
हिमालपारिको जिल्लाका रूपमा परिचित मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक स्तराेन्नति नहुँदा हिउँद र बर्खा दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
सडक बनाउन थालेकोे २५ वर्ष पुग्दा पनि यस सडकखण्डमा नाला निर्माण नहुँदा वर्षा लागेसँगै सडकको अवस्था पूरै बिग्रने गरेको छ ।
त्यसैगरी वर्षामा सडकको विभिन्न ठाउँमा पहिरो जाँदा दैनिकजसो यातायात अवरुद्ध हुने गर्दछ ।
सडकको धेरै ठाउँमा पहिरो खस्नुको साथै केही ठाउँमा सडक भासिएको छ । सवारीसाधन र पैदलयात्रु जोखिम मोल्दै यात्रा गरिरहेका छन् ।
‘पानी परेपछि हिँड्न डर हुन्छ,’ खुदीका सन्तोष थापाले भने, 'पानी पर्नेबित्तिकै कतिवेला पहिरो खसेर पुरिने हो भनेर डराइडराई हिँड्नुपर्छ ।’
ट्रयाक मात्र खोलिएको भिरैभिरको सडक निकै जोखिमयुक्त छ ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर दूरी रहेको सडक पार गर्न सवारीसाधनलाई आठ घन्टा लाग्छ ।
‘सडक बनेको २५ वर्ष भयो, कहिल्यै राम्रोसँग हिँड्न पाइएन,’ व्यापारी वीरेन्द्र भण्डारीले भने, ‘कालोपत्रे भइसक्नुपर्ने सडक अझै उस्तै छ । सवारीसाधनमा यात्रा गर्न सधैँ डराउनुपर्छ ।’
नेपाली सेनाले १९ वर्ष लगाएर पाँच वर्षअघि ट्रयाक सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।