१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ चैत २७ बिहीबार १४:५८:००
Read Time : > 1 मिनेट
अर्थ

पूर्वीनाकाबाट आयात ठप्प

Read Time : > 1 मिनेट
२०७६ चैत २७ बिहीबार १४:५८:००

भारतको पश्चिमबंगाल सरकारले सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाएसँगै पूर्वीनाका काँकडभिट्टाबाट अत्यावश्यक सामग्री आयात ठप्प भएको छ । सरकारले भारतसँग जोडिएको काँकडभिट्टा, वीरगञ्जको रक्सौल, भैरहवाको सुनौली र धनगढको बनवासा नाकाबाट अत्यावश्यक सामग्री आयात हुने जनाए पनि बुधबारबाट काँकडभिट्टा नाका ठप्प भएको हो । 

सामान आयात ठप्प भएको लिखित जानकारी नआए पनि मौखिक जानकारी आइसकेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना भइरस संक्रमण फैलन नदिन लकडाउन गर्ने भारत सरकारको निर्णयलाई प्रभावकारी बनाउन सडकमा कुनै सवारी सञ्चालन गर्न नदिने भएपछि आयात ठप्प भएको हो ।

अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने अधिकार प्रान्तीय सरकारलाई नभए पनि पश्चिमबंगालले मालवाहक सवारी चल्न नदिएपछि भारतको पानीट्यांकीस्थित रानीगञ्ज नाका सुनसान बनेको छ । नेपालसँगै भुटान र बंगलादेशमा पनि सामान आयात–निर्यात रोकिएको छ ।

केही दिनदेखि भारतको रानीगञ्ज नाकामा थन्किएका एक सय १४ वटा सवारीसाधन मंगलबार साँझ नेपाल पठाएको थियो । बुधबार बिहानबाटै अत्यावश्यक सामान बोकेका सवारी नआएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए । 

‘नाका ठप्प भएको विषय मौखिक जानकारी आएको छ । मैले नेपाल सरकार, नेपालस्थित भारतीय राजदूतावास, भारतस्थित नेपाली राजदूतावासलाई जानकारी गराएँ । भारतीय राजदूतावासलाई जानकारी नै रहेनछ,’ उनले भने, ‘उहाँहरूले नाकाबन्द गर्न केन्द्र सरकारकै निर्णय चाहिने भन्नुभएको छ । केही पहल होला कि !’ 

दुवै देशमा लकडाउन भए पनि मंगलबारसम्म पेट्रोलियम पदार्थ, एलपी ग्यास, फलफूल, तरकारीलगायत अत्यावश्यक सामग्री निरन्तर आयात भइरहेको थियो । यस्तै अवस्था भए पूर्वी नेपालमा समस्या आइपर्ने भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए । ‘केही दिन त चल्छ होला । तर, केही दिनपछि गाह्रो हुन्छ,’ उनले भने, ‘भारतबाट आयात नगरी आफ्नै देशले धान्न सक्ने अवस्था छैन ।’

के–के आए लकडाउनमा ?
सरकारले ११ चैतमा नेपाललाई लकडाउन घोषणा गऱ्यो । त्यो वेलादेखि नै सीमानाका भएर आवतजावत ठप्प भयो । तर, अत्यावश्यक सामग्री भने निरन्तर आयात भइरहेको थियो । उक्त समयमा पूर्वीनाका भएर भारतबाट तरकारी, फलफूल, ग्यास र हवाई इन्धन नेपाल भित्रिएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार पूर्वीनाका काँकडभिट्टाबाट लकडाउनको समयमा १५ लाख ६५ हजार सात सय ४५ तरकारीजन्य सामग्री भित्रिएको थियो । यस्तै, एक लाख १४ हजार २९३ केजी फलफूल, ग्यास १५ लाख ५९ हजार पाँच सय ८५ केजी र ४४ केजीलिटर हवाई इन्धन आयात भएको प्रमुख विश्वकर्माले बताए ।