१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२०७६ चैत २१ शुक्रबार ०९:१३:००
Read Time : > 3 मिनेट
पालिका अपडेट

सीमित स्रोतसाधनबीच कोरोनासँगको लडाइँमा सुरक्षाकर्मी

दिनमा १८ घन्टासम्म ड्युटी गर्नुपर्ने नेपाल प्रहरीको बाध्यता, फिल्डमा खटिएका सशस्त्र प्रहरीसँग ग्लोब्ससमेत छैन

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७६ चैत २१ शुक्रबार ०९:१३:००

मध्यबानेश्वरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम गेट हुँदै एउटा कार हुइकिँदै आएर नयाँबानेश्वर चोकमा रोकियो । सशस्त्र प्रहरीका एक हवल्दार कारनजिक पुगे । चालकले कारको सिसा आधा खोले । भित्रबाटै पास देखाए । मास्क लगाएका उनको हातमा पन्जा भने थिएन । 

प्रहरी हवल्दारले हार्दिकतापूर्वक चालकलाई सचेत गराउँदै भने, ‘सरको मुखमा मास्क त रहेछ । तर, हातमा पन्जा छैन । कोरोना सर्न सक्छ । अब पन्जा लगाउनुस् है ।’ ‘हस्’ भन्दै चालकले कार बबरमहलतर्फ हुइँक्याए । तर, चालकलाई पन्जा लगाउन सुझाउने हवल्दारको हात भने खाली नै थियो । 

एक हातले राइफलको कक र अर्कोले नाल अठ्याइरहेका उनले भने, ‘मैले मात्र होइन सर, सडकमा खटिने सशस्त्र प्रहरीका कसैले पनि पन्जा लगाउन पाएका छैनौँ । सुरुको दिन पन्जा लगाएका हौँ । तर, दोस्रो दिनका लागि लगाउने पन्जा पाएनौँ ।’

लकडाउन सुरु भएदेखि दैनिक दश घन्टाको ड्युटीमा छन्, सशस्त्रकै अर्का जवान विकास खत्री । नौ दिनदेखि अस्थायी सुरक्षा बेस क्याम्प मीनभवनकै ब्यारेकमा बस्दै आएका छन्, उनी । लाठीमा रहेका उनको मुखमा माक्स छ, तर हात भने नांगै । एकपटक प्रयोग गरेपछि दोस्रोपटक नमिल्ने भएको भन्दै माथिबाटै पन्जा नबाँडिएको उनले नयाँ पत्रिकासँग भने । 

१० घन्टाको ड्युटीपछि बेलुका ब्यारेक जाने वेला स्यानिटाइजर लगाउने गरेको बताउँदै उनले भने, ‘ड्युटी सकियो । ब्यारेक छिर्ने वेला साबुनपानीले हात धोयो । अनि स्यानिटाइजर लगायो । यति गरेपछि कोरोना भाइरस सर्दैन भनेका छन् । होला नि त अब !’

कोरानाको सम्भावित संक्रमणबाट बच्न सरकारले सबैका लागि माक्स, ग्लोब्स, सेनिटाइजर लगाउन उर्दी जारी गरेको छ । तर, दिनरात सर्वसाधारणको सुरक्षामा खटिने सशस्त्र प्रहरी विनाग्लोब्स ड्युटीमा खटिएका छन् । 

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले भने ग्लोब्स लगाउन सबैलाई निर्देशन भएको बताए । उनले भने, ‘लकडाउनमा खटिने सबै सुरक्षाकर्मीलाई ग्लोब्स लगाउन भनेका छौँ । सबैले लगाएको सूचना मैले प्राप्त गरेको छु । केही ठाउँमा विनाग्लोब्स खटिए होलान् । अभाव भएर पनि त्यस्तो हुन सक्छ । के रहेछ, यस विषयमा म तुरुन्तै बुझ्नेछु ।’  

नेपाल प्रहरीको १८ घन्टे ड्युटी
‘हातमा चुरोट लिएर यता आउँदै छ । त्यसलाई समाती हाल् ।’ महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी प्रदीपकुमार सिंह बुधबार अपराह्न गौशालास्थित सडकमा बेपर्वाह हिँडेकाहरूलाई नियन्त्रणमा लिन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिँदै थिए । पिपिई  (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) लगाएका सुरक्षाकर्मी म्यान क्याचर (चिम्टा) लिएर चुरोट सल्काउँदै बेपर्वाह सडकमा हिँडेका युवानजिक पुगे । हात उठाउन भने । चुरोट भुइँमा मिल्काएर युवाले हात उठाए । क्याचरले समातेर युवालाई डोरीको चौघेराभित्र हुले । यसअघि पनि उनले चौघेराभित्र अर्को एकलाई त्यसैगरी हुलिसकेका थिए । 

‘यिनीहरूलाई तीन घन्टा यहीँ रोकेर छाड्नू’ निर्देशन दिएपछि डिएसपी सिंह सडक किनारमा आए । उनले भने, ‘लकडाउन सुरु भएदेखि नै सडकमा ननिस्कन माइकिङ गरेका छौँ । तैपनि, मान्दैनन् । दैनिक सयभन्दा धेरै कारबाहीमा पर्ने गरेका छन् । लकडाउन सुरु भएयता बिहानदेखि रातिसम्मको रुटिन यस्तै मान्छेलाई समात्ने र सम्झाउने रहेको छ ।’

डिएसपी सिंहका अनुसार लकडाउन भएयता अत्यावश्यकबाहेक कुनै पनि सुरक्षाकर्मीलाई घर जान दिइएको छैन, न परिवार नै भेट्न दिइएको छ । सबै ब्यारेकमै सुत्छन् । ब्यारेकमै खान्छन् । दैनिक १८ घन्टासम्म खटिनुपर्ने हुँदा सुरक्षाकर्मीले व्यक्तिगत सरसफाइसमेत गर्न पाइरहेका छैनन् ।

डिएसपी सिंहले भने, ‘यो जोखिमको घडी हो । अत्यावश्यकबाहेक कसैलाई पनि घर जान दिएका छैनौँ । १८ घन्टासम्म साथीहरू खटिएका छन् । यसक्रममा न खानको टुंगो छ, न व्यक्तिगत सरसफाइको ।’

गौशाला सडकमै सुरक्षार्थी खटिएकी प्रहरी जवान रेखा घिमिरेको जोरपाटीस्थित नयाँ बस्तीमा डेरा छ । नौ र चार वर्षका दुई छोरा छन् । उनका श्रीमान् पनि नेपाल प्रहरीमै छन् । उनको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा ड्युटी छ । महामारीको यस घडीमा श्रीमान् श्रीमती दुवै खटिनुपर्ने हुँदा छोराहरूलाई खाना बनाएर खुवाउने मान्छेसमेत छैन । साँझबिहान मिलाएर कोठा जाने छुट उनलाई कार्यालयले दिएको छ । तर, धेरै समय ड्युटीमै रहनुपर्दा छोराहरूको चिन्ताले उनलाई निकै सताउने गरेको छ ।   

नयाँ पत्रिकासँग रेखाले भनिन्, ‘श्रीमान् पनि प्रहरी सेवामै हुनुहुन्छ । म पनि यहाँ खटिएकी छु । स–साना नानीको बिजोग भएको छ । चुक्कुल लगाएर बस भनेका छौँ । खान पाए पाएनन् भनेर चिन्ताले पिरोल्छ ।’

गौशालाकै सडकमा सुरक्षार्थी खटिएका प्रहरी जवान रामभक्त घिमिरेले लकडाउनयता परिवारका कसैलाई भेट्न पाएका छैनन् । तारन्तार परिवारका सदस्यको फोन आउँछ । कोरोना संक्रमणको जोखिमबाट सुरक्षित बस्ने आग्रह गर्नबाहेक उनले परिवारका सदस्यलाई योगदान दिन सकेका छैनन् । २४सै घन्टा ड्युटीमा रहेका उनले भने, ‘घरबाट फोन आउँछ । सुरक्षित रहन भन्छन् । आफू त  सुरक्षित नै छु । परिवारका सदस्यको अवस्था के होला भनेर सम्झ्यो कि चिन्ता लागेर आउँछ ।’

ट्राफिक प्रहरीलाई केही सहज

सडक सुरक्षामा खटिएका सशस्त्र प्रहरी र जनपथ प्रहरीको तुलनामा ट्राफिक प्रहरीको ड्युटी भने केही सहज देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभर खटिने ट्राफिक प्रहरीका लागि दुई–दुई घन्टाको फरकमा ड्युटी निर्धारण गरेको छ । त्यसो हुँदा एक ट्राफिक प्रहरी दुई–दुई घन्टाको फरकमा दिनमा दुई र राति एकपटक ड्युटीमा खटिनुपर्छ । त्यसो हुँदा एक ट्राफिक प्रहरीले २४ घन्टामा ६ देखि ८ घन्टा मात्रै ड्युटी निभाए पुग्छ । 

पुतलीसडकमा भेटिएका ट्राफिक प्रहरी जवान सन्त राउतले भने, ‘दुई–दुई घन्टामा हाम्रो ड्युटी सिफ्ट हुन्छ । यही दरमा हामीले दिनमा दुई र राति एकपटक ड्युटीमा खटिनुपर्छ । त्यसो हुँदा २४ घन्टामा ६ घन्टा ड्युटी गरे पुग्छ । यसले हामीलाई केही सहज भने भएको छ ।’

१० हजार सुरक्षाकर्मी कोरोनाविरुद्ध लड्दै 

गृह मन्त्रालयका अनुसार उपत्यकाभित्र कोरोनाविरुद्धको लकडाउन कार्यान्वयन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० हजार पाँच सय सुरक्षाकर्मी खटिएका छन् । त्यसमा नेपाल प्रहरीका ९ हजार र सशस्त्र प्रहरीका एक हजार पाँच सय छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले उपत्यकाभित्र नेपाल प्रहरीका मात्रै नौ हजार सुरक्षाकर्मी खटिएको बताए । उनले भने, ‘हाम्रो मातहतमा ट्राफिक प्रहरी र उपत्यकाका तीन जिल्ला पर्छन् । यी चारवटै निकायबाट उपत्यकाभित्र नौ हजारको संख्यामा प्रहरी सडकमा खटिएका छन् ।’