्यो । ‘हामीले केही गरेनौँ, नभए इन्द्रचोकमा यो समय कहाँ पाइला टेक्न स्थान भेटाउन सक्छौँ,’ राजन जोशीले भने, ‘केवल सांकेतिक भावअनुसार जात्रा मनाइन्छ ।’