• वि.सं २०७६ चैत २३ आइतबार
  • वि.सं २०७६ चैत २३ आइतबार
  • Sunday, 05 April, 2020
दीपक अधिकारी काठमाडाैं
२०७६ चैत १३ बिहीबार ०९:१२:००
कोरोना अपडेट

लकडाउन : चीनको सफलता र इटलीको त्रासदी

लकडाउन पालना नगर्दा कहाँ के भयाे ?

दीपक अधिकारी काठमाडाैं
२०७६ चैत १३ बिहीबार ०९:१२:००

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखापरेको कोराना भाइरस रोकिने नाम लिइरहेको छैन । अथक प्रयत्नपछि वुहान र समग्र चीनले कोरोना भाइरससँगको संघर्षमा जित हासिल गरेको छ । तर, युरोप, अमेरिका हुँदै विश्वका १९६ मुलुकमा यसले आफ्नो पखेटा फिजाइसकेको छ । युरोपका इटाली, स्पेन, फ्रान्स, बेलायत, नेदरल्यान्ड, जर्मनीजस्ता मुलुक कोरोनाले आक्रान्त छन् । अमेरिका, इरान पनि भयानक संकट व्यहोरिरहेका छन् ।
 
निकै ढिला गरी नेपालमा कोरोना भाइरसको प्रभाव देखिँदै छ । बुधबारसम्ममा तीन नेपालीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले मंगलबारबाट देशैभर लकडाउन घोषणा गरेको छ । तर, आमनागरिकले सरकारको अपेक्षाअनुसार लकडाउनको पालना गरेका छैनन् । राजधानी काठमाडौंका मूल र भित्री सडक मानिसहरू टहलिरहेका देखिन्छन् ।

 

लकडाउन घोषणा गरेपछि बुधबार ललितपुरको इमाडोलस्थित एक किराना पसलमा खाद्यान्न किन्दै नेपाली नागरिक । तस्बिर : नयाँ पत्रिका

नयाँ पत्रिकाकर्मीले देशका विभिन्न जिल्लाबाट पठाएको विवरणअनुसार पनि लकडाउनको पूर्ण पालना भइरहेको छैन । यो अवज्ञा निकै जोखिमपूर्ण छ । केहीनिकट इतिहास हेर्ने हो भने, कोभिड–१९ सँगको लडाइँमा ती देशहरूले कम क्षति व्यहोरेका छन्, जहाँ समयमै लकडाउन गरिएको छ र आमनागरिकले त्यसको पूर्णतः पालना गरेका छन् । अनि, त्यस्ता देश पनि छन्, जहाँ समयमा निर्णय लिइएन र निर्णय लिइए पनि आमनागरिकले सम्भावित जोखिमलाई बेवास्ता गरे र अकल्पनीय क्षति व्यहोर्न बाध्य भए । 

चीन : संकटसँग अभूतपूर्व जित

कोरोना भाइरसको पहिलो संक्रमण देखिएको चीनको वुहान अहिले शान्त छ । केही साताअघिसम्म सञ्चारमाध्यम दिनहुँ वुहानका मृतकको संख्या अपडेट गराउन व्यस्त थिए । तर, अहिले उनीहरूको ध्यान अकल्पनीय संकटसँग चीनले कसरी जित हासिल ग-यो भन्ने विश्लेषण गर्न व्यस्त छन् ।

११ मिलियनभन्दा बढी मानिसको बसोवास रहेको वुहानमा गत डिसेम्बरको अन्त्यतिर कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानमा दैनिक हजारौँको संख्यामा नयाँ मान्छेमा भाइरसको संक्रमण देखिन थाल्यो । ९ जनवरीमा संक्रमणका कारण पहिलो मृत्यु खेपेको वुहान जनवरी तेस्रो सातासम्म पुग्दा थुप्रै क्षति व्यहोर्न पुग्यो । सम्भावित क्षतिलाई मध्यनजर गर्दै चीनले २३ जनवरीमा वुहान सहर लकडाउन ग-यो । 

सार्वजनिक सवारीसाधन, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । वुहान सहरबाट बाहिर जान र सहर भित्रिन प्रतिबन्ध लगाइएको भाइरसको संक्रमण दर नियन्त्रणमा प्रभावकारी कदम साबित भयो । लकडाउनको निर्णय आफैँमा जति महत्वको थियो, त्यसको कार्यान्वयन सफलताको अर्को ठूलो कारण थियो । लकडाउनका वेला चिनियाँ नागरिकले पूर्ण रूपमा सरकारको निर्देशन पालना गरे ।

नियम उल्लंघन गरेर पूर्ववत् जीवन जिउने कोसिस गरेनन्, बरु, सरकारलाई सघाए । यसलाई विश्व स्वास्थ्य संगठनले पनि स्विकारेको छ । चीनले अपनाएको प्राचीन तरिकाकै कारण कोरोना भाइरस फैलिन नपाएको उसको भनाइ छ । चीनले वुहान सहर मात्र होइन, हुबेई प्रान्तका साना–ठूला गरी १५ वटा सहर पनि लकडाउन गरेकाले यो सम्भव भएको थियो । 

वुहानबाहिर संक्रमण फैलिन नदिन चीनले कडा नियम लागू ग-यो । १४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान कडाइका साथ लागू गरिएको थियो । हुबेई प्रान्तमा यात्रा गरेका वा त्यहाँका मान्छेसँग सम्पर्क भएका प्रत्येक मानिस क्वारेन्टाइनमा बसे । आफ्नो सहर छाडेर बाहिर गएका नागरिक क्वारेन्टाइनमा बसे । 

देशभित्र वा देशबाहिरबाट यात्रा गरेर आएका वा यात्रा गरेकाहरू पनि सम्पर्कमा आएकाले १४ दिनको क्वारेन्टाइनमा बसे । एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको सहरलाई लकडाउन र त्यसको कार्यान्वयनले ठूलो क्षतिबाट जोगायो । आगामी ८ अप्रिलबाट चीनले दुई महिना लामो लकडाउन अन्त्यको घोषणा गर्दै छ । यसबीच ३२ सय ८१ चिनियाँले ज्यान गुमाएका छन् । तर, त्यो लकडाउन नहुँदो हो त, यो आँकडा अकल्पनीय बन्न सक्थ्यो । 

इटाली : लकडाउनको उपेक्षाले भयावह अवस्था

३१ जनवरीमा पहिलोपटक इटालीमा कोरोना संक्रमित फेला परेका थिए । इटालीको रोममा दुईजना चिनियाँ पर्यटकमा संक्रमण देखिएको थियो । त्यसको एक सातापछि चीनको वुहानबाट फर्किएका इटालियन नागरिकमा कोभिड–१९ पोजिटिभ देखियो । त्यसबीचका दुई साता नयाँ बिरामी फेला परेनन् । तर, २१ फेब्रुअरीमा एकैपटक १६ जना नयाँ बिरामी भेटिए ।

ती सबै लोम्बार्डी क्षेत्रका बासिन्दा थिए । भोलिपल्ट त्यो संख्या बढेर ६० पुग्यो । त्यही दिन अर्थात्, २२ फेब्रुअरीमा कोभिड–१९ बाट इटालीमा पहिलो व्यक्तिको मृत्यु भयो । सुरुवातदेखि नै लोम्बार्डीमा यसको प्रभाव ज्यादा देखियो । इटालीका कुल संक्रमित र मृतकमध्ये ८० प्रतिशत यही क्षेत्रबाट छन् । 

३१ फेब्रुअरीमा इटालियन सरकारले चीनबाट हुने सबै उडान बन्द ग-यो । मार्चको पहिलो साताभरमा कोभिड–१९ का थप पोजिटिभ केस देखा पर्न थाले । त्यसपछि ८ मार्चमा प्रधानमन्त्री ग्युसेप कोन्टेले लोम्बार्डीसहित उत्तरी इटालीका १४ प्रान्तलाई कोरोना भाइरसको मुख्य क्षेत्र घोषणा गरी संकटकाल लगाइएको थियो । 

लकडाउनकै अवस्थामा रहेको लन्डनको एक सुपरस्टोरमा खाद्यान्न किन्न एक–अर्काबीच दूरी कायम गरी बसेका बेलायती नागरिक । तस्बिर सौजन्य : रामराज शर्मा

नागरिकलाई क्वारेन्टाइनमा बस्न आह्वान गरिएको थियो । भोलिपल्ट ९ मार्चमा पूरै देशलाई क्वारेन्टाइनमा राखिएको घोषणा गरी ६ करोड नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनियो । तर, त्यही दिन ९७ जनाको मृत्यु भएपछि १० मार्चमा देशभर संकटकाल घोषणा भयो । यतिवेलासम्म मुलुकमा मृत्यु हुनेको संख्या चार सय ६३ पुगेको थियो । 

कोभिड–१९ को संक्रमण फैलने खतरातर्फ समयमै न सरकार सचेत देखियो, न आमनागरिक । आमनागरिकले त सरकारको निर्देशन बेवास्ता गर्दै जम्मा हुने, भेटघाट गर्ने, घुमफिर गर्ने गरिरहे । न त सरकारले कडाइ ग¥यो । कतिसम्म भने, फेब्रुअरीको अन्तिम साताभर इटालीका धेरै स्थानमा हजारौँ मानिस जम्मा भएर जात्रा मनाइरहेका थिए । 

एकातिर कोरोनाको संक्रमण फैलिँदै गएका खबर पनि आइरहेका थिए । तर, मानिसहरू जात्रामा रमाइरहेका थिए । ‘हरेक वर्ष फेब्रुअरी अन्तिम साताभर यहाँ भव्य रूपमा सांस्कृतिक जात्रा निकाल्ने गरिन्छ । त्यो जात्रा यसपटक पनि जारी रह्यो,’ इटालीको सेरारमा रहेका अशोक पोखरेलले नयाँ पत्रिकासँग भने, ‘भेनिसलगायत कतिपय ठाउँमा स्थगित भए पनि धेरै ठाउँमा संकटकाल घोषणा हुने दिनसम्म मेला चलिरहेको थियो ।’

लकडाउनको विरोधमा सर्वसाधारणले ठाउँ–ठाउँमा जुलुससमेत निकाले । सरकारले आफ्ना अधिकार नियन्त्रण गर्न खोजेको भन्दै ती प्रदर्शन भएका थिए । लकडाउनपछि विश्वविद्यालय बन्द थिए । तर, क्याफेमा भिडभाड कायमै थियो । वृद्धवृद्धा मर्निङ वाक र इभिनिङि वाक आफ्नो अधिकार भन्दै मस्तसँग समूह–समूह बनाएर हिँडिरहेका हुन्थे । ‘कतिसम्म लापरबाही देखिन्थ्यो भने, मास्कलगाएर हिँडिरहेको कोही मान्छे देखे भने उनीहरू ट्वाल्ल परेर हेर्थे,’ पोखरेलले आफ्नै अनुभव सुनाए, ‘म किनमेल गर्न जाँदा मास्क लगाएर जान्थेँ । त्यो देखेर मानिस ट्वाल्ल परेर मलाई हेर्थे ।’ स्थिति अराजकतातर्फ गइरहेको थियो ।

सरकारले संक्रमण फैलिन नदिन लगाएको कानुनको विरोध गर्दै कारागारभित्रका कैदीबन्दीले कारागारभित्रै आगजनीसमेत गरे । ८ मार्चमा भएको सो घटनामा प्रहरी कैदीबन्दी झडप हुँदा आठजना कैदीबन्दीको ज्यान गयो । 

नागरिकले लगातार लकडाउन उल्लंघन गरिरहेपछि नियन्त्रण गर्न सरकारले दुई सय ६ युरोसम्म जरिवानाको घोषणा गरेको थियो । उल्लंघनका घटना अझै जारी रहेकै हुनाले मंगलबारबाट लागू हुने गरी प्रधानमन्त्री कोन्टेले जरिवानाको रकममा ठूलो वृद्धि गरेका छन् ।

 सामान्य मानिसले क्वारेन्टाइन नियम तोडेमा तीन महिना जेल सजाय सुनाइएको छ । अब चार सयदेखि तीन हजार युरोसम्म आर्थिक जरिवाना तिर्नुपर्नेछ । रोग लागेको पुष्टि भएको व्यक्ति घरबाट बाहिर निस्किए हत्याबराबरको सजाय हुने घोषणा भएको छ । पोखरेलले भने, ‘यी सबै घटना हेर्दा कोरोना संक्रमणको जोखिमबारे इटालीका नागरिक सतर्क थिएनन् भन्ने नै बुझिन्छ ।’

समय छँदै ध्यान नदिँदा स्पेनमा ठूलो क्षति

स्पेनमा २० जनवरीमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । त्यसयता नै सावधानी अपनाउन सरकारी सञ्चारमाध्यम, रेडियो तथा टेलिभिजनले सचेतना सामग्री पनि प्रसारण गरिरहेका छन् । तर, संक्रमण नियन्त्रणमा आउन सकेको छैन । स्थिति भयावह बन्दै गएको छ । अस्पताल भरिएका छन् । बेड अभावमा बिरामीलाई घरमै राखेर उपचार भइरहेको छ । इटालीपछि स्पेनमा धेरै मानवीय क्षति भइरहेको छ । स्पेनको राजधानी मड्रिड बढी प्रभावित छ । 

संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गरे पनि राजधानीमै अवज्ञा गर्नेहरू देखिन्छन् । अवस्था कतिसम्म नाजुक छ भने, अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीले भिडियोमार्फत रुँदै हात जोडेर मानिसहरूलाई घरभित्र बस्न अनुरोध गर्नु परिरहेको छ । तैपनि मानिस बाहिर निस्किरहेका छन्, घुमिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरूको संख्या बढिरहेको छ । ४० हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर प्रहरीले आर्थिक जरिवाना गराएको छ । 

संक्रमण फैलने जोखिमको बेवास्ता गर्दा स्पेन आज अकल्पनीय क्षति भोगिरहेको छ । २० जनवरीमै पहिलोपटक संक्रमण फेला परे पनि स्पेनमा न सरकारले सजगता अपनायो, न राज्यले । १५ मार्चमा पूरै देशलाई लकडाउन गर्नुअघिसम्म स्पेनमा पनि इटालीमा जस्तै साना ठूला त्यस्ता गतिविधि भए, जसले संक्रमण फैलाउन मद्दत ग-यो ।

पर्यटन र खेलको मौसम

चिसो सकिएर गर्मीयाम सुरु हुने वेला भएकाले स्पेनिसहरू यो समय बढी रमाइलोमा बिताउँछन् । च्याम्पियन्स लिग फुटबलका खेलहरू, पप कन्सर्ट पनि यसवेला आयोजना हुन्छन् । त्यस्तै, रमाउने एउटा अवसरका रूपमा हरेक वर्ष १ देखि ६ अप्रिलसम्म आयोजना हुने इस्टर फेस्टिभललाई लिने गरिएको छ । 

स्थानीय भाषामा सेमानासान्ता भनिने सो मेलामा सहभागी हुन युरोपका अन्य देशबाट पनि पर्यटक आउने गर्छन् । सुरुमा इटाली र पछि अन्य युरोपेली मुलुकमा पनि कोरोना भाइरसको संक्रमण देखा परिसकेको र फैलिँदै गएकाले अन्तिम समयमा सो मेला रोकियो । तर, त्यसमा सहभागी हुन हजारौँ पर्यटक स्पेन आइसकेका थिए । उनीहरू १५ मार्चमा लकडाउन नहुँदासम्म म्याड्रिड, बार्सिलोनाजस्ता सहरमा रमाइरहेका थिए । त्यसले पनि संक्रमण फैलन मद्दत गरेको बार्सिलोना बस्दै आएका गोपाल रेग्मीको भनाइ छ । 

च्याम्पियन्स लिगको दौरान इटालीमा भएको भ्यालेन्सिया र मिलानबीचको खेललाई पनि एउटा कारण मानिएको छ । सो खेल खेलाइँदा इटालीमा कोरोनाको संक्रमण निकै फैलिइसकेको थियो । त्यसैले, रंगशालामा दर्शकविना नै खेल आयोजना भयो । तर, सो खेल हेर्न स्पेनको भ्यालेन्सियाबाट हजारौँ फुटबल समर्थक मिलान पुगेका थिए । उनीहरूलाई रंगशालामा प्रवेश दिइएन । तर, सहरमै बसेर उनीहरूले खेल हेरे । 

खेल जितेपछि मिलानका खेलाडी रंगशाला बाहिर आए र खुसियाली मनाए । त्यहाँ इटाली र स्पेनका समेत हजारौँ खेलप्रेमी जम्मा भएका थिए । ती खेलप्रेमी आ–आफ्ना घर फर्किँदा सायद संक्रमण पनि स्पेनमा फैलन सहयोग भयो । ‘लकडाउन घोषणा हुनेबित्तिकै मानिस हतास देखिन्थे । सुपरमार्केटमा भिड देखिन्थ्यो । कतिसम्म भने सरकारले प्रत्येक दुई व्यक्तिबीच कम्तीमा एक मिटरको दूरी हुनुपर्ने निर्देशन नै जारी गर्नुपरेको थियो,’ रेग्मीले भने, ‘अहिले नागरिक केही सचेत देखिन्छन् ।’

नागरिकले कानुन मान्दा बेल्जियममा कम क्षति

युरोपियन देश बेल्जियम अहिले आंशिक रूपमा लकडाउन छ । देशका सबै सीमा बन्द गरिएका छन् । अत्यावश्यकबाहेक अन्य सवारीलाई आउन पूर्णतः बन्देज गरिएको छ । समुन्द्री किनारमा जान मनाही गरिएको छ । यदि यो नियम पालना नगरे तत्काल प्रहरीले जरिवाना गर्ने गरेको छ ।

बेल्जियममा पहिलो कोरोना संक्रमित व्यक्ति ५४ वर्षीय फिलिप सुरबे थिए । उनी ४ फेब्रुअरीमा कोरोना संक्रमित भएको फेला परेका थिए । उनी चीनमा कार्यरत बेल्जियमका नागरिक हुन् । १४ दिनको क्वारेन्टाइनपछि उनी निको भएर घर फर्किइसकेका छन् । २६ फेब्रुअरीमा बेल्जियममा दोस्रो कोरोना संक्रमित व्यक्ति भेटिए । उनी उत्तरी फ्रान्सबाट घुमेर फर्केकी एक महिला थिइन् । उनी पनि १४ दिनको क्वारेन्टाइनपछि निको भइसकेकी छिन् । 

बेल्जियमको प्रमुख पर्यटकीय सहर ब्रुज । कोरोना संक्रमण फैलिएपछि सहर पूरै सुनसान छ । यो सहर दोस्रो विश्वयुद्धपछि युरोपमै बाँचेको एक मात्रै सहर हो । जहाँ बिगतको इतिहास हेर्न पाइन्छ । तस्बिर सौजन्य : सन्तोष न्यौपाने

कोरोना संक्रमितको संख्या यतिमै सीमित भएन । फेब्रुअरी अन्तिम साता बेल्जियममा विद्यालय बिदाको समय थियो । एकहप्ते विद्यालय बिदा हुँदा धेरै बेल्जियमबाहिर घुमफिरमा निस्किए । घुमफिर गरेर फर्किंदा सँगसँगै कोरोना पनि देश भित्रियो । २ मार्चमा इटालीबाट फर्केका ६ जनामा कोरोना देखियो । त्यस्तै, ३ मार्चमा पाँचजना, ४ मार्चमा दश, ५ मार्चमा २७, ६ मार्चमा ५८, ७ मार्चमा ६० हुँदै बढ्दै गयो । १२ मार्चसम्म आइपुग्दा तीन सय ४९ जना संक्रमित भेटिए । ती सबै घुमफिर गरेर फर्किएका थिए । 

१० मार्चमा एक ९० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएपछि बेल्जियम सरकार चनाखो बन्यो । १२ मार्चमा मन्त्रिपरिषदको बैठक बस्यो र १३ मार्चको राति १२ बजे पछि ३ अप्रिलसम्मका लागि पार्सियल लकडाउनको घोषणा ग¥यो । कोरोना नियन्त्रण गर्न लागू गरिएका नियममा सबै विद्यालय सस्पेन्स गरिएको थियो । कलेज युनिभर्सिटीका विद्यार्थीलाई इन्टरनेटमार्फत अध्यापन गराउन व्यवस्था गरियो ।

स्वास्थ्य क्षेत्रमा कार्यरत अभिभावकका बालबालिकालाई विद्यालयमा बच्चा हेरचाहको व्यवस्था भयो । देशभरिका सबै कार्यक्रम एकाएक रद्द भए । आंशिक लकडाउन भएकाले सवारीसाधन चलिरहेका छन् । मान्छेहरू साइक्लिङ, जगिङ, हिँडडुलमा निस्कन सक्छन्, तर परिवारसँग वा एक्ला–एक्लै । समूहमा हिँडे प्रहरीले कारबाही गर्ने गरेको छ । बेल्जियम सरकारले लागू गरेका सबै नियम आमनागरिकले पालना गरिरहेको त्यहाँबाट सञ्चारकर्मी सन्तोष न्यौपानेले जनाएका छन् । ‘सबै आफ्नै घरमा बसिरहेका छन् । 

कानुन पालना नगर्नेलाई एक हजार चार सय बढीलाई तीन सय ५० युरोसम्म जरिवाना गराएको छ । प्रहरीले मानिसहरूलाई नियन्त्रण गर्न अहिले ब्रसेल्सलगायतका क्षेत्रमा ड्रोनदेखि चेक जाँच गरिरहेको छ,’ उनले भने, ‘सबैले लकडाउनको पालना गरिरहेकाले युरोपकै अन्य देशमा भएजस्तो यहाँ ठूलो मानवीय क्षति भएको छैन ।’

नागरिकबाट लकडाउन पालना नगर्दा इटलीमा भएको क्षति

- ३१ जनवरीमा पहिलोपटक संक्रमण

- १५ फेब्रुअरी तीनजना संक्रमित फेला

- २८ फेब्रुअरीमा पार्सियल लकडाउन सुरु

- २८ फेब्रुअरीसम्ममा ११२८ संक्रमित, २९ को मृत्यु

- ८ मार्चमा केही क्षेत्रमा संकटकाल घोषणा

- ८ मार्चसम्ममा ७३७५ संक्रमित, ३६६ मृत्यु

- १० मार्चसम्ममा देशभर संकटकाल घोषणा

- १० मार्चसम्ममा १०, १४९ संक्रमण, ६३१ मृत्यु

- २५ मार्चसम्ममा ६९, १७६ संक्रमित, ६८२० मृत्यु

कोरोनामाथि चीनको नियन्त्रण

- २०१९ को डिसेम्बर अन्त्यतिर पहिलो संक्रमित फेला

- ९ जनवरी २०२० मा पहिलो मृत्यु 

- २२ जनवरीमा एकैदिन ५५४ संक्रमित फेला

- २३ जनवरीमा डकडाउनको घोषणा

- १२ फेब्रुअरीमा एकै दिन १४०१२ संक्रमित, १४६ मृत्यु

- १ मार्च २०२ संक्रमित, ४२ मृत्यु 

- २४ मार्च ४७ संक्रमण ४ मृत्यु

- ८ अप्रिलबाट लकडाउन खुलाइँदै