१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ १८ आइतबार २०:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जग्गा खरिद–बिक्रीमा कर छली, मालपोत प्रमुखदेखि वडाध्यक्षसम्मलाई भ्रष्टाचार मुद्दा

Read Time : > 1 मिनेट
२०७७ जेठ १८ आइतबार २०:४२:००

जग्गा खरिद–बिक्रीमा रजिस्ट्रेसन शुल्क र पुँजीगत लाभकर छली गरेको आरोपमा मालपोतका कर्मचारी, जग्गा खरिद–बिक्रीकर्ता र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ स्थित १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले पाँचजनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा, मालपोत अधिकृत मात्रिका दंगाल, नासु गोविन्द पौडेल, दुहबी नगरपालिका– ८ का अध्यक्ष तारिकचन्द्र सरदार, मन्दिर व्यवस्थापन समितिबाट अख्तियारी पाएका उपाध्यक्ष उज्याला मानन्धर, जग्गा खरिदकर्ता गोविन्दकुमार बजगाईंविरुद्ध मुद्दा दायर भएको हो । 

राधाकृष्ण मन्दिर, सोनापुरको नाममा रहेको सो जग्गा दुई वर्षअघि गोविन्दकुमार बजगाईंलाई बिक्री  गरिएको थियो ।  सुरुमा सो जग्गा बजगाईंको नाममा पास गरेर लगत्तै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रहेका मानन्धरले आफैँ खरिद गरेका थिए ।  सात लाख ७१ हजार प्रतिकट्ठाका दरले बिक्री गर्ने निर्णय भएकोमा जग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर  पाँच लाख २१ हजार पाँच सय रजिस्ट्रेसन शुल्क तीन लाख ७७ हजार एक सय ५० गरी आठ लाख ९८ हजार चार सय पाँच रुपैयाँ राजस्व छली गरेको अभियोग छ ।  

सुरुमा जग्गा किन्ने  बजगाईंले राधाकृष्ण मन्दिरको कित्ता नम्बर १३ को जग्गा खरिद गर्दाका बखत नै रजिस्ट्रेसन दस्तुर दुई लाख १५ हजार नौ सय २० रुपैयाँ नबुझाएको खुलेको छ ।  उजुरी परेपछि मात्र सजायबाट बच्ने उद्देश्यले बुझाएका थिए ।  जग्गा बिक्री गर्दा बुझाउनुपर्ने पाँच लाख ४१ हजार ६ सय २८ रुपैयाँ पनि नबुझाएको आयोगको दाबी छ ।  

दुहबी नगरपालिका– ८ का वडा अध्यक्ष तारिकचन्द्र सरदारले राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा भित्री बाटोले छोएकोमा  सिफारिसमा बाटोले नछोएको भनी गलत सिफारिस दिएको  गरेका थिए । जसबाट रजिस्ट्रेसन र पुँजीगत लाभकर छल्न सहज भएको थियो । उनीविरुद्ध नौ लाख १९ हजार एक सय २८ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।  

 मालपोत कार्यालय सुनसरी इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापाले लिखत पास गर्दा स्थानीय निकायको घरबाटोको सिफारिस, जग्गाको तोकिएको न्यूनतम मूल्यांकन, संस्थाका नामको जग्गा पारित गर्दा व्यवस्थापन समितिको जग्गा बिक्री गर्ने निर्णयजस्ता कुराहरू नहेरी रजिस्ट्रेसन पास गराएका थिए ।   उनले मूल्यांकनकर्ता ना.सु. गोविन्दकुमार पौडेलले गलत मनसायका साथ मूल्यांकन गरी पेस गरेको लिखतलाई सदर गरेका थिए । उनीविरुद्ध सात लाख ५५ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको छ ।  

 मालपोत कार्यालय सुनसरी इनरुवाका मालपोत अधिकृत मात्रिका दंगालले गोविन्दकुमार बजगाईंको नामबाट उज्याला मानन्धरको नाममा लिखत पारित गर्दा कर छल्न सघाएका थिए ।   पाँच दिनअगाडि मात्र पारित गरेको लिखत अंकमा एकै आर्थिक वर्षमा एउटै जग्गाको लिखतमा अघि पारित गरेको मूल्यभन्दा कम मूल्य राखी  पारित गरेका थिए ।  उनीविरुद्ध नौ लाख १८ हजार सात सय ७८ तथा नासु पौडेलविरुद्ध  पाँच लाख ४१ हजार ६ सय २८ रुपैयाँ बिगो दाबी गरिएको छ ।