Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार ०८:४६:००
अर्थ प्रिन्ट संस्करण

उद्योग वाणिज्य महासंघ निर्वाचनमा ढकाल समूहको पदाधिकारी घोषणा

जिल्लानगर उपाध्यक्षमा तिवारी, वस्तुगत उपाध्यक्षमा श्रेष्ठ  र एसोसिएट उपाध्यक्षमा संघईको उम्मेदवारी घोषणा

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार ०८:४६:००

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले आफ्नो समूहको पदाधिकारी घोषणा गरेका छन् । ढकाल समूहबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि १४ फागुनमै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महासंघको चुनाव आगामी २६–२७ साउनलाई तोकिएको छ । चुनावले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति निर्वाचित गर्नेछ । महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान एसोसिएट उपाध्यक्ष ढकाल र जिल्लानगर उपाध्यक्ष किशोर प्रधान प्यानलसहित चुनावमा होमिएका छन् । 

ढकाल समहूको पदाधिकारी घोषणा कार्यक्रममा पूर्वअध्यक्ष तथ विशिष्ट सदस्य चण्डी ढकाल, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकर, पूर्वउपाध्यक्ष कृष्ण ताम्राकार, उद्योगपति शशिकान्त अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दीपक मल्होत्रालगायतको उपस्थिति थियो । त्यस्तै, फ्रेट फरवार्डस, दालचामल, गार्मेन्ट, चलचित्र, फेल्ट, संगीत, विद्युतीय व्यवसायी, भन्सार एजेन्ट, सौन्दर्य कलालगायत विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो । पदाधिकारी घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रत्याशी ढकालले आसन्न निर्वाचनका लागि अनुभवी तथा विश्वासिलो टिम बनाएर चुनावी मैदानमा होमिएको बताए । 

गोल्छाले हाम्रै टिमको नेतृत्व गर्नेछन् : ढकाल
महासंघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षका रूपमा शेखर गोल्छाले आफ्नो टिमको नेतृत्व गर्ने ढकालले बताए । ‘यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, हामी यो चुनाव जित्छौँ, हामी त्यसमा विश्वस्त पनि छौँ,’ उनले भने, ‘जब हामी जित्छौँ, हामी उहाँको टिमका सदस्य हौँ, उहाँका लागि यो साधारण जानकारी मात्रै होइन, यो एउटा सन्देश पनि हो ।’ ढकालले आफ्नो टिम अनुभवी भएको तथा सबै स्तरका उद्योग–व्यवसायको प्रतिनिधित्व गरेको बताए । ‘हाम्रो यो टिम अनुभव र विश्वासले भरिएको छ,’ उनले भने, ‘टिममा साना तथा मझौला व्यवसायदेखि ठूला व्यावसायिक घरानासम्मको उपस्थिति छ, त्यति मात्रै नभएर यो टिमको गाउँ, जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ ।’

चार महिनाअघि आफ्नो उम्मेदवारी घोषणासभामा गोल्छाकै नेतृत्वमा एउटा व्यावसायिक र गतिशील टिम बन्ने बताएको उल्लेख गर्दै उनले गोल्छालाई आफ्नो पदको मर्मलाई ख्याल गर्न आग्रहसमेत गरे । ‘मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौँ ? त्यसको मर्मलाई अहिले कसले मार्दै छ ? त्यो केका लागि ?’ उनले प्रश्न गर्दै भने, ‘भविष्यमा हामीले जे गरौँला–गरौँला, तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मिहिनेत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नैपर्छ ।’  

जिल्लानगरको क्षमता वृद्धिलाई कोष खडा गर्छौँ 
जिल्लानगरतर्फका उपाध्यक्षका उम्मेदवार तिवारीले जिल्लानगर उद्योग वाणिज्य संघको क्षमता अभिवृद्धिका लागि कोष खडा गरेर अघि बढ्ने बताए । अहिले उद्योगी–व्यवसायीहरू धेरै ठूलो समस्यामा रहेको उल्लेख गर्दै उनले महासंघलाई साना, मझौला, ठूला सबैखाले व्यवसायीको साझा चौतारी बनाउने बताए । वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार श्रेष्ठले ढकाल नेतृत्वको टिम समावेशी र प्रतिस्पर्धी रहेको बताए । एसोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले उद्योग–व्यवसाय सफल रूपमा सञ्चालन गरेको अनुभव महासंघमा समेत उपयोग गर्ने बताए । पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य ढकालले चन्द्र ढकाल नेतृत्वको टिमको जित सुनिश्चित रहेको दाबी गरे । ‘चन्द्र ढकाल टिमको जित निश्चित छ, चुनावी मिति मात्र कुर्न बाँकी हो,’ उनले भने, ‘यस्तो विषम परिस्थितिमा पनि आजको माहोल हेर्दा चन्द्र ढकाल नेतृत्वको टिमले चुनाव जितिसकेको छ ।’