Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
किरण दहाल काठमाडौं
तस्बिर : सतिश पोखरेल
२०७७ असार ३० मंगलबार ०४:१०:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

कलियुगका जनताको भूमि भारतको कब्जामा, त्रेतायुगका राजकुमारको जन्मभूमि खोज्दै प्रधानमन्त्री

किरण दहाल, काठमाडौं
तस्बिर : सतिश पोखरेल
२०७७ असार ३० मंगलबार ०४:१०:००

त्रेतायुगका राम ठोरीको अयोध्यापुरीमा जन्मिएका हुन् कि उत्तरप्रदेशको अयोध्यामा ? योभन्दा ठूलो प्रश्न अतिक्रमित ७१ ठाउँका जनतालाई कसरी भारतीय फौजको प्रताडनाबाट मुक्त गराउने भन्ने हो । चितवनको अयोध्यापुरीसँगै जोडिएको पारि नवलपरासीको सुस्ताका जनता आफ्नो खेतीसमेत भारतीयले जोतिरहेको टुलुटुलु हेर्न बाध्य छन् ।

लालपुर्जा हातमा, जमिन भारतमा

अयोध्यापुरीपारि सुस्ताका ओमप्रसाद चौधरी भन्छन्– आफ्नै खेतमा जान पाउँदिनँ, टाढैबाट हेरेर फर्कन्छु

एकैठाउँमा १५ जनाको ५७ बिघा जमिन छ । लालपुर्जा हामीसँगै छ, तर आफ्नै खेतमा जान पाउँदैनौँ । नम्बरी जग्गा हो, अहिले चौर भएको छ । कुनै दिन त्यो भूमि हाम्रै होला भन्ने आशा छ । नजिक जान त सक्दिनँ, टाढैबाट हेरेर फर्कन्छु ।

सीमा सुरक्षा गर्छौँ, नागरिकता छैन

बेचेनी यादव भन्छिन्– नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन

नारायणीमा पुल छैन, त्यसैले नेपाली बजारमा होइन, भारततिर जानुपर्छ । नुन–चामल किन्न जाँदा भारतीय फौजले कुटपिट गर्छ, चामल पोखिदिन्छ । नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन । त्यसो भए कुन देशको नागरिक होस् भनेर अपहेलना गर्छन् । बिरामी भएर अस्पताल जान्छु भन्दा पनि फर्काइदिन्छन् ।

...................

सुस्तासहित ७१ ठाउँमा अतिक्रमण मात्र गरेको छैन, सीमा क्षेत्रका दशौँ हजार नेपालीलाई प्रताडित गरेको छ । भारतीय प्रहरीबाट अपहेलित नेपाली जनताको समस्या समाधान भएको छैन, प्रधानमन्त्री केपी ओलीले त्रेता युगका रामको जन्मभूमि नेपाल हो कि भारत भनेर नयाँ बहस जन्माएका छन् । 

नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तर धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपतविपतमा छ ।

सुस्ताका बासिन्दालाई देशको मूलधारसम्म जोड्ने एउटा पुलसमेत छैन । गाउँमा ६ कक्षाभन्दा माथि विद्यालय छैन, प्राथमिक उपचार गर्न हेल्थपोस्टसमेत छैन । उज्यालो बाल्न बिजुली छैन र किनमेल गर्न बजार छैन । यी सबै आवश्यकताका लागि उनीहरू भारतमा निर्भर छन् । तर, तिनै भारतीयले सुस्तावासीको खेतबारी कब्जा गरेका छन्, घरवास उठाउन खोजेका छन् । नेपाल सरकार मौन छ । 

नेपालको लालपुर्जा देखाउँदै सुस्ताका बासिन्दा ओमप्रसाद चौधरी भन्छन्, ‘आफ्नै खेतमा जान पाउँदिनँ, टाढैबाट हेरेर फर्कन्छु, एकैठाउँमा १५ जनाको ५७ बिघा जमिन छ । लालपुर्जा हामीसँगै छ, तर आफ्नै खेतमा जान पाउँदैनौँ । नम्बरी जग्गा हो, अहिले चौर भएको छ । कुनै दिन त्यो भूमि हाम्रै होला भन्ने आशा छ । नजिक जान त सक्दिनँ, टाढैबाट हेरेर फर्कन्छु ।’

त्यस्तै स्थानीय बासिन्दा बेचनी यादव भन्छिन्, ‘नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन, नारायणीमा पुल छैन, त्यसैले नेपाली बजारमा होइन, भारततिर जानुपर्छ । नुन–चामल किन्न जाँदा भारतीय फौजले कुटपिट गर्छ, चामल पोखिदिन्छ । नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन । त्यसो भए कुन देशको नागरिक होस् भनेर अपहेलना गर्छन् । बिरामी भएर अस्पताल जान्छु भन्दा पनि फर्काइदिन्छन् ।’

दक्षिणी सिमाना सुरक्षा गर्न भन्दै तत्कालीन राजा महेन्द्रले ०२२ मा नवलपरासीको सुस्तामा बस्ती बसाएका थिए । तर, भारतीय राज्यको अतिक्रमण, सीमा फौजको प्रताडनाले सुस्तावासीको जीवन आपैmँ असुरक्षित छ । भारतीय पक्षको ज्यादती र नेपाली पक्षको उपेक्षाले सुस्तावासीको जीवन चार पुस्तादेखि आपत्विपत्मा छ । 

सन् १८१६ को सुगौली सन्धि हुँदा नारायणीवारि नेपाल र पारि भारत कायम भएको थियो । तर, वि.सं. ०१६ मा भएको गण्डक सम्झौतापछि बनेको बाँधले नदीको बहाव परिवर्तन मात्र भएन, नवलपरासीको उर्वर भूमि सुस्ता नारायणीपारि गयो । ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’का आधारमा नेपाल र भारतको सिमाना कायम भएकाले नदीपारि भए पनि सुस्तालाई भारतले आफ्नो भनी दाबी गर्न सकेन । तर, अतिक्रमण भने बढायो । 

तत्कालीन राजा महेन्द्रले ०२२ सालमा पूर्वसैनिक र मुस्लिम समुदायलाई सुस्तामा पुनर्वास गराएका थिए । तर, नेपाली बस्ती बसेकोमा असन्तुष्ट भारतीय पक्षले सीमा अतिक्रमणलाई झन् अघि बढायो । हुन त ०२७ सालमा नापी–नक्सा गर्न नेपाली कर्मचारी सुस्ता पुगेका थिए । नापी गर्न आएका नेपाली कर्मचारीलाई भारतीय फौजले समातेर लग्यो । उनलाई चार वर्षसम्म भारतले कैदी बनायो ।

०२९ सालमा फेरि नापी गरेर पाँच सय ५६ घरधुरीलाई लालपुर्जा दिइएको थियो । तर, ०३४ सालमा आएको बाढीले तत्कालीन सुस्ता गाउँ पञ्चायतलाई जलमग्न बनाइदियो । स्थानीय बासिन्दा घरबारविहीन भए । विस्थापित भएकाहरू लाखापाखा हुँदै साहुमारा, ठट्टेखोला, केउलानीसम्म पुगे । उनीहरूमध्ये केहीले त्यतै जमिन पाए । जमिन नपाएकाहरू पुरानै बस्तीमा फर्किन बाध्य भए ।

‘मान्छे मात्र होइन, सुस्ता पनि पुरानै अवस्थामा फर्कियो । चहलपहल बढ्यो । सुस्ता खाली भएपछि खुसी भएका भारतीयहरू फेरि दुःखी भए । त्यसैले उनीहरूले हामीलाई यातना दिन थाले । सिमाना पनि मिच्दै अघि बढे,’ सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले नयाँ पत्रिकासँग भने । 

भारतीयले धकेल्दै ल्याउँदा वास्तविक सिमानाबाट १७ किलोमिटर माथिसम्म ल्याएका छन् । ‘अहिले त सीमास्तम्भ नै छैन, जंगेपिलर छैन, देशको सिमाना हो, तर कुनै हिसाब–किताब नै छैन,’ गुरुङ भन्छन् । सुस्तामा नेपालको वास्तविक भूमि ४० हजार नौ सय ८० हेक्टर हो । १४ हजार हेक्टर भूमि भारतीयले अतिक्रमण गरेका छन् भने नेपालसँग औपचारिक रूपमा सात हजार हेक्टर मात्रै बाँकी छ । बाँकी १९ हजार नौ सय ८० हेक्टर जमिनलाई विवादित क्षेत्र भनिएको छ । अतिक्रमण अभैm रोकिएको छैन । नारायणी नदीमा भारतीय पक्षले अग्लाअग्ला तटबन्ध र पर्खाल लगाएका छन् । त्यसैले नदीको धार नेपालतर्फ धकेलिँदै छ । 

सीमा सुरक्षा गर्न भनेर बसाइएको बस्तीका बासिन्दासँग देशको नागरिकतासमेत छैन । सुस्तामा अहिले दुई सय ६५ घरधुरीका तीन हजार एक सय ३३ बासिन्दा छन् । एक हजार आठ सय बालिग छन्, जम्मा तीन सयलाई मात्र राज्यले नागरिकता दिएको छ । नागरिकता वितरण गर्न ०६३ मा त्रिवेणीसम्म पुगेको टोली सुस्ता नपुगी फर्कियो । ‘भारतीय फौजसँग जुधेर सीमा सुरक्षा गर्ने हामी, तर हामीलाई सरकारले नागरिक मानेको छैन । सरकारको अपहेलना सहेर पनि हामी देशका लागि जुधिरहेका छौँ,’ स्थानीय बेचनी यादव भन्छिन् ।

अनौठो ! सुस्तामा सरकारले जनता आवास कार्यक्रम लगेको छ । तर, नागरिकता नै नभएकाले यो सरकारी कार्यक्रम सुस्तावासीका लागि मजाक भएको छ । सरकारको राहत पाउने त परैको कुरा, आफ्नै लगानीले बनाएको घर जोगाउन पनि सुस्तावासीलाई सास्ती छ । नेपालीको घरवास नै उठाउने भारतीय पक्षको योजना छ । त्यसैले स्थानीय बासिन्दालाई घरसमेत भत्काउन उर्दी जारी गर्दै आएका छन् ।

‘चार वर्ष पहिले मैले घर बनाउँदै थिएँ, अचानक भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली आँगनमै आयो । घर बनाउन पाउँदैनस्, जति बनाएको छस्, त्यो पनि भत्का भनेर धम्क्याउन थाले,’ स्थानीय रवीन्द्र जैसवालले भने । उनले जसोतसो घर त बनाएका छन् तर सुरक्षित महसुस गर्न सकेका छैनन् । 

भारतको प्रताडना मात्र होइन, नेपाली राज्यको उपेक्षाले पनि सुस्तावासी पीडित छन् । नेपालतर्पm नारायणी नदीमा पुल नभएकाले किनमेल गर्र्न भारतीय बजारमा जानुपर्ने उनीहरूको बाध्यता छ । नुन–चामल किन्न जाँदा भारतीय फौजले कुटपिट गर्छ, चामल पोखिदिन्छ । स्थानीय बेचनी यादव भन्छिन्, ‘नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन । त्यसो भए कुन देशको नागरिक होस् भनेर अपहेलना गर्छन् । बिरामी भएर अस्पताल जान्छु भन्दा पनि फर्काइदिन्छन् ।’

गत वर्ष मात्रै पनि नेपाली भूमिमा भारतीयले डोजर चलाउन थालेपछि स्थानीय जनता अवरोध गर्न गएका थिए । त्यसको प्रतिशोधमा भारतीयले आफ्नो भूमिबाट नेपालीलाई आवत–जावत गर्न निषेध गरे । पुरानो बाटो बन्द गरेपछि बजारतर्पm जाने गरी नयाँ बाटो खोल्न स्थानीय नेपालीले गत वर्ष १५ भदौमा कल्भर्ट बाँध्दै थिए । अचानक एसएसबीको टोली आएर काम तत्काल रोक्न निर्देशन दियो ।

‘काम नरोके तिमीहरूलाई गोलीले उडाइदिन्छौँ भनेर धम्की दिए । त्यो भूमि नेपालको हो, तर हामीलाई सुरक्षा दिन नेपाली सुरक्षाकर्मी आएनन् । ज्यान गए जान्छ, आफ्नो भूमिमा कल्भर्ट बनाउँछौँ भनेर हामीले बनाइछाड्यौँ,’ जैसवाल भन्छन् । तर, ज्यानै जोखिममा राखेर भारतीय बजारमा जानुपर्ने बाध्यता कहिले अन्त्य होला ? जैसवालको चिन्ता छ । ‘बरु सरकारले नारायणीमा पुल बनाइदिए नेपाली बजारमै आवतजावत हुन्थ्यो, सरकारसँग सम्बन्ध पनि बलियो हुन्थ्यो । भारतीयसँग लड्न पनि आत्मबल हुन्थ्यो,’ उनी भन्छन् । 

नागरिकता नभएकाले अधिकांशसँग लालपुर्जा पनि छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । नेपालीको खेतमा हुलका हुल प्रवेश गरेर बाली लगाउने र उठाउनेलाई भारतीय फौजको संरक्षण छ । ०६५ मा एकैपटक ५०–६० वटा ट्र्याक्टर लिएर भारतीयले नेपालीको खेत जोतेका थिए । नेपालीले आवाज उठाए, तर भारतीय फौजले उल्टै दमन ग¥यो, नेपालले सुन्दै सुनेन । नेपाली सुरक्षाकर्मी आपैmँ पनि असुरक्षित महसुस गर्छन् । 

एसएसबीको डरले सुस्तावासी आफ्नै खेतबारीमा समेत जान डराउँछन् । स्थानीय ओसियर खाँ भन्छन्, ‘हाम्रै जमिन भारतीयले अतिक्रमण गरेका छन्, त्यहाँ गयो भने कुट्छन्, पिट्छन्, मुद्दा लगाइदिन्छन् । त्यसैले आफ्नै भूमिमा टेक्नसमेत पाउँदैनौँ ।’ खाँकै हजुरबा आफ्नै खेतमा गएका वेला १० वर्षअघि एसएसबीद्वारा समातिएका थिए । उनलाई विवादित क्षेत्रमा प्रवेश गरेको भनेर भारतमा मुद्दा चलाइयो । चार वर्ष जेल बसेर फर्किएको केही समयपछि उनको मृत्यु भयो । 

ओसियरको घरभन्दा दक्षिणतिर ५७ बिघा भूमिमा १५ जनाको खेत छ, तर नेपालीले खेती गर्न पाउँदैनन् । ‘लालपुर्जा हामीसँग छ, तर आफ्नै खेतमा जान पाउँदैनौँ । नम्बरी जग्गा हो, तर अहिले चौर भएको छ,’ स्थानीय ओमप्रसाद चौधरी भन्छन्, ‘कुनै दिन त्यो भूमि हाम्रै होला भन्ने आशा छ । नजिक जान त सक्दिनँ, त्यसैले टाढैबाट हेरेर फर्कन्छु ।’ सुस्तामा ६ कक्षासम्म मात्र स्कुल छ । त्योभन्दा माथि पढ्न असम्भवजस्तै छ ।

बेचनी भन्छिन्, ‘मेरा तीन छोराले पढ्न पाएनन् । नारायणी तरेर दैनिक नेपालको विद्यालयमा पुग्न मुस्किल छ, नजिकै भारतीय स्कुल त छ, तर नेपाली भनेर लखेटिदिन्छन् । त्यसैले मैले छोराछोरीलाई पढाउन सकिनँ । पढेको भए दुई–चार अक्षर चिन्थे होला, तर अहिले घरमै छन् । भविष्यमा मैलेजस्तै दुःख पाउने हुन् ।’ सुस्तामा विद्यालय मात्र होइन, हेल्थपोस्ट छैन, बिजुली छैन । समग्रमा जीवन छैन । भारतको दमन र नेपालको उपेक्षा कहिलेसम्म हो ? प्रश्न अनुत्तरित छ ।

सुस्ता मात्र होइन, नेपाल र भारतबीच ७१ ठाउँमा सीमाविवाद छ । भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ । भारतसँग सीमा जोडिएका धनुषा, बैतडी र डडेल्धुरामा सीमा समस्या छैन । तर, कालापानी र सुस्तासहित नेपाल–भारत सीमाका ७१ ठाउँमा विवाद छ । यद्यपि, नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर ७ जेठमा नयाँ नक्सा जारी गरेको छ । तर, अतिक्रमित भूमि फिर्ता ल्याउन नेपालले वार्ता गर्न चाहे पनि भारतले अस्वीकार गरेको छ । कालापानी र सुस्ताका विषयमा दुवै देशका सचिवस्तरबाट समाधान गर्ने सहमति भए पनि कार्यान्वयन भएको छैन । भारतले नेपाली भूमि अतिक्रमण गर्दा समस्या भएको छ । तर, सीमाविवाद टुंग्याउन गम्भीर वार्ता भएकै छैनन् ।

सीमाविद्हरूका अनुसार भारतले ६० हजार ६ सय २७ हेक्टर जमिन अतिक्रमण गरेको छ । एक हजार आठ सय ५० किलोमिटर नेपाल र भारत सीमा छ । यसमा ६ सय ६ किलोमिटर विवाद छ । धेरै ठाउँमा दशगजा अतिक्रमण गर्ने र सीमास्तम्भ नै गायब पार्ने काम भारतबाट हुँदै आएको छ । भारतीय अतिक्रमणले नै सीमा समस्या निम्त्याएको छ । 

सीमा समस्या ताप्लेजुङदेखि कञ्चनपुरसम्म छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ब्रह्मदेवमण्डी–पूर्णागिरी, टनकपुर जलाशय क्षेत्र, टनकपुर ब्यारेज, वनबासा–गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शुल्काफाँटा र परासन–खुड्काककडमा सीमाविवाद छ । सीमाविद्हरूका अनुसार कैलालीको सतिविरानाला, बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्रमा पनि सीमाविवाद छ । यसबाहेक प्रदेश ५ को बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध विवादमा छ । प्रदेश ५ मै दाङको कोइलावास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी किनारमा सीमाविवाद छ ।

यस्तै रुपन्देहीको दानव नदी (रसियावाल खुर्दलोटन बाँध), सुनौली नाका, सुस्ता नर्साही, वाल्मीकि आश्रम, दारानाला–दारीचुरेमा पनि सीमा समस्या छ । पर्साका ठोरी, सिमरिया, लक्ष्मीपुर–पिपरा, वीरगन्ज–सिर्सिया गौर–जमुनामा समस्या छ । यसैगरी त्रिभुवननगर, संग्रामपुर–हथिऔल, माडर–चन्द्रगन्ज, ठाँडी, सुर्वापट्टीमा पनि सीमा समस्या छ । सप्तरीमा तिलाठी, सखडा–छिन्नमस्ता, कुनौली र भारदहमा विवाद छ । विष्णुपुर–शिवनगर, लालपट्टी–गोविन्दपुर, तिलजा, मोहनिया, सरवाह, गोबरगाढामा पनि सीमाविवाद छ । यसबाहेक सुनसरीका कटैया–भन्टाबारी, हरिनगरिया–शिवगन्ज साहेबगन्ज, पकरिया–झुमवा र भीमनगर मौजामा सीमा समस्या छ ।

यसबाहेक मोरङमा बुद्धनगर–जोगबनी, रंगेली–चोप्राहा, रानी, बक्राहा नदी–चुनिमाडीमा समस्या छ । उता प्रधानमन्त्रीकै गृहजिल्ला झापाका पाठामारी, मेचीगाउँ, महेशपुर, मेचीपुल, भद्रपुर–गलगलिया, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलबन्दा, बाहुनडाँगी तथा इलामका चित्रेडाँडा, पशुपतिनगर, झिझिया भन्ज्याङ, मानेभन्ज्याङबाट सन्दकपुर जाने बाटो, मानेभन्ज्याङ, सन्दकपुर र जौबारी डाँडामा सीमाविवाद छ । कालपोखरी, च्याङथापु, फालेलुङ, ताप्लेजुङ सीमा क्षेत्रका डाँडो चिवाभन्ज्याङ, टिम्बापोखरी, मेगना र तुम्लिङमा पनि सीमाविवाद छ ।

प्रधानमन्त्रीले जन्माए नयाँ वहस : अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो

रामजन्मभूमिको विषयमा भारतमा सात सय वर्षदेखि चलेको विवाद त्यहाँको सर्वोच्च अदालतबाट किनारा लागेको सात महिनापछि नयाँ बहस सिर्जना भएको छ । प्रधानमन्त्री केपी ओलीले रामको जन्मभूमि भारत उत्तरप्रदेशको अयोध्या होइन, वीरगन्जनजिकैको अयोध्यापुरी भएको दाबी गरेका छन् । 

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो,’ भानुजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले सोमबार बालुवाटारमा गरेको कार्यक्रममा ओलीले भने । 

ओलीले उत्तरप्रदेशको अयोध्यामै राम जन्मिएको भए उनको बिहे जनकपुरकी सीतासँग सम्भव नहुने पनि दाबी गरे । ‘यहाँको जनकपुर, उहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या, कहाँ के छ । त्यसवेलाको जमानामा न टेलिफोन, न मोबाइल । कताबाट थाहा होस्, थाहा हुन पनि सक्दैनथ्यो । नजिकै भए सजिलैसँग कुरा हुन्थ्यो, तर यो इतिहास बहस गरिसाध्य छैन ।’ 

प्रधानमन्त्रीले भनेको अयोध्यापुरी चितवनको माडी नगरपालिकाको वडा नं. ८ मा पर्छ । तर, सो क्षेत्रमा वाल्मीकिको आश्रम भए पनि राम नै जन्मिएको भन्ने आफूहरूले अहिले मात्र सुनेको बताउँछन् नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल । ‘पहिले त अयोध्यापुरीको नामबाट गाविस नै थियो । अहिले माडीको वडा नं. ८ मा छ । तर, यो नै रामजन्मभूमि हो भनेर अहिलेसम्म व्याख्या भएको सुनिएको छैन, त्यस्तो अध्ययन भएको छैन । त्यस्ता कुनै भग्नावशेष पनि छैनन् । तर, सरकारले अध्ययन गर्नु राम्रो हो,’ ढकालले नयाँ पत्रिकासँग भने । 

माडीको वडा नं. १ मा वाल्मीकि आश्रम छ । वाल्मीकिले यहीँ बसेर रामायण लेखेको भन्ने मान्यता छ । मेयर ढकाल भन्छन्, ‘वाल्मीकि आश्रमलाई सबैले मानेका छन् । वाल्मीकिसँग सम्बन्धित विभिन्न आधार पनि यहाँ छन् । त्यसैले हरेक दिन दुई–चार सय यात्रु यहाँ आउँछन् ।’

उता वाल्मीकि आश्रमस्थित हरिहर मन्दिरका पुजारी रामशरण गिरी पनि अयोध्यापुरी नै रामजन्मभूमि हो भने सरकारले अध्ययन गर्नुपर्ने बताउँछन् । ‘वाल्मीकिले यही क्षेत्रमा तपस्या गर्नुभएको हो, यहीँ बसेर रामायणको रचना गर्नुभएको हो । देशको प्रधानमन्त्रीले रामजन्मभूमि पनि यही हो भनेपछि केही आधार होला । सरकारले अध्ययन–अनुसन्धान गरोस् भन्ने हाम्रो अनुरोध छ,’ गिरी भन्छन् । 

तर, वाल्मीकि आश्रम नै सरकारी उपेक्षामा परेकोमा उनको गुनासो छ । ‘वाल्मीकि आश्रम भनेर टाढा–टाढाबाट साधुसन्त आउँछन् । तर, यहाँ एउटा शौचालय पनि छैन । साधुसन्त बस्ने ठाउँ छैन । पुजारी नै बस्ने ठाउँ छैन भने साधुसन्त कहाँ बस्ने ? हामी आफैँ पनि सुकुम्बासी बस्तीमा बसेका छौँ । तर, साधुसन्तलाई भोकै राख्दा पाप लाग्दा भनेर हामी आफैँले व्यवस्था गर्दै आएका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘राम, सीता, वाल्मीकि र अयोध्याको विषयमा हाम्रा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, कृृपया वाल्मीकि आश्रमको यो बेहाल सुनाइदिनुहोला । सायद उहाँले सहयोग गर्नुहोला ।’ 

वाल्मीकि आश्रममा दिनमा सयौँ यात्रु आउँछन्, तर शौचालयसमेत छैन, कृपया प्रधानमन्त्रीलाई गुनासो सुनाइदिनुहोला : रामशरण गिरी, वाल्मीकि आश्रमस्थित हरिहर मन्दिरको पुजारी

माडीको अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आश्रम छ । वाल्मीकिले यही क्षेत्रमा तपस्या गर्नुभएको हो, यहीँ बसेर रामायणको रचना गर्नुभएको हो । त्यसैले यहाँ उहाँको आश्रम मात्र होइन, समाधि पनि छ । वाल्मीकिको आश्रम यही हो भन्नेमा विवाद छैन ।

देशको प्रधानमन्त्रीले रामजन्मभूमि पनि यही हो भनेपछि केही आधार होला । सरकारले अध्ययन–अनुसन्धान गरोस् भन्ने हाम्रो अनुरोध छ ।

खासमा यो कथा यो युगको होइन, त्रेता युगको हो । त्रेता युगमा नेपाल, भारत, बंगलादेश भनेर देश नै थिएनन् । त्यसैले त्यो वेला यस्तो विवाद हुने कुरा भएन ।

तर, राम जन्मेको ठाउँ उत्तरप्रदेशको अयोध्या र सीता जन्मेको ठाउँ नेपालको जनकपुरमा पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैगरी वाल्मीकिले रामायण लेखेको ठाउँ माडीको अयोध्यापुरी क्षेत्र हो । 

रावणको अपहरणबाट मुक्त भएर अयोध्या फर्किएपछि सीतामाथि समाजले लान्छना लगायो । सामाजिक प्रतिष्ठा जोगाउन रामले सीतालाई फेरि वनवास पठाउनुभयो । ल

क्ष्मणले सीतालाई वाल्मीकि आश्रमसम्म ल्याएर छाड्नुभयो भन्ने हाम्रो मान्यता छ । 

वाल्मीकि आश्रममा आउँदा सीता गर्भवती हुनुहुन्थ्यो, आश्रममै उहाँले लव–कुशलाई जन्म दिनुभयो । पछि रामले अश्वमेघ यज्ञ गरेर घोडा छोड्नुभएको थियो ।

त्यो घोडा कसैले समात्न सकेनन्, लव–कुुशले नियन्त्रणमा लिएर वाल्मीकि आश्रममा ल्याए । यहाँ एउटा मौलो छ जहाँ घोडा बाँधिएको थियो भन्ने विश्वास छ । 

घोडा खोज्दै राम आएपछि लव–कुशसँग लडाइँ पनि भयो । तर, वाल्मीकि र सीताले लडाइँ समझदारी गराए । पछि छोराहरूलाई रामको जिम्मा लगाएर सीता पातालमा भासिनुभयो भन्ने कथा रामायणमा छ ।

पछि वाल्मीकिले पनि यहीँ समाधि लिनुभयो । समाधि पनि छ । 

अब राम यही पारिको अयोध्यापुरीबाट आउनुभएको थियो कि उत्तरप्रदेशको अयोध्याबाट भनेर हामी पुजारीले ठेगान लगाउन सक्ने विषय होइन । प्रधानमन्त्रीले ठेगान लगाउनुभयो भने धेरै राम्रो ।

तर, वाल्मीकि आश्रमलाई नै सरकारले किन यति उपेक्षा गरेको होला भन्ने हाम्रो दुःखेसो छ । 

बर्खामा अलिक कम भए पनि हिउँदमा हरेक दिन दुई सयदेखि पाँच सयसम्म यात्रु यो क्षेत्रमा आउँछन् । अनेक साधुसन्त आउँछन् । पूजाआजा हुन्छ ।

तर, सरकारले यो आश्रम सञ्चालन गर्न कुनै सहयोग गरेको छैन । यही आश्रमको मन्दिरमा मेरा बुबाआमाले पूजा गर्नुहुन्थ्यो ।

राजा महेन्द्रले यो जिम्मेवारी दिनुभएको थियो, राजा वीरेन्द्रको पाला पनि सहयोग थियो । तर, अहिले सरकारले पूरै बेवास्ता गरेको छ ।

वाल्मीकि आश्रम भनेर टाढाटाढाबाट साधुसन्त आउँछन् । तर, यहाँ एउटा शौचालय पनि छैन । साधुसन्त बस्ने ठाउँ छैन ।

पुजारी नै बस्ने ठाउँ छैन भने साधुसन्त कहाँ बस्ने ? हामी आफैँ पनि सुकुम्बासी बस्तीमा बसेका छौँ ।

तैपनि साधुसन्तलाई भोकै राख्दा पाप लाग्दा भनेर हामी आफैँले व्यवस्था गर्दै आएका छौँ । 

राम, सीता, वाल्मीकि र अयोध्याको विषयमा हाम्रा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, कृृपया वाल्मीकि आश्रमको यो बेहाल सुनाइदिनुहोला ।

सायद उहाँले सहयोग गर्नुहोला ।

प्रधानमन्त्री ओलीले भनेका छन् : हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले भीषण विवाद चलिरहेको छ । हाम्रोमा विवाद गर्नुहुँदैन । 

जनकपुर त्यहाँ, अयोध्या वीरगन्जको पश्चिमपट्टि ठोरीमा । वाल्मीकि आश्रम त्यहाँ र दशरथपट्टि सन्तान नभएपछि यज्ञ लगाउने पण्डितजी रिडीका पण्डित शृंग ऋषि । पुत्रेष्ठी यज्ञ गर्न । पछि गएर उनी डाँडामा बस्न थाले र अझै पनि त्यहाँ शृंग भन्ने आश्रम छ । त्यसकारण सन्तान पनि भारतीयका होइनन्, ठाउँ पनि भारत हुँदै होइन, ठाउँ पनि नेपालको हो । वाल्मीकि आश्रम त्यहीँ छ र जनकपुर त्यहाँ छ । यहाँको जनकपुर, उहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या, कहाँ के छ । त्यसवेलाको जमानामा न टेलिफोन, न मोबाइल । कताबाट थाहा होस्, थाहा हुन पनि सक्दैनथ्यो । नजिकै भए सजिलैसँग कुरा हुन्थ्यो, तर यो इतिहास बहस गरिसाध्य छैन, यो भनेपछि विद्वान्हरूको ...। 

तर, अयोध्या यहाँ छँदै छ अहिले पनि र घर–माइती यति छिटोछिटो अयोध्याबाट हुन सक्दैन । जनकपुर र वीरगन्ज भएकाले भयो । त्यहाँबाट वाल्मीकि आश्रम सजिलै पुगिन्थ्यो । पछि सीतालाई अयोध्याबाट ल्याएर रामले वाल्मीकि आश्रममा त्यत्रो दिन छोडेको होइन । जंगलमा छोडदिने भनेको ठाउँमा दुई दिन, चार दिन भए हुन्थ्यो, महिनौँ लाग्छ । लक्ष्मण महिनौँ हराएका होइनन् । खुरुरु पु¥याइदिए, फर्किए ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीको टिप्पणी 

प्रधानमन्त्री ओलीको भनाइलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री कमल थापाले टिप्पणी गरेका छन् । डा. भट्टराईले ट्विट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौँ सीधै वैकुण्ठधामको यात्रा गरौँ !’ 

त्यसैगरी थापाको ट्विट छ, ‘प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’