
श्रीलंकाले यसै वर्ष एसिया कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को यसै साता सम्पन्न कार्यकारी बैठकले श्रीलंकालाई एसिया कपको आयोजना सुम्पिएको हो । तर, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले एसिया कपको आयोजक राष्ट्र सम्बन्धमा आपत्ति जनाएको छ ।
गत साता भिडियो कन्फ्रेन्समार्फत सम्पन्न बैठकमा भारत पनि सहभागी थियो । बिसिसिआईले बैठकमा एसिया कपको आयोजक राष्ट्रको कुनै निर्णय नभएको अडान राखेको छ । एसिसीका अनुसार पाकिस्तानले श्रीलंकालाई प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको थियो । पाकिस्तानको प्रस्तावमा बोर्डका अन्य पदाधिकारीले समर्थन जनाएपछि श्रीलंकाले यसै वर्ष हुने एसिया कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको एसिसीले जनाएको छ ।
‘पाकिस्तान क्रिकेट बोर्डले एसिया कपको आयोजक राष्ट्रका रूपमा श्रीलंकाको प्रस्ताव गरेको थियो, जसमा सबैले सहमति गरेका थिए,’ एसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
श्रीलंकाली क्रिकेट बोर्डका अध्यक्ष साममी सिल्भाले सबैका सहमतिबीच नै आफूहरूले प्रतियोगिता आयोजना गर्न अवसर पाएको बताएका छन् ।
सिल्भा भन्छन्, ‘हामीले पाकिस्तानसँग प्रतियोगिताका सम्बन्धमा छलफल गरेका थियौँ, वर्तमान परस्थितिअनुसार हामीले एसिया कप गर्न अधिकार पाएको हो ।’ यसअघि प्रतियोगिता पाकिस्तानमा हुने भनिएको थियो । तर, पाकिस्तानमा कोरोना संक्रमित संख्या बढ्दै गएका कारण आफूहरूले प्रतियोगिता आयोजना गर्न नसकिने जनाएको छ ।
त्यसपछि पाकिस्तानले नै श्रीलंकाको नाम अगाडि सारेको हो । बिसिसिआईले एसिसीको निर्णयप्रति असहमति जनाएको छ । ‘एसिसीको पछिल्लो निर्णयप्रति हामीहरूकोे असहमति छ, बैठकमा त्यस्तो केही पनि निर्णय भएको जस्तो लाग्दैन,’ बिसिसिआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रीलंकामा एसिया कप हुने समाचार थाहा पाउँदा हामी आश्चर्यमा परेका छौँ ।’
भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) नभएको अवस्थामा एसिया कप गर्ने योजना बनाएको थियो । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि आइपिएल र आइसिसी पुरुष टी–२० क्रिकेट प्रतियोगिता अनिश्चितझैँ बनेका छन् । अहिलेसम्म यी दुई प्रतियोगिता हुने वा नहुने कुनै निर्णय भएका छैनन् । युएई आइपिएल गर्न इच्छुक छ । तर, बिसिसिआई हेर र प्रतीक्षाको अवस्थामा बसेको छ ।
‘हामी यो स्पष्ट पार्न चाहन्छौँ कि आइपिएल नहुँदा एसिया कप गर्ने योजनामा थियौँ, एसिसीको मुख्य सदस्यको नाताले हामीहरूले पनि आयोजनाको प्रस्ताव राख्न पाउनुपर्छ,’ बिसिसिआईको विज्ञप्तिमा भनिएको छ । यता एसिया कपलाई टी–२० विश्वकपको अभ्यास खेलको रूपमा हेरिएको छ । यदि टी–२० विश्वकप हुन सकेन भने एसिसीले एसिया कप निर्धारित समयमै गर्ने योजना बनाएको छ ।